भक्तपुमा वृद्धवृद्धाहरु राख्नका लागि आदर निकेतन निर्माण गर्नुपर्नमा जोड दिइएको छ । भक्तपुर नगरपालिकाको आइतबारको दशौं नगरसभाको बैठकमा सहभागी सभासदहरुले शिशुहरुलाई राख्न शिशु स्याहार जस्तै नगरभरिका वृद्धवृद्धाहरुको व्यवस्थापनका लागि आदर निकेटन राख्नुपर्नेमा जोड दिए ।
बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटमाथिको छलफलमा सभासद गोविन्द दुवालले आदर निकेतन निर्माण र सञ्चालन यसैवर्ष गर्नुपर्नेमा जोड दिए । जिल्ला विकास समिति भक्तपुरका पूर्व सभापति समेत रहेका उनले भक्तपुरको साना उद्योग क्षेत्रलाई हस्ताकलामा आधारित उद्योगको रुपमा विकास गर्नुपर्ने बताए ।
सभासद् जितेन्द्र मुनंकर्मीले अरनिको सभाभवन निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने बताए । सभासद् सम्झना खाइजुले नगरमा विषादी जाँच गर्ने ल्याबको लागि बजेट छुट्याउनुपर्ने धारणा राखिन् । यसैगरी सभासद् तुल्सीलक्ष्मी दुमरुले खानेपानी मुहानलाई जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्नुपर्ने बताइन् । सभासद् रन्जना त्वातीले नगरका सबै वडामा स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपर्ने जनाइन् । सभासद् राजेन्द्र माकले रामन्दिर पुल लगायतका पुराना र जीर्ण अवस्थामा रहेका पुलहरु मौलिक शैलीमा पुनःनिर्माण गर्नुपर्नेलगायतका सुझावहरु राखे ।
सभामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको आकार र विशेषताअनुसार भक्तपुर नगरपालिकाको सन्तुलित विकास गर्न बजेट विनियोजन गरेको बताउँदै नगरको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई क्रमशः प्राथमिकतामा राखी बजेट छुट्याएको प्रष्ट पारे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार २०७८ असार १० गतेसम्ममा स्थानीय तहको बजेट पेश गर्नुपर्ने र निश्चित समयावधिभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताउँदै उनले नगरवासीहरुबाट प्राप्त राय सुझावलाई समेटेर जनमुखी बजेट निर्माणमा जोड दिएको बताए ।
आ.व. २०७८/०७९ को बजेटमाथि भएको दफावार छलफलमा १६ जना सभासदहरुले आफ्नो विचार राखेको जनाइएको छ । नगरसभाको अर्को बैठक असार १५ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको जनाइयो।
प्रकाशित: १३ असार २०७८ १२:४३ आइतबार