कपिलवस्तुको बाणगंगा नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन नगर घोषणा गरिएको छ। नगरपालिकाको जितपुरमा आयोजित कार्यक्रममा सो नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो। बाणगंगा लुम्बिनी प्रदेशको तेश्रो र मुलुककै नवौं बालमैत्री नगर बनेको छ।
बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७० ले तोकेको सूचक पूरा गरेपछि नगरलाई बालमैत्री घोषणा गरिएको मेयर मंगलप्रसाद थारुले बताए। बालअधिकारका क्षेत्रहरु बालबचाउ, बालसंरक्षण, बाल विकास र बाल सहभागिताका सूचकहरु पूरा गरी बालमैत्री नगर घोषणा गरिएको नगरपालिकाले जनाएको छ।
पूर्वमन्त्री तथा सांसद चक्रपाणी खनालले ब्यानर पढेर नगरलाई बालमैत्री भएको घोषणा गरेका थिए। सो अवसरमा पूर्वमन्त्री खनालले सामाजिक विकासमा बाणगंगा नगरपालिकाले फड्को मारेको भन्दै बधाई दिए। बालमैत्री घोषणा गरेपछि बाणगंगा नमूना नगर बनेको भन्दै यसलाई दिगो रुपमा कायम राख्न आग्रह गरे।
उनले जिल्लाको अन्य पालिकाहरुले पनि बाणगंगाको सिको गर्नुपर्ने बताए। सो अवसरमा पूर्व राजदुत दीपकुमार उपाध्ययाले बाणगंंगा नगरपालिकाले ठूलो उपलब्धि हासिल गरेको बताए।
कार्यबिधिले तोकेको ३९ र नगरपालिकाले थपेको २ सूचक गरी कूल ४१ वटा सुचक पार गरेको मेयर थारुले बताए।सो अवसरमा जिल्ला समन्वय समितिले बाणगंगा नगरपालिकालाई बालमैत्री नगर भएको प्रमाण पत्र दिएको थियो। पूर्वमन्त्री खनाल र जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले मेयर थारुलाई सो प्रमाण पत्र हस्तान्तरण गरेका थिए।
सोही अवसरमा नगरपालिकामा रहेको ११ वटै वडालाई समेत बालमैत्री वडाको प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रममा उपसचिव तथा फोकल पर्सन बाबुराम भट्टराईले बालमैत्री बनाउनका लागि गरिएको प्रयासबारे जानकारी गराएका थिए।
नगरमा १८ वर्ष मुनिका ३२ हजार ४१२ जना बालबालिका छन्। कार्यक्रममा राष्ट्रिय सभाकी सदस्य बिमला घिमिरे, प्रदेश सदस्य बिष्णु पन्थी, उपमेयर चक्र अर्याल, प्रजिअ चक्रपाणी पाण्डेय, एमालेका जिल्ला अध्यक्ष झत्री पोख्रेल, कांग्रेसका हरि घिमिरे, बाल संजालकी अर्चना आचार्य लगायतले मन्तव्य दिएका थिए।
प्रकाशित: १६ श्रावण २०७८ ०८:०२ शनिबार