१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताल जोगाउँदै सिल्टेसन पोखरी

एक सातायता पोखरामा भीषण पानी पर्‍यो। खोलाखोल्सामा बाढी आयो। तिनै खोलाखोल्सा तालमा मिसिए। तालमा मिसिँदा पुरिने त्रास उस्तै छ। तर अहिले भने केही हदसम्म ताल पुरिने क्रम घटेको छ। पानीको स्रोतको रुपमा रहेका खोला तालमा मिसिनुअगावै बनाइएको सिल्टेसन पोखरीले बाढी पस्न भने दिएन। बाढीले बगाएर ल्याएको सिल्ट सबै पोखरीमा जम्मा हुँदा पुरिने अवस्था भने कम भएको छ।  

पोखराको फेवाताल संरक्षण गर्नसमेत महानगरपालिका र गण्डकी प्रदेश सरकारको सहकार्यमा झन्डै २८ करोड रुपैयाँ खर्चिएर चारवटा सिल्टेसन पोखरी निर्माण गरिएको छ। फेवामा मिसिने हर्पन, लौरुक, बेत्यानी र अँधेरी खोलामा सिल्टेसन पोखरी बनाइएको हो। ती पोखरीले केही सातायता परेको अविरल वर्षासँगै खोलामा आएको बाढीलाई सिधै तालमा मिसिनबाट जोगाएका छन्। महानगरपालिकाले ती पोखरी गतवर्ष मात्रै निर्माण गरेको हो। निर्माण गरिएको पोखरीबाट असारमध्यसम्म ३० हजार घनमिटर सिल्ट निकालिसकिएको पोखरा महानगरपालिका सहरी योजना महाशाखाप्रमुख शारदामोहन काफ्लेले बताए।  

‘पोखरी नबनाएको भए खोलाले बगाएको सिल्ट सिधैं तालमा मिसिन्थ्यो,’ उनले भने, ‘पोखरी बनेपछि त्यहीँ थिग्रियो।’ उनका अनुुसार वर्षाको समयमा प्रत्येक दुई दिनमा पोखरीबाट सिल्ट निकाल्दै आइएको छ। ‘खोलामा आउने बाढीले दुई दिनमै पोखरी भरिन्छ,’ उनले भने, ‘दुई दिनमै पोखरीबाट सिल्ट निकाल्नुपर्छ।’ सबैभन्दा बढी पामेस्थित खहरे खोलामा बाढी आउँछ। त्यसले बढी सिल्ट ल्याउँछ। त्यसपछि हर्पन खोलामा बाढी आउँछ। बनाइएको पोखरीमा दुईवटा सय मिटर लम्बाइ र ५० मिटर चौडाइका छन्। दुईवटा भने केही साना छन्। महानगरको तथ्यांकअनुसार फेवामा एक वर्षमा १ लाख २२ हजार घनमिटर सिल्ट जम्मा हुने गरेको छ।  

फेवासँगै कास्कीको तेस्रो ठूलो ताल रुपामा समेत सिल्टेसन पोखरी निर्माण गरिएको छ। सो पोखरीमा वर्षायाममा भने सिल्ट जम्मा हुँदा तालको सहत पुरिनबाट जोगिएको छ। ‘भीषण पानी परेसँगै खोलामा आएको बाढी सिधै तालमा मिसिएको भए आधा ताल पुरिन्थ्यो,’ रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले भने, ‘पोखरी भएकै कारण सिल्ट तालसम्म पुग्न पाएन।’ बाढीले तालको पानीको रुपरङै फेरिदिएको छ। ताल हिमाम्मेजस्तो बनाइदिएको छ। बाढीपहिरो आए पनि सिल्टेसन पोखरीमै माटो र गेग्र्यान सबै थिग्रिएको उनको भनाइ थियो।  

उनका अनुसार रुपाताल एकीकृत संरक्षण तथा विकास परियोजना सुरु भएको छ। परियोजनाले रुपा तालमा बाँध बाँध्ने काम सुरु गरेको छ। ताल संरक्षणकै लागि बाँध बाँध्नु अत्याश्वयक थियो। बाँधसँगै तालमा मिसिने खोलाले वर्षायाममा बगाएर ल्याउने सिल्ट जम्मा गर्न पोखरीसमेत निर्माण गरिएको छ। रुपातालको पानीको स्रोत तालबँेसी खोला हो। तालबेँसी खोलामा दोभन खोलासमेत मिसिएर आउँछ। तालकै सिरानमा दुईवटा सिल्टेसन पोखरी निर्माण गरिएको छ। एउटा पोखरी आगामी वर्ष निर्माण पूरा हुने अध्यक्ष ढकालले सुनाए।  

‘दुईवटा पोखरी बनिसकेका छन्। ती पोखरीले खोलाले ल्याएको सिल्ट तालमा जानबाट रोकेका छन्,’ उनले भने, ‘दुईवटा पोखरीमा जम्मा भएपछि पानी तालमा मिसिन्छ।’ खोलाको पानीको सतहबाट पोखरीको उचाइ ४ मिटर अग्लो छ। ‘सिल्टेसन पोखरीले ताललाई यो वर्ष जोगाएको प्रस्ट छ,’ उनले भने, ‘अब बर्सेनि सफा गर्दै तालको आयु बचाउन ध्यान दिनुपर्छ।’ ताल सिरानतर्फ बाटो चक्ल्याउने कामले वर्षायाममा खोलाले बगाएर ल्याउने सिल्ट पोखरीमा जम्मा भएको छ। ‘तालको सतह पुरिनबाट जोगिएको छ। तर ताल संरक्षण गर्न चक्ल्याउन सुरु गरिएको बाटोलाई छिटो व्यवस्थापन गर्नुपर्छ,’ होटल तथा रेस्टुरेन्ट एसोसिएन लेखनाथका सल्लाहकार दामोदरभक्त थापाले सुनाए। 

प्रकाशित: २३ असार २०७८ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App