१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, ८ सय ६ जनाको उद्धार

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा १३ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा १/१ जना रहेको नेपाल प्रहरीको केन्द्रीय कार्यलयको तथ्यांकमा उल्लेख छ।

बाढी तथा पहिरोमा परी ८ सय ६ जनाको उद्धार गरिएको छ । तीमध्ये मनाङमा ६ सय ५६ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, सल्यान र लमजुङमा ८/८ जना, दाङ र गोरखामा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धार पश्चात उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ।

बाढीपहिरो र डुबानमा परी २० जना घाइते भएका छन्। तीमध्ये १३ जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३र३ जना, जुम्ला र कास्कीमा २र२ जना, स्याङजा, चितवन, सल्यान, पाँचथर र दार्चुलामा १र१ जना रहेका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन् । तीमध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना र बाजुरामा १ जना रहेका छन्। वेपत्ताको खोजी कार्य जारी रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ। साथै वर्षाको कारण जुम्ला, कास्की, बैतडी लगायतका स्थानहरुमा सोमबार पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ । बाढीको कारण २ सय १० वटा घर डुबानमा परेका छन् । २ सय ६ वटा घर, १२ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्। साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।

प्रकाशित: ७ असार २०७८ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App