डोटी–डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउ (रजस्वला) बार्ने कुसंस्कारविरुद्ध अभियान सुरु गरेको छ। यसअन्तगर्त उसले छाउ नबार्ने महिलालाई नगद पुरस्कारसहित सम्मान गरेर सकारात्मक सन्देश दिएको छ।
उसले स्थानीय १४ महिलालाई जनही ५ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेको हो। गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी र उपाध्यक्ष निर्मला देवी साउदले उनीहरूलाई सम्मान गरेका हुन्।
गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदकाअनुसार महिनाबारी नबारी नियमित घरव्यवहारका काम गर्दै आएका महिलालाई सम्मान गरिएको हो। ‘अब हामी वर्षैपिच्छे सम्मान कार्यक्रम गर्नेछौं’, अध्यक्ष बोगटी भन्छन्, ‘हामी निरन्तर छाउ प्रथा विरुद्ध अभियान सञ्चालन गर्नेछौं।’
यसरी गत बिहीबार कार्यक्रममा सम्मानित हुनेहरू खुसी भएका छन्। काडामाण्डौकी कृष्णा भट्ट जोशी र बगलेककी सुनिता ठकुल्लाले ‘छाउ बार्नु हुँदैन’ भनेर जनचेतनामुलक कार्यक्रम सक्रिय भइरहने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा १४ जना ज्येष्ठ नागरिकलाई पनि नगदसहित सम्मान गरिएको थियो।
प्रकाशित: २६ असार २०७८ ०६:२९ शनिबार