१३ आश्विन २०७८ बुधबार
समाज

व्यास नगरपालिकाद्वारा चौध ढुङ्गा उद्योगलाई उत्खनन अनुमति

व्यास नगरपालिकाभित्रका चौध वटा स्लेट ढुङ्गा उद्योगलाई उत्खनन गर्ने अनुमति दिइएको छ। नगरपालिकाले स्लेट ढुङ्गा उत्खननसम्बन्धी कार्यविधि बमोजिम कानूनीरुपमा ढुङ्गा उद्योगलाई अनुमति दिएको हो।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले कार्यविधिबमोजिम प्रक्रिया पुगेका १४ वटा उद्योगका सञ्चालकलाई अनुमति प्रमाणपत्र हस्तान्तरण गरे। उत्खनन अनुमति हस्तान्तरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्लेट ढुङ्गा उद्योगलाई व्यवस्थापन गर्न कार्यविधिअनुसार व्यवस्थित गर्न लागिएको बताए।  

नगरपालिकाभित्र उद्योगमैत्री वातावरण बनाउनको लागि प्रयास गरिरहेको र उद्योगले वातावरणीय पक्षलाई जोगाउँदै प्राकृतिक स्रोतको व्यवस्थित तरिकाले उत्खनन गर्नुपर्नेमा उनले जोड दिए। जिल्लामा दर्ता भएका १९ मध्ये पहिलो चरणामा १४ उद्योगलाई अनुमति प्रदान गरिएको नगरपालिकाका नगरप्रमुख न्यौपानेले जानकारी दिए।  

नगरपालिकाले आफ्नो पालिकाभित्र सञ्चालनमा रहेका उद्योगले नगरपालिकाबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न यसअघि नै आग्रह गरेको थियो।  व्यास नगरपालिका–१० र ११ मा सञ्चालनमा रहेका उद्योगले दिएको निवेदनअनुसार कानूनी प्रक्रिया पूरा गरेका उद्योगलाई उत्खनन अनुमति प्रदान गरिएको व्यास नगरपालिकाका वरिष्ठ अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए।

नगरपालिकाको कार्यविधिअनुसार स्लेट ढुङ्गा उद्योगलाई एक वर्षको लागि अनुमति दिइएको हो। वातावरणलाई जोगाउँदै अस्वस्थ प्रतिस्पर्धा नभई स्वस्थ प्रतिस्पर्धाबाट आफ्नो व्यवसायलाई मर्यादित बनाएर सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आग्रह गरे। नगरपालिकाले कार्यविधिअनुसार करको दायरामा ल्याएर स्लेट तथा ढुङ्गा उद्योगलाई व्यवस्थित गर्नु राम्रो पक्ष भएको तनहुँ स्लेट ढुङ्गा उत्खनन व्यावसायी समितिका अध्यक्ष ईश्वर पौडेलले बताए।  

नगरपालिकाले कार्यविधिअनुसार स्लेट ढुङ्गा उद्योग सञ्चालनको लागि कम्तीमा पाँच रोपनी आवश्यक पर्ने र प्रतिरोपनी वार्षिक रु दुई हजारका दरले कर बुझाउनुपर्ने व्यवस्था रहेको व्यास नगरपालिकाका शाखा अधिकृत विमल गिरीले जानकारी दिए ।  

प्रकाशित: २ श्रावण २०७८ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App