७ वैशाख २०८१ शुक्रबार
समाज

बिपी प्रतिष्ठानमा उच्चस्तरीय कार्यदल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या हल गर्ने उद्देश्यले गठित उच्चस्तरीय अध्ययन कार्यदल धरान आइपुगेको छ।

प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदल गठन भएको ४ दिनपछि संयोजकसहित सदस्यहरू प्रतिष्ठान आएका हुन्। 

प्रतिष्ठान आएलगत्तै कार्यदलले आन्दोलनरत संयुक्त संघर्ष समितिसँग मागबारे छलफल गरेको छ। कार्यदलले प्रतिष्ठानको आर्थिक अनियमितता एवं भ्रष्टाचार भएको भनिएका विषयको छानबिन गर्नेछ। कार्यदलले १५ दिनभित्र प्रतिवेदन कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउने म्यान्डेट छ।  

प्रतिष्ठानमा बेथिति एवं आर्थिक अनियमितता बढेको भन्दै शुद्धीकरण गर्न आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङ सम्मिलित संयुक्त संघर्ष समितिले आन्दोलन चर्काएपछि माग सम्बोधन गर्न सरकारले कार्यदल गठन गरेको हो। प्रतिष्ठानमा असार १ गतेदेखि संयुक्त संघर्ष समितिले आन्दोलन गरिरहेको छ। कार्यदल गठन भएर धरान आए पनि आन्दोलनको कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ।  

समितिका संयोजक डा. एसपी रिमालका अनुसार चार जना पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी पनि जारी रहनेछ। ‘विश्वासको वातावरण बनाउन बिहान ८ बजेदेखि १० बजेसम्मको सेवा बहिष्कार कार्यक्रम फिर्ता लिन्छौं, तर हरेक दिनको प्रदर्शन र तालाबन्दी जारी रहन्छ,’ रिमालले भने।

संघर्ष समितिले असार १५ गतेको मदिरा सेवन गरेर उपकुलपति वार्तामा आएको घटना तत्काल छानबिन हुनुपर्ने र उपकुलपतिको प्राध्यापक उपाधिबारे पनि प्रस्ट पार्नुपर्ने कार्यदलसमक्ष माग राखेको छ। साथै, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगबाट प्रतिष्ठानमा पठनपाठनको मापदण्ड भए नभएकोबारे अध्ययन, अनुगमन पनि गराउनुपर्ने माग राखिएको संघर्ष समितिका संयोजक रिमालले बताए। ‘अध्ययन कार्यदललाई हामी पूर्णरूपमा स्वागत गर्छौं, विभिन्न मन्त्रालयबाट उच्च अधिकारी आउनुभएको छ। पक्कै पनि निचोड निकाल्छ भन्नेमा आशावादी छौं,’ उनले भने।  

संघर्ष समितिसँग गत असार १५ गते वार्ताको क्रममा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएको भन्दै आन्दोलनरत पक्षले वार्ता बहिष्कार गरेपछि वार्ता भाँडिएको थियो। त्यसयता आन्दोलनकारी र पदाधिकारीबीच संवाद हुन सकेको थिएन। आन्दोलनकारीले चारै जना पदाधिकारीको राजीनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए। संयुक्त संघर्ष समितिले पदाधिकारीसँग वार्ता नगर्ने र सहकुलपति वा कुलपतिस्तरबाट गठित उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान लिएपछि सरकारले उच्चस्तरीय कार्यदल गठन गर्न बाध्य भएको हो।  

बिपीका लेखा प्रमुखविरुद्ध जोहरी दर्ता

बिपी प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीविरुद्ध प्रहरीमा अभद्र व्यवहार मुद्दामा जाहेरी दर्ता भएको छ। रायमाझीले आइतबार राति प्रतिष्ठानमै डिएम अध्ययनरत डा. विप्लव कार्कीलाई क्वार्टर नसरेको भन्दै मदिरा सेवन गरेको अवस्थामा गालीगलोज र धाकधम्की दिएको आरोप छ। घटनाबारे राति नै प्रतिष्ठानका विद्यार्थी, जुनियर रेजिडेन्टहरूले रायमाझीको आवास घेराउ गरेका थिए।

डा. कार्कीले सोमबार लेखा प्रमुख रायमाझीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा अभद्र व्यवहारमा जाहेरी दिएका थिए। उनको जाहेरी प्रहरीले ढिला गरी दर्ता गरेको हो। धरानका डिएसपी नरेन्द्र कुँवरले जाहेरी आएपछि दर्ता गरेर कानुनी कारबाहीको प्रक्रियामा राखिएको बताए। ‘जाहेरी आएपछि दर्ता हुन्छ, यो घटनामा पनि दर्ता गरेर प्रक्रियामा राखेका छौं, अभद्र व्यवहारमा मुद्दा अघि बढ्छ,’ डिएसपी कुँवरले भने।  

घटनाको विरोधमा जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले लेखा प्रमुख राजमाझीलाई आन्तरिक कारबाही गर्दै जिम्मेवारीबाट मुक्त गर्न र कानुनी कारबाही गर्न पनि माग गरेको थियो। माग पूरा नभएसम्म इमर्जेन्सी र कोभिड उपचार सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो। डा. कार्कीले दिएको जाहेरीमा आफू डिउटीमा जान लागेको बेला हात समातेर गालीगलोज गर्न थालेपछि रायमाझीकी पत्नीले तानेर लगेको र आफूलाई आक्रमण हुनबाट जोगाएको जाहेरीमा उल्लेख गरेका छन्। 

रायमाझीले आफ्नो परिवारलाई क्वार्टर साँघुरो भएको भन्दै डा. विप्लवको परिवार बस्ने क्वार्टर पनि लिन चाहेका थिए। त्यसका लागि रायमाझीले डाक्टरको परिवारलाई एस टाइपमा सार्न भनेर कोठा पनि खोजेका थिए भने प्रशासनबाट एक साताभित्र सर्न भनेर पत्राचारसमेत गराएका थिए। तर, डा. विप्लवले तत्काल नसर्ने अडान लिएपछि उनीहरूबीच विवाद भएको थियो। सोही क्रममा आइतबार रातिको घटना भएको हो।  

आरोपित रायमाझीले भने मदिरा पिएर आफूले गालीगलोज, धाकधम्की नदिएको दाबी गरेका छन्। क्वार्टरको विषयमा लामो समयदेखि डाक्टर परिवारसँग सल्लाह भएको र एस टाइपमा कोठा खाली भएपछि सार्न तयारी हुँदा डाक्टर कार्कीले नमानेको बताए। उनले भने, ‘सल्लाह गरेर नै कोठा सार्ने तयारी थियो। तर, उहाँले चाबी र पत्र फर्काइदिनु भएछ। त्यही विषयमा मैले पहिला नै सर्दिनँ भनेको भए हुने, बोलेको कुरा पनि पूरा नगर्ने भनेर वादविवाद गरेको हुँ। मदिरा सेवन गरेर गालीगलोज गरेको होइन।’ 

प्रकाशित: ५ श्रावण २०७८ ००:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App