१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीपहिरोको क्षतिः उत्तरी गोरखामा पैदल हिँड्ने बाटो पनि छैन

निषेधाज्ञाको दुई महिना खाद्यान्न ढुवानी भएन, अहिले बाटो छैन

बूढीगण्डकीले बगाएको उत्तरी गोरखा जाने सडक ।

लगातारको वर्षापछि बाढीपहिरो निम्तिँदा १५ दिनदेखि उत्तरी गोरखासँग सदरमुकामको आउजाउ टुटेको छ । मोटरबाटोको सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकामा पैदल हिँड्ने बाटोमा दर्जनौं ठाउँमा भत्किएपछि स्थानीय ज्यानको बाजी राखेर हिँडडुल गर्न बाध्य छन् ।  

सामागाउँदेखि सिर्दिबास आउँदा नामरुङ देखि गप खण्डमा पैदलबाटो बुढीगण्डकीमा भासिएको छ । गपबाट बिहीफेदी सम्म आउँदा तीन, चार ठाउँमा खुट्टा टेक्ने ठाउँ नै नभएको वडा नम्बर ४ का वडा अध्यक्ष पेमाडुण्डुप लामाले बताए । कतै बुढीगण्डकीमा हेलिएर त कतै हात खुट्टा टेकेर हिँड्नुपर्ने उनले बताए ।  

सिर्दिबासबाट माछाखोला सम्म पनि तीन–चार ठाउँमा पैदल हिड्ने बाटो नै नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए । ‘वडाबाट उपभोक्ता गाउँपालिकाको केन्द्र आउने अवस्था छैन,’ उनले भने, ‘टेलिफोन र इन्टरनेट सम्पर्क पनि छैन ।’ यसअघि पनि चुमनुब्री गाउँपालिकाको केन्द्रमा इन्टरनेटको राम्रो सुविधा थिएन । ‘एक ठाउँमा होईन, कैयौं  ठाउँमा पैदल हिड्ने अवस्था नभएको चुमनुब्री गाउँपालिका–४ नामरुङका स्थानीय लाक्पाडुण्डुप लामाले भने, ‘म त हेलिकप्टर चढेर माछाखोला झरे । मसँगै १५/१८ जना मानिस पैदल हिड्ने बाटो नहुँदा हेलिकप्टरमा आयौं ।’ सामाग्री ढुवानी गर्न गएको हेलिकप्टरमा माछाखोला झरेका उनी सदरमुकामको कार्यालय आउनुपर्ने थियो ।

धार्चे गाउँपालिकाको माछाखोला देखि सदरमुकाम आउने सडक पनि ठाउँठाउँमा पहिरिएकाले फेरी हेलिकप्टरमा आरुघाट गाउँपालिकाको मंगलटार आएको उनले बताए । ‘मंगलटारबाट रातीराती गाडीमा गोरखा बजार आए,’ लामाले भने । सदरमुकामका कार्यालयले उपभोक्ता मार्फत संचालन गरेको विकास निर्माणका बिभिन्न कामको भुक्तानी, गाउँपालिकाको कामको भुक्तानी लिन आउन समस्या भएको उनले बताए ।  

‘जसरी पनि आउनु त पर्‍यो, काम लगाएकालाई भुक्तानी दिनु बाँकी छ,’ लामाले भने, ‘गाउँपालिकाको केन्द्रसम्म आउन र सदरमुकाम आउन सामागाउँ, छेकम्पारका बासिन्दालाई उस्तै सास्ती छ ।’ गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा भुक्तानी गर्न गाउँपालिकाबाट नसकेपछि सदरमुकाम आउनुपर्ने बाध्यता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए । ‘हामीले गाउँपालिकाको केन्द्रबाट नियमित सेवा दिन सक्ने अवस्था नै भएन’, उनले भने ।

‘उत्तरी गोरखामा निषेधाज्ञाको दुईमहिना खाद्यान्न ढुवानी भएन, अहिले बाटो छैन’

निषेधाज्ञाका कारण दुई महिना देखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आउजाउ ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको छ । कोरोना संक्रमणको डरले बन्द गरिएको खच्चडबाट हुने खाद्यान्न ढुवानी अहिले वर्षातले बाटो बन्द हुँदा रोकिएको स्थानीयले बताएका छन् ।  

‘स्थानीय बजारमा पनि अहिले खाद्यान्न छैन’, चुमनुब्री ४ का लाक्पाडुण्डुप लामाले भने, ‘बाटो पनि नहुने हो भने अब खाने कुराको हाम्रो क्षेत्रमा अभाव हुने भयो ।’ चामल, नुन, तेल स्थानीय बजारमा अभाव हुन थालेको उनले बताए । तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री र सँगैको धार्चे गाउँपालिकालाई खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले अनुदानमा चामल बिक्री गर्छ । धार्चेको माछाखोला र चुमनुब्रीको सिर्दिबासका डिपोबाट अनुदानको चामल बिक्री हुँदै आएको छ ।  

सरकारले सिर्दिबास डिपोका लागि ३५ सय सय र माछखोला डिपोका लागि पाँचसय क्विलन्टल चामल यो वर्ष लैजाने योजना बनाएको थियो । तर अहिले सम्म सिर्दिबास डिपोमा दुईहजार ७ सय क्लिन्टल पठाईएको छ । यो मध्ये पनि करिब पाँचसय क्लिवन्ट डिपोमा पुगेको छैन । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका गोरखा शाखा प्रमुख नबिन बस्नेतले पछिल्लो पटक जेठ २६ गते कार्यालयले सदरमुकामबाट खाद्यान्न पठाएको बताए । डिपोमा अहिले सम्म करिब दुईहजार एकसय क्विन्टल मात्रै पुगेको छ । अहिले सिर्दिबास डिपोमा करिब दुईसय क्लिवन्टल मात्रै चामल छ ।  

