१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौं फर्कियो वीपी प्रतिष्ठानको उच्चस्तरीय कार्यदल

फाइल तस्बिर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समधानका लागि आएका उच्चस्तरीय अध्ययन कार्यदल काठमाडौं फर्किएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा प्रतिष्ठान आएको कार्यदलले २ दिनसम्म धरानमा रहेर आवश्यक सुचना संकलन गरी मंगलबार साँझ फर्किएको हो । दुई दिनसम्म धरानमा रहदा कार्यदलले आन्दोलनरत संघर्ष समिति, पदाधिकारीहरु, विभागीय प्रमुख अरु, सिनेट सदस्यसमेत रहेका धरानका मेयर र उपमेयर, नागरिक दबाब सञ्जाललगायत सरोकारवालाहरुसँग छलफल गरेको थियो । यस्तै, समुहमा बाँडिएर कार्यदलले अनियमितताको आशंका गरिएको खरिदसँग सम्बन्धित कागजपत्र, शैक्षिक प्रशासनलगायतका विषयहरुमा पनि अध्ययन गरेको कार्यदलका संयोजक डा.अर्यालले जानकारी दिए ।

कार्यदलले सुरुमा आन्दोलनरत संघर्ष समितिसँग छलफल गरेर उनीहरुको माग र समस्याको समाधानबारे धारणा बुझेको थियो । त्यसपछि पदाधिकारीहरुसँग संयुक्त र छुट्टा छुट्टै पनि छलफल गरेको संयोजक अर्यालले बताए । ‘समूहमा बाँडिएर खरिद र एकेडेमिक कुराहरुको पनि कागजपत्र अध्ययन गरेका छौं, सरोकारवाला सबै पक्षसँग संयुक्त र अलग अलगरुपमा प्रत्यक्ष भेटेर जानकारी लिने काम भएको छ,’ संयोजक डा.अर्यालले भने,‘हामीले केही धारणा बनाइसकेको छैनौं, जानकारीहरु विस्तृतरुपमा संकलन गर्ने काम सकेका छौं ।’

कार्यदलले बिपी प्रतिष्ठानबारे संकलन गरेको जानकारीहरुलाई विश्लेषण गर्ने र क्लष्टर अनुसार समस्याको समाधान हुने गरी सुझावहरु समेटेर प्रतिवेदन बुझाउने संयोजक अर्यालले जानकारी दिए । वीपीमा समस्या कहाँ–कहाँ छ ? के कारणले समस्या छ ? तिनलाई कसरी समाधान गर्ने भनेर केलाउछौं, विश्लेषण गछौं, र सुझावसहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउछौं,’संयोजक डा.अर्यालले भने,‘हाम्रो सुझावहरु कार्यान्वयन हुने गरि र वीपीलाई राम्रो बनाउन हुन्छ, संस्थालाई सुधार गर्न सबैको साथ, सहयोग पनि चाहिन्छ ।’

वीपी प्रतिष्ठान सुद्धिकरण आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेका थिए । आर्थिक अनियमितता, भ्रष्टचार एवं बेथिती बढेको भन्दै प्रतिष्ठानमा असार १ गतेदेखि निरन्तर सुद्धिकरण आन्दोलन भइरहेको छ । आन्दोलनकारीहरुले चार जना पदाधिकारीहरुको बर्हिगमन, प्रतिष्ठानमा राजनीतिक आस्थाको आधारमा नभै विज्ञ समुहको सिफारिशको आधारमा पदाधिकारी नियुक्ती, प्रशासनिक एवं आर्थिक कामहरु पारदर्शी बनाउनुपर्नेलगायत मागहरु राखेर आन्दोलन जारी राखेका छन् ।  

आन्दोलनकारीको माग वमोजिम नै सरकारले उच्चस्तरीय कार्यदल गठन गरेर छानबिनको लागि पठाए पनि संघर्ष समितिले आन्दोलनको कार्यक्रम परिमार्जन गरेपनि पुर्णरुपमा फिर्ता लिएको छैन । अहिले पनि संघर्ष समितिले बिहान ८ देखि १० बजेसम्म उपकुलपति कार्यालय अघि धर्ना दिइरहेको छ भने बेलुकी ७ देखि ८ बजेसम्म जिओपिडी अघि सेभ विपिकेआइएचएस लेखेर दिप प्रज्वलन गर्ने गरेको छ ।  

संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेल कार्यदलले प्रतिवेदन बुझाएर कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताए । ‘कार्यदलले यहाँको बेथितीबारे प्रष्ट जानकारी पाइसकेको छ । हाम्रो आन्दोलन कोही व्यक्तिविरुद्ध होइन, संस्थाको हितको लागि नै हो भन्ने उहाँहरुले बुझ्नु भएको छ,’डा.पोखरेलले भने,‘यो हप्ताभित्र उहाँहरुले प्रतिवेदन बुझाउनु हुनेछ, र कुलपतिबाट ठोस कदम चाल्नुहुनेछ भन्नेमा हामी आशावादी छौं ।’

प्रकाशित: ६ श्रावण २०७८ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App