१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

इलाममा साउन ७ सम्म थपियो निषेधाज्ञा

इलाममा आउँदो साउन ७ सम्मलाई निषेधाज्ञा थपिएको छ। सिडिओ ध्रुवबहादुर खड्काले बिहीबार सूचना जारी गरी निषेधाज्ञा थपिएको जानकारी दिए।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बुधबारको बैठकले संघीय सरकारले कुनै निर्देशन गरेमा त्यसैबमोजिम हुनेगरी आउँदो ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको थियो। बैठकले जिल्लामा कोभिड संक्रमितको संख्या २ सयभन्दा कम नहुञ्जेल निषेधाज्ञालाई निरन्तर दिने जनाएको थियो।  

यसअघि असार २३ मा जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। त्यसअघि भइरहेका निषेधाज्ञालाई केही खुकुलो गरी थपिएको त्यो निषेधाज्ञाले जनजीवन सहज हुँदै गएको, यातायात र बजार खुला गर्दा दैनिक क्रियाकलापमा सहज भएको प्रशासनले जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले अहिले तोकिएको निषेधाज्ञा अवधिभित्र संघीय सरकारले त्यसभन्दा फरकखालको निर्देशन जारी गरे त्यहीअनुसार हुने जनाए। खुकुलो गरिएको निषेधाज्ञामा ५ बजेसम्म बजार, पसल खुला राखिएको छ भने यातायातका साधन पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गरिएको छ।  

जिल्लामा बुधबार साँझसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय १५ छ। यीमध्ये होम आइसोलेसनमा ४ सय, सामान्य उपचारमा १२ र इन्टेन्सिभ केयर युनिट (आइसियु)मा ३ जना उपचाररत छन्। अहिलेसम्म जिल्लामा २ हजार ३ सय ५२ जना संक्रमित भएकामा १ हजार ८ सय ८० जना निको भएका छन्। ५७ जनाको निधन भएको छ।  

प्रकाशित: ३१ असार २०७८ ०८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App