१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

खैजनपुर थप एकसाता 'सिल'

कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको ज्यान गएपछि गत १६ गतेदेखि ‘सिल’ गरिएको उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाको २ नं. वडालाई थप एकसाता कायम राखिने भएको छ। २५ दिनको अवधिमा कोभिडका कारण एकै परिवारका २ पुरुष र १ महिलाको ज्यान गएपछि २२ गतेसम्मलाई सिल गरिएको वडालाई जोखिम कायमै रहेको पाइएपछि थप एकसातासम्म खुल्न नदिने निर्णय वडाले गरेको हो।  

सिल गरेपछि वडामा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका १ सय ४७ जनाको पिसिआर संकलन गरी प्रयोगशाला पठाइएकोमा रिपोर्ट आएका १ सय २८ मध्ये ११ जनामा संक्रमण पुष्टि भएपछि थप एकसाता सिल कायम राख्ने निर्णय भएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए। उनका अनुसार अन्यको रिपोर्ट भने आउन बाँकी छ। वडाभरी संक्रमणको लक्षण देखिएकाले सातादिनसम्म आउजाउ र सरकारी कामकाज रोक्ने गरी सिल कायम राखिएको उनको भनाई छ।  

वडाले नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र प्रहरीसँगको समन्वयमा वडाका बरगाछी टोल विकास संस्था, नमूना थारु टोल विकास, नयाँ बस्ती टोल विकास र बबिया टोल विकास संस्थाको सीमाभित्र आउजाउ ठप्प पारेको छ। सातादिनअघि एकै परिवारका ३ जनाको ज्यान गएपछि थप संक्रमणहुन नदिन यस्तो निर्णय गरिएको हो।  

वडाध्यक्ष खत्रीका अनुसार कोविड संक्रमणबाट त्यहाँका ४२ वर्षीय पुरुषको असार अन्तिम साता बिराटनगरमा उपचारको क्रममा ज्यान गएको थियो। उनकै परिवारका अर्का संक्रमित ३८ वर्षीय पुरुषको साउन पहिलो साता र त्यसको ३ दिनपछि परिवारकै ४० वर्षीया महिलाको ज्यान गएपछि वडा सिल गर्नुपरेको हो। वडाध्यक्ष खत्रीका नुसार मृतकका पति र अन्य सदस्यमा पनि संक्रमण पाइएको छ भने टोलभरी संक्रमणको लक्षण पाइएकाले जोखिमबाट बँच्न सिल गर्नु परेको हो।  

निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सबैलाई आग्रह गरिएको छ भने यातायात, बजार, पसल, बिहे, भोज, पार्टी, भेला सबै बन्द गरिएको छ। खाद्यान्न जोहो गर्नका लागि विहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म बाहिर निस्कन खुल्ला गरिएको छ। निशेधाज्ञा अवधिमा बिना कारण बाहिर निस्केको पाइए संक्रामक रोग ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी वडाले जारी गरेको सूचनामा दिइएको छ।    

यता मालपोत कार्यालय गाईघाटका एक कर्मचारी संक्रमित पाइएपछि सातादिनका लागि कामकाज रोकिएको छ। ३ दिनअघिको परीक्षणमा मालपोतका पुरुष कर्मचारी संक्रमित पुष्टि भएपछि आउँदो २५ गतेसम्मका लागि मालपोत कार्यालयका सम्पूर्ण कामकाज बन्द गरिएको जारी सूचनामा उल्लेख छ। त्यसअघि त्रियुगा नगरपालिकामा ३ कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलबार एकदिन कार्यालयको कामकाज रोकिएको थियो।  

उदयपुरमा पछिल्लो ३ दिनयता संक्रमितहरु बढ्दै गएको पाइएको छ। सोमबार १४ जनामा संक्रमण देखिएकोमा मंगलबार १३ महिलासहित २२ जना संक्रमित थपिएका थिए। बुधबार साँझसम्म  १७ महिलासहित ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। स्वास्थ्यका अनुसार सदरमुकाम त्रियुगा नगरपालिकामा १२ जना संक्रमित थपिएका छन् भने चौदण्डीगढी नगरपालिकामा ८ जना, बेलका नगरपालिकामा ५ र ताप्ली गाउँपालिकामा ४ संक्रमित पाइएको छ।  

यो सँगै जिल्लामा १ सय ३६ महिलासहित ३ सय ७ जना सक्रीय संक्रमित रहेका छन्। स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश लुईटेलका अनुसार हुनेको संख्या १ हजार २ सय ३५ महिलासहित २ हजार ६ सय ७० जना रहेको छ।  

प्रकाशित: २१ श्रावण २०७८ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App