२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

इजरायल खुल्यो, हजारजना जान पाउने

लामो तयारीपछि इजरायलको रोजगारी खुलेको छ। तत्काल एक हजारलाई पठाउने गरी मंगलबार वैदेशिक रोजगार विभागले आवेदन माग गरेको हो।  

अघिल्लो वर्षदेखि इजरायल रोजगारी सुरु गर्न प्रयास भएको थियो। विभागका अनुसार तत्काल  इजरायल पठाइने केयरगिभर (सुसारे) मा ७० प्रतिशत महिला र बाँकी पुरुष हुनेछन्। इच्छुकले सूचना प्रकाशित मितिदेखि २१ दिनभित्र अनलाइन आवेदन दिनुपर्नेछ।  

मासिक करिब दुई लाख रूपैयाँ पारिश्रमिक पाइने र बसोबास पनि सुरक्षित रहेकाले धेरैका लागि इजरायल आकर्षक रोजगार गन्तव्य हो। ओभरटाइम र अन्य सुविधा इजरायल सरकारको नियमअनुसार हुने विभागले जनाएको छ। २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपालीले सुसारेमा आवेदन दिन पाउने विभागले जनाएको छ।  

प्रतिस्पर्धी कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलो तौलको हुनुपर्नेछ। १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा दस जोड दुई उत्तीर्ण गरी मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिना तालिम प्राप्त गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ।  

यसबाहेक अंग्रेजी भाषामा दक्ष, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा असल चरित्र भएको हुनुपर्ने विभागले जनाएको छ। विगतमा इजरायलमा काम गरेर फर्केका व्यक्ति भने उक्त प्रक्रिया अनुसार जान पाउने छैनन्। त्यस्तै, इजरायलमा बसोबास गरिरहेका व्यक्तिका आमा, बुबा, पति, पत्नी, छोरा, छोरीलगायत एकाघरका आफन्त पनि केयर गिभरमा जान नपाइने नियम बनाइएको छ। इजरायलको रोजगारी खुल्ने प्रतीक्षामा १० हजारभन्दा बढी व्यक्तिहरू आवश्यक सीप सिकेर तयारी अवस्थामा रहेको अनुमान छ। इजरायलमा केयर गिभरको काम बृद्धबृद्धा र बालबालिकाको स्याहारसुसार गर्नु हो।  

इजरायलमा केयर गिभर पठाउने प्रयास पटकपटक भए पनि अनेक कारणले रोकिँदै आएको छ। चार वर्षअघि केयर गिभर पठाउन सुरु गरिएको थियो। त्यतिखेर पाइलट प्रोजेक्टको रूपमा तीन सय श्रमिक पठाउन दुई देशबीच सहमति भए पनि एक सय पठाइएपछि उक्त प्रोजेक्ट रोकिएको थियो।  

चार वर्षअघि पनि इजरायल रोजगारी सुरु हुने र बन्द हुने क्रम जारी रहँदै आएको थियो। विज्ञहरूले राम्रो गन्तव्य मुलुकमा रोजगारी सुरु गर्न जोड दिँदै आएका छन्। तर राम्रा गन्तव्य मुलुकमा अनेक अवरोध आउँदा धेरैजसो युवा खाडी र मलेसिया जान बाध्य छन्। विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडी मुलुक र मलेसिया जान्छन्।

विभागबाट हालसम्म करिब ५५ लाखले श्रम स्वीकृति लिएका छन्। पछिल्लो समयमा नेपाल–इजरायलबीच २०७७ असोज १४ मा पुनः केयर गिभर पठाउने सहमति भएको थियो। विभागका अनुसार इजरायल जाँदा लाग्ने हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण लगायतका शुल्क रोजगारदाताले बेहोर्ने सम्झौता छ। 

प्रकाशित: १३ श्रावण २०७८ ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App