१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

५० वर्षदेखि फरार प्रतिबादी पक्राउ

जिल्ला प्रहरी कार्यालय धादिङ । तस्बिर : सरिता/नागरिक

फैसला कार्यान्वयनको शिलशिलामा ५० वर्षदेखि फरार रहेका प्रतिबादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। जिल्लाको साविकको चैनपुर गाविस वडा नं ३ बस्ने ठ्यामे भन्ने हुतराज छत्कुलीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरिएको हो। छत्कुलीले सोही ठाउँका टंक नाथ नहर्कीलाई २०२६ माघ १० गते खुकुरी प्रहार गरी घाईते बनाएका थिए।  

धादिङ जिल्ला अदालतबाट २०२८ फागुन ३० गते १० वर्ष कैद हुने फैसला तोकिएकोमा फरार रहेका उनलाई चितवनको खैरहनी नगरपालिका वडा नं १२ बाट पक्राउ गरिएको हो। पक्राउ गरिएकालाई फैसला कार्यान्वयनको लागि सम्मानित धादिङ जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरीले जानकारी दिएको छ।  

त्यसैगरी फैसला कार्यान्वयनकै शिलशिलामा विभिन्न मुद्दामा सजाय तोकिएका १० जनालाई पक्राउ गरिएको छ। गत साउन १ गतेदेखि हालसम्म वैदेशिक रोजगार ठगी, सवारी ज्यान, लागुऔषध ब्राउनसुगर र खैरो हेरोइन, गाली बेईज्जती, रक्तचन्दन ओसार–पसार, सरकारी छाप दस्तखत किर्ते र बहु–बिवाह मुद्दामा फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।  

वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ९ मुरलीभन्ज्याङ बस्ने ४२ वर्षीय हरिबहादुर तामाङलाई पक्राउ गरिएको छ। वैदेशिक रोजगार ठगी मुद्दामा १ वर्ष ६ महिना कैद र एक लाख पचास हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।  

त्यस्तै, सवारी ज्यान मुद्दामा कैद र जरिवाना तोकि फरार रहेका तीन जनालाई पक्राउ गरिएको छ। दुई दिन कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय तोकिएका बेनिघाट रोराङ गाउँपालिका वडा नं. ६ बस्ने ३१ वर्षीय अनिल श्रेष्ठलाई पक्राउ गरिएको छ। २ महिना २१ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय भएको सोही ठाउँका २६ वर्षीय अमित थापा र २१ दिन कैद तोकिएका रोराङ गाउँपालिका वडा नं. ४ बस्ने ३५ वर्षीय प्रकाश भुजेललाई पक्राउ गरिएको छ।  

लागुऔषध ब्राउनसुगर र खैरो हेरोइन मुद्दामा फरार ३१ वर्षीय नारायण कोईरालालाई पनि पक्राउ गरिएको छ। ब्राउन सुगर मुद्दामा दुई हजार रुपैयाँ जरिवाना र खैरो हेरोईन मुद्दामा ५ वर्ष ४ महिना २० दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो। गाली बेईज्जती मुद्दामा एक सय पच्चिस रुपैयाँ जरिवाना तोकी फरार रहेका बेनिघाट रोराङ गाउँपालिका वडा नं.७ बस्ने ४५ वर्षीया मनमाया थापालाई पनि पक्राउ गरिएको छ।  

रक्तचन्दन ओसार–पसार मुद्दामा सत्तरी हजार दुई सय दश रुपैयाँ जरिवाना तोकिएकोमा फरार रहेका गल्छी गाउँपालिका वडा नं ७ बस्ने ३९ वर्षीय भाईराजा श्रेष्ठ भन्ने रामराज श्रेष्ठलाई पनि पक्राउ गरिएको छ। सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र पचास रुपैयाँ जरिवाना तोकि फरार धादिङ ज्वालामुखी गाउँपालिका .वडा नं. ३ बस्ने २२ वर्षीय सुमन मगरलाई पनि पक्राउ गरिएको छ।

त्यस्तै बहु–बिवाह मुद्दामा ११ महिना १८ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएका धादिङ गल्छी गाउँपालिका वडा नं.८ गोगनपानी बस्ने २८ वर्षीय कृष्णबहादुर नेपालीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए।

प्रकाशित: २९ श्रावण २०७८ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App