२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषधको ‘हटस्पट’ बन्दै टीकापुर

कैलालीको टीकापुर लागुऔषधको ‘हटस्पट’ बन्न थालेको छ। यहाँ खुला सीमानाकाका कारण भारततर्फबाट लागुऔषधको ओसारपोसार ह्वात्तै बढेको छ। लकडाउनका कारण सीमावर्ती बजारसम्म सहज आवागमन नभएपछि भारतीय नागरिकले नै लागुऔषध सीमा क्षेत्रसम्म पुर्‍याउने गरेका छन्। 

लागुऔषध खरिदका लागि कारोबारी र सेवनकर्ता सीमा क्षेत्रमै पुग्ने गरेको पाइएको छ। कोरोनाका कारण शैक्षिक संस्था बन्द भएपछि धेरैजसो युवायुवती लागुऔषधको दुव्यर्सनमा फसेका छन्। युवायुवती लागुऔषध दुव्यर्सनमा फसेपछि विभिन्न आपराधिक क्रियाकलापका घटनासमेत बढेका छन्। प्रहरीका अनुसार लागुऔषध दुव्यर्सनमा संलग्न १५ देखि ३५ वर्ष उमेरका धेरै छन्। पछिल्लो समय लागुऔषध दुव्यर्सनमा फस्नेमा युवासँगै युवतीको संख्यासमेत त्यत्तिकै बढेको छ।  

लागुऔषध कारोबारमा महिलाको संलग्नता समेत धेरै देखिएको छ। उनीहरूमाथि सुरक्षाकर्मीले शंका नगर्ने अनुमानका आधारमा लागुऔषध कारोबारमा संलग्न हुने गरेको पाइएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागुऔषध कारोबारमा संलग्न यस्तै एक कारोबारी महिलालाई पक्राउ गरेको छ। टीकापुर नगरपालिका–६ भर्तापुरकी सुमन चौधरी (२४) लागुऔषधसहित पक्राउ परेकी हुन्। प्रहरीले उनको पसलबाट ६ सय थान नाइट्राभेट–टेन र ९६ थान स्पास्प्रोक्स क्याप्सुल बरामद गरेको छ।  

प्रहरीका अनुसार चाउचाउको पेटीभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध बरामद भएको हो। पक्राउ परेकी ती महिलाले आफूलाई यसबारे कुनै जानकारी नभएको बताएकी छन्। उनले पति लौटन चौधरीलाई जानकारी हुन सक्ने बताएकी छिन्। तर उनका पति हाल फरार छन्। सोही ठाउँका दिलीप राई (२५) लागुऔषधसहित पक्राउ परेपछि प्रहरीले चौधरीको पसलमा छापा मारेको बताएको छ। प्रहरीले राईलाई टीकापुर नगरपालिका–३ रामपुरबाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ६० थान नाइट्राभेट–१० र १६ थान स्पास्प्रोक्स क्याप्सुल बरामद गरेको छ।  

पक्राउ परेका राईले चौधरीको पसलबाट खरिद गरेको जानकारी दिएपछि प्रहरीले छापा मारेको थियो। उनीहरू दुवैजनालाई लागुऔषध कारोबार अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

यस्तै जेठ ३ गतेसमेत प्रहरीले लागुऔषध ओसारपोसारमा संलग्न दुई महिलालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बैदीका दिलु रिमाल (२४) र राधा पाण्डे (१९) रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ९ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। उनीहरूले प्रहरीसँगको बयानमा एक भारतीय नागरिकबाट ३४ हजार रूपैयाँमा सीमा क्षेत्रबाट खरिद गरेर ल्याएको बताएका थिए। प्रहरीले उनीहरूउपर लागुऔषध ओसारपोसारको मुद्दा दायर गरेको छ। हाल उनीहरू दुवैजना प्रहरी हिरासतमा छन्।  

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट हालै इलाका प्रहरी कार्यालय टीकापुरको इन्चार्जका रूपमा सरुवा भई आएका डिएसपी सापकोटाले लागुऔषध नियन्त्रण आफ्नो प्रमुख जिम्मेवारी हुने प्रतिबद्धता व्यक्त गरे। सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा डिएसपी सापकोटाले समाजलाई लागुऔषध मुक्त बनाउने प्रहरीको अभियानमा साथ दिन आग्रह गरे। उनले प्रहरीको एक्लो प्रयासले मात्रै समाज सुधारको दिशामा अघि नबढ्ने बताउँदै सबैको हातेमालो आवश्यक रहने बताए। 

प्रकाशित: २० असार २०७८ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App