५ वैशाख २०८१ बुधबार
समाज

सहिद 'गिज्याउँदै' सहिदमार्ग

दक्षिण पश्चिम रोल्पा हुँदै रुकुम जोड्ने महत्वपूर्ण सडक सहिद मार्ग यतिबेला अस्तव्यस्त बनेको छ। हिजो आज सहिदका नाममा नामाकरण गरिएको यो सडकले सहिदलाई नै गिज्याइरहे जस्तो देखिन्छ।

दाङ होलेरी जोड्ने कालोपत्रे सडक नाम मात्रको छ भने होलेरीभन्दा अगाडिको सडकको त झनै बेहाल छ। लकडाउनका समयमा पनि दैनिक दर्जनौं सवारी साधन चल्ने यहाँ हैरानीको सीमा नै छैन। रुन्टीगढी गाउँपालिका नजिकै होलेरी दहवन खण्डमा दर्जन बढी माछापोखरी जत्रा खाडल परेका छन्।

खाडलमा जमेको लेदोसहितको पानीले सवारी साधनलाई संचालनमा हुनु सम्मको सास्ती हुने गरेको छ। वर्षेनी खर्च भएको बिल पेश हुने यो सडक मर्मतमा सहिदमार्ग सडक आयोजना र निर्माण व्यवसायीले चासो दिने गरेका छैनन्। ‘म निर्माण व्यवसायीलाई तुरुन्तै सडक सफा गर्न लगाउँछु’ सहिद मार्ग सडक आयोजनाका प्रम्ख बिष्णुबाबु पाण्डे भन्छन्, ‘म कहाँ खबर आएको थिएन आजै जमेको पानी काट्न लगाउँछु।’

वर्षेनी हुने लाखौं रकमको खर्च अनि प्रगति प्रतिवेदनसँग यो सडकले मेल नखाएको स्थानीयको गुनासो छ। जिल्ला जोड्ने मुख्य सडकको रुपमा रहेको सहिदमार्गको बेथितीका बारेमा जिल्लास्थित सरोकारवाला निकायले चासो दिएको पाइँदैन।

जिल्लाका ग्रामीण सडक त बन्द छन् नै खुलेको भनिएको गतिलो सडकको अवस्था पनि लाज मर्दो रहेको छ।

असारे विकासको आरोप खेप्ने सरकारी निकायहरु यतिबेला बिल भर्पाई मिलाउन व्यस्त भएसँगै अनुगमन गर्नुपर्ने आधिकारीक र अधिकार प्राप्त निकाय सबै भुलेर कुन कार्यालयबाट कुन बहानामा कति झार्न सकिन्छ भनेर ढुकेर बसेको स्थानीयको गुनासो छ।  

‘सहिद मार्गले टेन्डर गरेर होलेरी दार्बोटसम्म काम सुरु भएको छ। म सहिद मार्ग हाकिमसँग कुरा गरेर सफा गर्न लगाउँछु’, रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा भन्छन्, ‘दाङ होलेरी सडक झनै बिजोग छ।’

काम गर्ने निकाय संवेदनशील नबन्दा सर्वसाधारणसँगै जनप्रतिनिधिले पनि गुनासो गर्न थालेका हुन्।

प्रकाशित: १५ असार २०७८ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App