नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती खडा भइरहेको बताएका छन्।
अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यका निकाय र कानुनको अवज्ञा गर्ने प्रवृत्तिले मुलुकलाई पछाडि धकेलिरहेको बताए।
ओलीले मानव अधिकार उल्लङ्घन, हिंसा र अराजक गतिविधिलाई कुनै पनि बहानामा स्वीकार गर्न नसकिने बताए। ‘देशमा आतंक र अराजकताको वातावरण सिर्जना भएको छ। यही आतंकको राज चल्न सक्दैन’, उनले भने।
यस्तै, ओलीले पछिल्लो परिस्थितिका कारण पार्टी र आन्दोलन कमजोर भएको जस्तो देखिए पनि एमाले फेरि उठ्ने र अघि बढ्ने दाबी गरे।
‘त्यसैले हामी फेरि उठ्नुपर्छ, फेरि उठ्न सक्छौँ र अगाडि बढ्न सक्छौँ। हामी जित्न सक्छौँ। तसर्थ, आत्मविश्वास र दृढ मनोबलका साथ अघि बढ्नुपर्छ। हाम्रो पार्टीको केन्द्रीय कमिटीदेखि हामीसँगै रहेका सम्पूर्ण कार्यकर्ता साथीहरू हरदम तयार रहनुपर्छ।,’ ओलीले भने।
ओलीले पार्टीका केन्द्रीय सदस्यदेखि तल्लो तहका कार्यकर्तासम्मलाई आवश्यक पर्दा आन्दोलनका लागि सधैँ तयार रहन निर्देशनसमेत दिए।
उनले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै सुरु नहुने उल्लेख गर्दै परिस्थिति अनुकूल हुँदा तत्कालै आन्दोलन उठ्न सक्ने बताए।
उनले भने, ‘१७ महिनामै ठूलो विद्रोहबाट सत्ता परिवर्तन भएको इतिहास पनि छ। कहिले विद्रोहबाट, कहिले निर्वाचनबाट त कहिले अन्य राजनीतिक घटनाक्रमबाट सत्ता र व्यवस्थामा उलटफेर हुने रहेछ भन्ने हामीले देखेका छौँ।’
प्रकाशित: १ मंसिर २०८३ १४:२२ मंगलबार





