१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संक्रमित पत्रकारलाई सहयोग

१ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले इलामका पत्रकार बुद्धवीर राईलाई उपचारमा सहयोग गरेको छ। प्रतिष्ठानले कोभिड संक्रमित पत्रकारलाई उपचारमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत पत्रकार राईलाई २५ हजार रुपैयाँ प्रदान गरेको हो।  

प्रतिष्ठानले नेपाल पत्रकार महासंघ इलाम शाखामार्फत् रकमको चेक हस्तान्तरण गरेको छ। सदरमुकाममा आइतबार आयोजित कार्यक्रममा १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले चेक हस्तान्तरण गरे। प्रतिष्ठानले जिल्लास्थित पत्रकार र स्थानीय प्रशासनसँग सञ्चार क्षेत्रको समस्याबारे छलफल पनि गरेको छ। प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले जिल्लाका पत्रकार र मिडियाको अवस्था, समस्या, कोरोनाको जोखिमलगायत विषयमा छलफल गरिएको जानकारी दिए।  

दोस्रो लहरको कोरोनाबाट इलाम शाखाका १८ पत्रकार संक्रमित भइसकेको र ४ पत्रकार सक्रिय संक्रमित रहेको महासंघले जनाएको छ। शाखाले संक्रमित पत्रकारको घर–घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको तथा स्वास्थ्य सामग्री वितरण गरिरहेको शाखा सचिव भीम चापागाईंले बताए। ‘शाखाले जिल्लामा क्रियाशील पत्रकारलाई कोरोनाबाट बचाउन तथा संक्रमित भइहाले उनीहरूको सहयोगका लागि स्रोत जुटाउन राहत कोषमा रकम जुटाइरहेको छ,’ सचिव चापागाईंले भने, ‘संक्रमित पत्रकार रहेकै ठाउँमा पुगेर ढाडस दिने, रोगविरुद्ध लड्न प्रोत्साहित गर्ने, आयुर्वेदिक औषधि तथा अन्य स्वास्थ्य सामग्रीसमेत पुर्‍याएर मनोबल बढाउने प्रयास गरिरहेका छौं।’ कोरोनाको जोखिममा रहेका पत्रकारलाई पनि स्वास्थ्य सामग्री वितरण गरिरहेको उनले जनाए।  

महासंघको राहत कोषमा समाजसेवी तारा र रोजु सापकोटाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। सूर्याेदय नगरपालिका घर भएपनि काठमाडौंमा बसोबास गर्ने सापकोटा दम्पतीले महासंघलाई सहयोग गरेका हुन्। यसअघि पनि शाखालाई सापकोटा दम्पतीले स्वास्थ्य सामग्री सहयोग गरेका थिए। कोषमा शाखाका सदस्य र अन्य दाताबाट रकम संकलन भइरहेको छ। 

विभिन्न संघ–संस्थाबाट प्राप्त कोरोनाविरुद्धको स्वास्थ्य सामग्री जिल्लामा क्रियाशील डेढ सय हाराहारी पत्रकारलाई वितरण गरिसकेको सचिव चापागाईंले बताए। महासंघ इलाम शाखामा १ सय ७५ सदस्य छन्।

प्रकाशित: २७ असार २०७८ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App