३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

कार्यदल गठन भएपनि वीपी प्रतिष्ठानमा आन्दोलन जारी

तस्बिर : नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेपनि आन्दोलन भने जारी राख्ने संघर्ष समितिले जनाएको छ ।  

संघर्ष समितिले कार्यदल गठन भएको औपचारिकरुपमा जानकारी पाएको छैन । आफूहरुको माग पुरा हुने सुनिश्चितता नभएसम्म आन्दोलन जारी नै राख्ने संघर्ष समितिका सदस्य एवं जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले बताए । उनले भने,‘हाम्रो माग पुरा हुने सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहन्छ । कार्यदल बनेको औपचारिक जानकारी पाएका छैनौं, कार्यदल आएपछि कुराकानी भयो भने आन्दोलनको मोडालिटीबारे सोच्न सकिन्छ ।’

प्रतिष्ठानको बेथिती, आर्थिक अनियमितताको अन्त्य गर्न माग गर्दै चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङहरुले आन्दोलन गरेको ३३ दिन बितिसकेको छ । गत असार १५ गते वार्ताको क्रममा उपकुलपतिले मदिरा पिएर आएको भन्दै वार्ता वहिष्कार गरेको संघर्ष समितिले भोलिपल्ट चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै राजिनामा मागेका थिए । त्यसपछि पदाधिकारीहरुसँग वार्ता नगर्ने अडान राखेका आन्दोलनकारीले कुलपति वा सहकुलपतिस्तरबाटै उच्चस्तरीय वार्ता समिति वा आयोग गठन गर्नुपर्ने माग राखेका थिए । शुक्रबारदेखि उनीहरुले बिहान ८ बजेदेखि १० बजेसम्म आकस्मिक, कोभिड अस्पताल र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवाहरु बहिष्कार गरेका छन् ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेका छन् । प्रधामन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलको टोली सोमबार धरान आउने भएको छ ।  

कार्यदल गठन भएपनि आफूहरु प्रतिष्ठान सुद्धिकरण आन्दोलनमै रहेको र तार्किक निष्कर्षमा नपुगेसम्म आन्दोलन फिर्ता नगर्ने भन्दै संघर्ष समितिले शनिबार दिउँसो धरानमा सिट्ठी जुलुस निकालेको छ । वर्षाको बीचमा पनि छाता ओढेर संघर्ष समितिले प्रतिष्ठानदेखि भानुचोकसम्म सिट्ठी जुलुस निकालेको थियो । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले पदाधिकारी नियुक्त हुने राजनीतिक स्वार्थ, मन्त्रीको श्रीमतीको  स्वार्थ पूर्ण रुपमा रोकिनु पर्ने बताए । उनले पदाधिकारी नियुक्त गर्न मापदण्ड अनुसार हुनु पर्ने माग आफूहरुको रहेको प्रष्ट पारे ।  

‘जबसम्म भ्रष्टचार अन्त्य हँुदैन, तार्किक निष्कर्षमा पुग्दैन, हामी खबरदारी गरिरहन्छौं,’उनले भने,‘अब यस्ता संस्थाहरु राजनीतिक भर्तिकेन्द्र होइन, चुनावको लागि खर्च उठाउने ठाउँ होइन, जनताको लागि सेवा गर्ने, उपचार गर्ने हुनुपर्छ, विद्यार्थी पठाउने ठाउँ हुनुपर्छ ।’ उच्चस्तरीय वार्ता समितिबाट आफूहरुले राखेको माग पुरा नभएसम्म नरोकिने बताए ।  

धरान नागरिक दबाब समूहका संयोजक राजेन्द्र शर्माले उच्चस्तरीय समितिले २ दशकभन्दा लामो समयदेखि विकृति, विसंगतिमा डुबेको प्रतिष्ठानको गरिमालाई उचाईमा पुर्याउने अपेक्षा व्यक्त गरे । तर, उच्चस्तरीय समितिले झारा टार्ने मात्र काम गरेमा नगरबासीहरुले आन्दोलन गर्ने चेतावनी दिए । ‘समस्यालाई जरैबाट उखेल्नुपर्छ, कस्तो सहयोग चाहिन्छ, हामी गर्न तयार छौं, वीपी प्रतिष्ठानमा आम नागरिकले सस्तोमा उपचार पाउने नागरिकको हक स्थपित हुनुपर्छ,’ उनले भने । 

प्रकाशित: २ श्रावण २०७८ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App