१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेरि भारत फर्किँदै नेपाली मजदुर

भारतमा निषेधाज्ञाका कारण दुई महिनाअघि स्वदेश फिरेका नेपाली पुनः भारत फर्केका छन् । स्वदेशमा रोजगारी नभएको भन्दै गौरीफन्टा र बनबासा नाकाबाट दैनिक हजारौं नेपाली भारत फर्कन थालेका हुन्। कोरोना कहरले मुम्बईमा रोजगारी गुमेपछि दुई महिनाअघि स्वदेश फर्केकाहरू नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै पुनः भारत फर्कन थालेका हुन्।  

मुम्बईमा कोरोनाका कारण रोजगारी गुमेपछि वैशाख पहिलो साता भारतबाट नेपाल आएको बताउँदै डडेल्धुराका अनिल नेपालीले भने, ‘वैशाखमा आएको हुँ, आज फेरि फर्कंदै छु।’ स्वदेशमै रोजगारी नहुँदा घरपरिवार छोडेर भारत फर्कनु परेको उनले दुःखेसो पोखे। ‘गाउँमा रोपाइँ सकेर फुर्सदिलो भएको थिएँ,’ उनले भने, ‘सीमामा आउजाउ गर्न दिन थालेको सुनेपछि फेरि झोला बोकेर जाँदै छु मुम्बई।’ खेतीपाती सकेर दसैंसम्मका लागि भारत जान लागेको बताउँदै कञ्चनपुरका रमेश रावतले भने, ‘स्वदेशमा केही छैन, खाली बस्नुभन्दा दुई महिना भए पनि भारत जाऊँ भनेर हिँड्दै छु।’ 

कोभिड –१९ पछि पटकपटक स्वदेश फिर्ता हुने र पुनः भारत फर्कने क्रम चलिरहेको बताउँदै उनले भने, ‘कोरोनाका कारण स्वदेश फर्कन्छौं, माहोल शान्त हुन्छ, पुनः भारत जान्छौं फेरि उस्तै हुन्छ स्वदेश फर्कन्छौ, यही क्रम चलिरहेको छ।’ भारत आउजाउमै समय र पैसा खेर गइरहेको भन्दै चिन्तित उनले भने, ‘स्वदेशमै सानोतिनो काम मिलेको भए भारत जाने रहर थिएन।’  

कोरोनाको सुरुको भेरियन्ट आएको बेला अघिल्लो चैतमा भारतको जागिर छोडेर स्वदेश फर्केका उनी स्वदेशमा ९ महिने बसाइपछि गत मंसिरमा पुनः भारतको मुम्बई हानिएका थिए । मुम्बईमा भनेको समयमा जागिर नपाएका उनी केही दिन भौंतारिए जागिर खोज्दै । अन्ततः एउटा होटेलमा काम पाए। होटेलमा काम पाएको ४ महिनापछि चैत पहिलो साता भारतको मुम्बईमा कोभिडको ‘दोस्रो लहर’ आएको भन्दै सचेत अपनाइयो। 

केही होटेल तथा व्यवसायीले पुनः उत्पादन तथा होटेलको समय घटाएसँगै कर्मचारीलाई पनि बिदा दिए । त्यही बिदामा परे साउँद। ‘चार महिना जागिर गर्न नपाउँदै पुनः होटेलले बिदा दियो,’ उनले भने, ‘चार महिनाको तलब लिएर फेरि घर फर्केको म फेरि जाँदै छु।’  

स्वदेशमै काम पाएको भए भारत जान रहर नभएको बताउँदै उनले थपे, ‘कोरोनाका कारण घरीघरी भारत आउजाउमै उमेर र पैसा सकिन थाल्यो।’ सरकारले केही उद्यम सिकाएर स्वदेशमै रोजगारीको अवसर दिए आफूजस्ता तमाम युवाको उमेर र पैसा जोगिने उनी बताउँछन्। उनीहरू मात्रै होइन अहिले त्रिनगर भन्सार नाका भएर भारत जाने नेपाली मजदुरको संख्या दिनानुदिन बढ्दै गएको छ। 

जसकारण रोजगारीका लागि भारत पसेका बेरोजगार युवाको आउजाउमै उमेर र पैसा सकिन थालेको छ। लकडाउनका बेला ज्यान जोगाउन नेपाल फर्केकाहरू स्वदेशमा लामो समय बस्दा रोगभन्दा भोकले मर्ने स्थिति आउन थालेपछि पुनः भारत फर्किरहेको सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्ल बताउँछन्।  

अघिल्लो समयमा कोरोनाका कारण फर्केका नेपालीलाई स्वदेशमै रोक्न नसक्दा पुनः फर्किरहेको नागरिक समाजका अगुवा प्रमोद पाठक बताउँछन्। ‘रोगले भारतमै मर्नुभन्दा स्वदेशमै भोकले मर्न चाहने भन्दै त्यो बेला फर्केकाहरूलाई सरकारले उद्यम तथा रोजगारीको विकल्प दिन नसक्दा पुनः भारतै फर्कन थालेका छन्।’ 

रोजगारीका लागि आउने जाने समय, उमेर र पैसा सकिन थालेको चिन्तासँगसँगै उनीहरू यहीँ केही उद्यममा अल्झाउन सरकारले पनि सक्नुपर्ने बताउँछन्। कोरोनाका कारण पुनः नेपाली मजदुर फर्कने अवस्था आउन थालेको भन्दै उनले भने, ‘अब प्रदेश सरकारले आफ्ना नागरिकप्रतिको संवेदनशीलतालाई बुझेर स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्छ।’ अर्काका देशमा सस्तोमा श्रम खर्चने मजदुरको आउजाउमै उमेर र पैसा सकिन थालेको भन्दै उनले चिन्ता गरे।  

रोजगारीका लागि भन्दै हिजोआज स्वदेश छाड्ने नेपालीको संख्या दिनानुदिन बढ्दै गएको छ। एक सातामा मात्रै त्रिनगर भन्सार र गड्डाचौकी भन्सार क्षेत्र भएर १४ हजार ८ सय ७९ जनाले स्वदेश छाडेका छन्।  

प्रकाशित: २५ असार २०७८ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App