३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुजिता हत्यामा बुवाको संलग्नता

सुजिताका बुवा, नन्दसहित तीन पक्राउ

महोत्तरीकी सुजिताको हत्या गरी गाडिएको शव निकाल्दै प्रहरी । तस्बिरः नागरिक

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुर हत्या प्रकरण अनुसन्धानबाट प्रहरीले उनका बुवाको संलग्नता देखिएको छ। प्रहरीले सुजिताका बुवा पिपरा गाउँपालिका–६ रतौलीका ५० वर्षीय कामेश्वर पाण्डेयसहित तीन जनालाई पक्राउ गरेको छ।

कामेश्वरसहित भंगहा नगरपालिका–१ कविलासा बस्ने ३५ वर्षीया सुजिताकी नन्द अंजु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका–२४ का ५५ वर्षीय प्रमोद भन्ने विनोद मण्डललाई पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए।  

'कामेश्वरले छोरीको हत्या योजनामा सहयोगी भूमिका खेल्नुको साथै हत्याका मुख्य आरोपितसँग घटना लुकाउन मोलमोलाई गरेको खुलेको छ', एसपी आचार्यले नागरिकसँग भने,‘यो सुन्दा अलिक अनौठो लाग्न सक्छ तर इज्जत बचाउन बुवाले नै छोरी हत्याको सहयोगी बनेको देखिन्छ।’

‘सुजिताको बाहिर पर पुरुषसँग घुम्नेजस्ता गतिविधिले समाजमा कुरा काट्नेहरु धैरै भैसकेका थिए। समाजमा इज्जत डुब्ने डरले छोरी हत्यामा सहयोगी बनेको कामेश्वरले प्रहरीमा बयान दिएका छन्,’ एसपी आचार्यले भने।

कामेश्वरले सुजिताको हत्या गर्न सघाएको र घटना लुकाउन उनका देबर मुख्य आरोपित रुपेश ठाकुरसँग मोलमोलाई गरेको तथ्य प्रहरीलाई प्राप्त तथ्य(अडियो रेकर्ड)बाट खुलेको छ।  

त्यसैगरी गएको जेठ २० गते बिहान रुपेश समेतले सुजिताको हत्या गरेको कुरा नन्द अन्जुलाई सोही दिन फोन गरेर जानकारी गराइएको भए पनि उनले कहीँकतै जानकारी नगराई घटना लुकाउने भूमिका निर्वाह गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रमोदले सुजिताको हत्यादेखि शव लुकाउनेसम्मको घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएकै दिन सुजिताको शव जेठ २९ गते उत्खनन गरी शव बोकेर ससुरा पतिराम ठाकुर घरदेखि करिब ५ सय मिटर पूर्वमा रहेको निर्माणाधीन शौचालयको ट्याङकीभित्र शव गाडेर बेपत्ता बनाउनमा दबाउन संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

गत जेठ २० गते बिहान २७ वर्षीया सुजिताको देवर रूपेश ठाकुर, ससुरा पतिराम ठाकुर, सासू र देवरानीसहितका व्यक्तिहरुले मिलेर हत्या गरेको प्रहरीको भनाइ छ। बेपत्ता भएको ३९ औं दिनमा निर्माणधीन शौचालयको ट्यांकीभित्र गाडेर माथिबाट ढलान गरिएको अवस्थामा सुजिताको शव बरामद भएको थियो।

सुजिताका पति मुकेश ठाकुरलाई समेत पक्राउ गरिए पनि घटनामा उनको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई छोडेको थियो। घटनामा संलग्न सुजिताकी सासू र देवरानी अझै फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको एसपी आचार्यले बताए।

प्रकाशित: १८ श्रावण २०७८ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App