१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

खोटाङका विभिन्न स्थानमा पहिरो, हलेसी–जयरामघाट सडक अवरुद्ध

वर्षाका कारण खोटाङमा मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ। केही दिनदेखि परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तरगत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको विभिन्न स्थानमा पहिरो खसेको हो।

शनिबार खसेको पहिरोको कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–जयरामघाट सडक अवरुद्ध बनेको छ। हलेसीदेखि बयाक्तासम्मको खण्डमा शुक्रबार खसेको पहिरो शनिवार जेसिभि लगेर पन्छाइए पनि कदुवाको राँगाकाटे र डोङ्ठे खोलामा शनिबार ठूलो पहिरो खसेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रशासनको पास लिएर यात्रा गरिरहेका यात्रु समस्यामा परेका छन्। ‘नगरपालिकाकै जेसिभि लगेर हलेसीदेखि बयाक्तासम्मको चार स्थानमा खसेको पहिरो पन्छाइयो,’ मेयर राईले भने, ‘पुःन कदुवाको राँगाकाटे र डोङ्ठे खोलामा पहिरो खसेको छ। पहिरो पन्छाउनका लागि जेसिभि पठाएका छौँ।’  

सडकमा खसेको पहिरो पन्छाउनका लागि वडा कार्यालय बाहुनीडाँडातर्फबाट घुमाएर जेसिभि पठाइएको जनाइएको छ। अवरुद्ध सडक खुलाउनका लागि केही समय लाग्ने नगरपालिकाले जनाएको छ। मध्यपहाडी लोकमार्ग सडक विभाग मातहतको भए पनि वर्षाकाबेला सो सडकमा खसेको पहिरो पन्छाउन विभागले बेवास्ता गर्ने गर्दा नगरपालिकाले हेरचाह गर्नुपरिरहेको मेयर राईले बताए। राष्ट्रिय राजमार्गमा खसेको पहिरो पन्छाउने काममा विभागको उपस्थिति नहुँदा हरेक वर्षा याममा नगरपालिकाले पहिरो पन्छाउँदै आएको छ।

प्रकाशित: १९ असार २०७८ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App