१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बुढानीलकण्ठका खुलाल ‘प्रेरणादायी शिक्षक'

काठमाडौं- अमेरिकी विश्वविद्यालय मासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) ले बुढानीलकण्ठ स्कुलका प्रधानाध्यापक केशरबहादुर खुलाललाई 'प्रेरणादायी शिक्षक २०१४' बाट सम्मान गरेको छ। एमआइटीमा स्नातक अध्ययनरत बुढानीलकण्ठका तीन पूर्व विद्यार्थीले सिफारिस गरेपछि विश्वका अन्य देशका शिक्षकसँगै खुलालले उपाधि पाएका हुन्।प्रेरणादायी शिक्षक अवार्ड कमिटीकी लाउरा बुकीका अनुसार एमआइटीमा पढ्ने विद्यार्थीको मनोनयनका आधारमा प्रेरणादायी शिक्षक छनोट गरिन्छ। शम्भु कोइराला, उद्धव शर्मा र आशिष त्रिपाठीले खुलाललाई मनोनयन गरेको विश्वविद्यालयले जनाएको छ।
तीनै विद्यार्थीले खुलालसँगका अनुभूति अवार्ड कमिटीमा राखेका थिए। 'हामीलाई राम्रो बाटो देखाइदिनुभएकोमा धन्यवाद, तपाइँको प्रतिबद्धता र मायाले हामीलाई देश फर्केर केही गर्ने हौसला मिलेको छ,' स्नातक तेस्रो वर्षमा 'अप्लाइड म्याथम्याटिक्स' अध्ययनरत उद्धव शर्माले खुलाललाई मनोनयन गर्दा लेखेका छन्। 
'एमआइटीमा पढ्न प्रेरणा दिनुभएकोमा हामी कृतज्ञ छौं,' लाउराले भनेकी छन्, 'तपाइँ असल शिक्षक हुनुहुन्छ। हामी तपाइँको विद्यालय र मनोनयनकर्ता विद्यार्थीसँग सहकार्य गरेर अवार्ड पठाउनेछौं।'
नागरिकसँगको टेलिफोन सम्पर्कमा शर्माले भने, 'हामीले तीन महिनाअघि उहाँको प्रतिभाबारे विश्वविद्यालयलाई जानकारी गराएका थियौं।'
एमआइटीले हरेक वर्ष १५ देशका प्रेरणादायी शिक्षकलाई सम्मान गर्दै आएको छ। यस वर्ष नेपालबाट खुलाल सम्मानित भएका हुन्।
कोइराला व्यवस्थापन चौथो वर्षमा र त्रिपाठी कम्प्युटर साइन्स पहिलो वर्षमा पढिरहेका छन्। 'विदेशमा पढेर पनि खुलाल सरले नेपाललाई नै कार्यक्षेत्र बनाउनुभयो,' शर्माले भने, 'हामी पनि आफ्नै देश फर्किएर काम गर्ने सोचमा छौं।'
'आफूले पढाएका विद्यार्थीले विश्वको उत्कृष्ट विश्वविद्यालयबाट सम्मान दिलाउँदा आफ्नो पेसाले औचित्य पाएको जस्तो लागेको छ,' २० वर्षदेखि बुढानीलकण्ठ स्कुलमा पढाइरहेका खुलालले भने, 'यो मेरालागि प्रोत्साहनको कुरा हो।'
बेलायतको इस्ट एंग्लिया विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक गरेर फर्केपछि उनले बुढानीलकण्ठमा पढाउन थालेका थिए। खुलालले त्रिभुवन विश्वविद्यालयबाट एमएड पनि सकेका छन्।
तेह्रथुमको ओख्रो– ८ मा जन्मेका खुलाल बुढानीलकण्ठ स्कुलमा एक वर्षदेखि प्रधानाध्यापक छन्। दुई वर्षअघि एमआइटीले बुढानीलकण्ठकै शिक्षक लालबहादुर राना मगरलाई प्रेरणादायी शिक्षक छानेको थियो।

प्रकाशित: २२ फाल्गुन २०७० २२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App