२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुनिता र प्रकाश विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा गायिका सुनिता दुलाल र गायक प्रकाश सपुत नियुक्त भएका छन्। बिहीबार गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै दुलाल र सपुतलाई एक वर्षका लागि सद्भावना दूत नियुक्त गरेको जानकारी दिएको हो।

गीतसंगीतको माध्यमबाट विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरूलाई सद्भावना दूत बनाइएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताएका थिए। ‘गत वर्षको मनसुनबाट सिन्धुपाल्चोक र बाग्लुङ जिल्ला सबैभन्दा बढी प्रभावित भएका थिए,’ उनले भने, ‘सुनिताजी सिन्धुपाल्चोक र प्रकाशजी बाग्लुङको स्थायी बासिन्दासमेत भएकाले उहाँहरूमार्फत विपद्बाट हरेक व्यक्तिलाई चनाखो बनाउने हाम्रो योजना रहेको छ।’

दुलाल र सपुतले प्राकृतिक प्रकोप र यसबाट आउने विपद् जोखिम न्यूनीकरण योजनामा कलाकारलाई सहभागी गराएर प्राधिकरणले रचनात्मक कार्यको थालनी गरेको भन्दै आफूहरू सहयोग तथा समर्थन गर्न प्रतिबद्ध रहेको तर्क गरेका थिए। ‘सरकारको योजनामा प्रत्यक्ष सहभागी भएर जनतालाई सचेत गराउन पाउनु हाम्रा लागि ठूलो अवसर हो,’ गायिका दुलालले भनिन्, ‘विपद्बारे जनतालाई सचेत गराउन सरकारले तयार पारेका योजनामा हाम्रो साथ र प्रतिबद्धता छ।’

कार्यक्रममा प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायत ४८ जिल्ला बाढीपहिरोबाट बढी प्रभावित रहेको उल्लेख गर्दै त्यो क्षतिको मूल्यांकन गर्ने काम भइरहेको पनि जनाएको थियो। सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाइसकेको जानकारी गराइएको थियो।

प्रकाशित: ९ श्रावण २०७८ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App