माछाखोला डिपोमा पाँच सय क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा दुईसय क्विन्टल बाँकी छ । सदरमुकाम स्थित गोदामबाट चलानी भएको तीनसय मध्ये पनि एक सय भन्दा बढी अझै पुग्न बाँकी छ । यहाँ पाँच–सात क्लिवन्टल मात्रै चामल बाँकी छ । ‘केही परिमाण त हामीले स्टक राख्नुपर्ने हुन्छ,’ शाखा कार्यालय गोरखाका प्रमुख बस्नेतले भने, ‘बाटो नहुँदा ढुवानी गर्न अहिले सम्भव भएन ।’ माछाखोलाका लागि चुमकाङ निर्माण सेवा र सिर्दिबासका लागि प्रगती निर्माण सेवाले खाद्यान्न ढुवानीको जिम्मा लिएका हुन् ।  

निर्माण कम्पनीसँग असार मसान्त भित्र ढुवानी गर्ने सम्भौता छ ।  निषेधाज्ञा र बाटो देखाएर उनीहरुले ढुवानी गर्ने अवस्था छैन । हेलिकप्टरबाट ढुवानीकालागि गृह मन्त्रालय, खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडसँग समन्वय भईरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘बाटो नभएकाले त्यहाँ खाद्यान्न अभाव हुने भन्दै स्थानीयले गुनासो गर्नुभएको छ, हामीले बैकल्पिक तरिक अपनाउँदैछौं’, प्रजिअले भने ।  

सदरमुकामबाट धार्चेको माछाखोला सम्म सडक जोडिएको थियो । स्थानीय बजारमा चामल उपलब्ध हुन थालेपछि अनुदानको चामल कम प्रयोग गरेपछि कोटा घटाइएको हो । सिर्दिबास भने सडकले नजोडिएको हुँदा त्यहाँ अनुदानको चामल सस्तो पर्ने भएकाले उपभोग्ताको रोजाईमा पर्ने गरेको थियो । स्थानीय बजारमा पनि खाद्यान्न अभाव हुन थालेपछि हेलिकप्टबाट ढुवानी गर्नुको बिकल्प नभएको स्थानीय बताउँछन् । यसअघि भने उत्तरी गोरखामा खच्चडबाट खाद्यान्न ढुवानी गरिन्थ्यो । वर्षा निरन्तर भईरहेको र तत्काल सबै ठाउँमा एकैसाथ बाटो बनाउन सक्ने अवस्था नहुँदा समस्या भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए । ‘हामीले वर्षा रोकिएसँगै मर्मत गर्ने, वडा, स्थानीय समुहलाई मर्मतकालागि अनुरोध गरिरहेका छौँ’ उनले भने ।  

सडक मर्मत गर्न हेलिकप्टबाट जाली ढुवानी  

बूढीगण्डकीको बाढीले क्षति पुर्‍याएको चुमनुब्री गाउँपालिका ३ जगत खण्डको बाटो खुलाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले हेलिकोप्टर चार्टर गरी तारजाली ढुवानी गरेको छ । बूढीगण्डकीले कटान गरेर क्षति पुर्‍याएको बाटोमा तार जाली लगाएर हिड्न मिल्ने बनाउन पहल गरिएको डिभिजनल इञ्जिनियर रमेशराज शर्माले जानकारी दिए । ‘असार लागेदेखि नै चुमनुब्री गाउँपालिका प्रवेश गर्ने जगतमा हिडडुल गर्न नमिल्ने भयो भन्ने गुनासो आयो’, शर्माले भने, ‘त्यसैले बूढीगण्डकीबाट कटान तथा डुबान भएको बाटोमा तत्कालका लागि हिड्न मिल्ने बनाउन एकसय थान तारजाली लगाउने पहल भएको छ ।’ तत्कालका लागि ५० मिटर बाटो हिड्न मिल्ने बनाउन एकसय थान तारजाली हेलिकोप्टरबाट ढुवानी भएको उनले बताए ।

जिल्ला विपत व्यवस्थापन समितिको पहल र गण्डकी प्रदेश सरकारको सहयोगमा तार जाली ढुवानी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले बताए । ‘सिचाइ डिभिजन कार्यालयमार्फत आरुघाटको मंगलटारसम्म गाडीमा ढुवानी गरियो । त्यहाँबाट हेलिकोप्टरबाट चारखेप गरेर एकसयथान तारजाली जगतमा राखिएको छ’, उनले भने, ‘अब वडा कार्यालयले गाउँपालिकासँग समन्वय गरी ग्याभिन भर्ने काम गर्नेछ । तत्कालका लागि त्यही ग्याभिनमा टेकेर हिँड्न मिल्नेछ ।’

जगत खण्डको करिब एकसय मिटर बाटोमा गण्डकी फैलिएको चुमचुब्री मिलन समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए । नहिडी नहुने कोही–कोही मान्छे लुगा फुकालेर हातमा लिएर डुब्दै–डुब्दै हिँड्ने गरेको उनी बताउँछन् । कोही लहरा र घाँसमा झुण्डिएर भित्ताभित्तै हिड्ने गर्छन् । 

प्रकाशित: २१ असार २०७८ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App