१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अपराधीको संगठित जालोः वारि अपराध पारि 'सेल्टर'

अपहरणपछि हत्या गरिएका सिरहा बरियारपट्टी ५ जिझौलका ३१ वर्षीय सोमनाथ यादव। तस्बिरः मिथिलेश/नागरिक

सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका–५ जिझौलका ३१ वर्षीय सोमनाथ यादवको अपहरण र हत्याको घटनामा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता पुष्टि भएको छ। यादवको अपहरणपछि हत्याको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका सातजना मध्ये भारत प्रहरीको हिरासतमा तीन र नेपाल प्रहरीको हिरासतमा चार जना छन्।  

यादवको अपहरणपछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका भारत बिहार सुपौल जिल्ला निर्मलीका उमेश यादव, सिरहा बरियारपट्टीका रूपेश भन्ने उपेश यादव, औरही गाउँपालिका–२ का राहुल भन्ने रोहित यादव, बरियारपट्टीका रामविनय यादव सिरहा प्रहरीको हिरासतमा छन्। घटनाको मुख्य योजनाकार ‘नाइके’ सिरहा धनगढीमाई नगरपालिका–५ गोठचोकका ४१ वर्षीय रामकुमार यादव उनका सालो नाता पर्ने भारतीय नागरिक सतिश यादव र रामानन्द यादव सुपौल प्रहरीको हिरासतमा छन्। घटनामा प्रत्यक्ष संलग्न एक भारतीय नागरिक र दुई नेपाली नागरिक फरार रहेको सिरहा प्रहरी प्रमुख एसपी हिरा पाण्डेले बताए।

आपराधिक घटनालगत्तै प्रहरी घटनास्थल पुग्दा पनि अपराधी सीमा काटिसकेको हुन्छ। सीमा पार गरेपछि भारतीय प्रहरीको अनुमतिबेगर खोजबिन गर्न नपाइने भएकाले उसलाई लुक्न सजिलो हुन्छ। उता अपराधी निर्धक्क घुमफिर गरे पनि पक्राउ गर्न मिल्दैन।

यसरी भयो अपहरण

सोमनाथ यादव धनुषाका धारपानीस्थित नेसनल फाइनान्समा कार्यरत थिए। शुक्रबारका दिन उनी घर आउँथे। आइतबार पुनः कार्यस्थल फर्कन्थे। चैत २७ गते शुक्रबार उनी घर आउँदै थिए। बरियारपट्टी गाउँपालिका–३ स्थित सन्तोष कोल्ड स्टोर्समा नास्ता खाएर घर आउने क्रममा अपहरणमा परे।  

बरियारपट्टीबाट अपहरणकारीले उनलाई स्कोर्पियोमा बसाएर भारतीय सहर लदनीया पुर्‍याएर अर्को समूहको जिम्मा लगाए। ‘लदनीयामा यादवलाई अपहरण तथा हत्याका नाइके रामकुमार यादवले रिसिभ गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी पाण्डेले नागरिकसँग भने, ‘रामकुमारले अपहरित यादवलाई सुपौल जिल्लाको निर्मली पुर्‍याएका थिए। त्यहीँबाट उनले अपहरित सोमनाथका बुवा हरिनारायणलाई फोन गरी छोरा छुटाउन ४० लाख फिरौती माग गरेका थिए।’

फिरौती रकम बुझाउन अपहरणकारी समूहले सुरुमा यादव परिवारलाई सीमावर्ती लदनीया बजार बोलाए। यादव परिवार १५ लाख फिरौती रकम झोलामा बोकेर वैशाख ५ मा लदनीया बजार पुग्यो। त्यहाँबाट अपहरणकारीले अझ भित्र पिपराही बजार आउन भन्यो। अपहरणकारीले जहाँ भन्यो यादव परिवार फिरौती रकम लिएर त्यहीँ पुगे। तर, अपहरणकारी समूहले फिरौती बुझेनन्। त्यसपछि अपहरणकारीले सीमा नाका परिवर्तन गर्दै यादव परिवारलाई फिरौती रकम लिएर सिरहाको ठाढी नजिकको लौकाहा बजार बोलायो। तर त्यहाँ पनि फिरौती बुझेनन्। र, अझ भित्रको बजार खुटौना आउन भन्यो। यादव परिवार खुटौना पुग्दा अपहरणकारीले यो ठाउँ पनि सेफ छैन भन्दै फर्काइदियो। त्यसपछि अपहरणकारीले यादव परिवारलाई फिरौती रकम लिएर सुपौल आउन भनेका थिए। तर उनीहरूले प्रहरीलाई खबर गरेको भन्दै छोरा मारिदिएको खबर सुनाएका थिए।  

प्रहरीको असावधानी  

२७ गतेदेखि बेपताको सुइँको नपाएपछि हरिनारायण यादव भोलिपल्ट (चैत २८ गते) इलाका प्रहरी कार्यालय पतारी, सिरहामा खोजतलासको निवेदन दर्ता गराए। प्रहरीले अपहरणको कोणबाट यस घटनाको अनुसन्धान अघि बढाएन। प्रहरीले यसलाई सामान्य घटनाको रूपमा लियो। तर वैशाख २ गते जब अपहरणकारीले फिरौतीका लागि हरिनारायणलाई फोन गर्यो त्यसपछि प्रहरीको सक्रियता बढ्यो। प्रदेश प्रहरी कार्यालय जनकपुरधामले डीएसपी ज्ञानकुमार महतको नेतृत्वमा खोजी टोली परिचालन गर्यो। उक्त टोलीले भारतीय प्रहरी अधिकारीहरूसँगको समन्वयमा खोजी सुरु गर्यो। अपहरणकारीले फिरौती रकम लिएर अपहरित परिवारलाई जब सुपौल आउन भन्यो त्यसपछि डीएसपी महतो नेतृत्वको टोली पनि पछ्याउँदै सुपौल पुग्यो। 

सुपौलको निर्मली स्थित उमेश यादवको घरमा अपहरितलाई लुकाएर राखेको सूचना प्रहरीलाई थियो। सोही सूचना पछ्याउँदै सुपौल प्रहरीको सहयोगमा महतो नेतृत्वको टोली त्यहाँ पुगेका थिए। महतो नेतृत्वको प्रहरी टोली आफूहरूलाई पछ्याउँदै निर्मली पुगीसकेको सूचना पाएपछि अपहरणकारीले अपहरित यादवलाई त्यहाँबाट अर्को ठाउँ पुर्‍यायो। तर यसको सुइँको प्रहरी पाएनन्। र, प्रहरीले उमेश यादवको घरमा छापा मार्दा यादव फेला नपरेपछि प्रहरीले उमेशलाई नियन्त्रणमा लियो। उमेश पक्राउ प्रकरणले निर्मली प्रहरीमाथि दबाब बढ्यो। स्थानीयले थाना घेराउ गरे। दबाब बढ्दै जाँदा भारतीय प्रहरीले खोजी तीव्र बनायो। अपहरणकारीलाई अपहरित लुकाउन हम्मे परेपछि कोसी नदी किनारमा तीन गोली हानेर नदीमा फालिदिएको पक्राउ परेकाहरूले प्रहरीसमक्ष दिएको बयानबाट खुलेको सिरहा प्रहरी प्रमुख एसपी हीरा पाण्डेले बताए।

वारि अपराध, पारि सेल्टर

वारि अपराध गरेर पारि सेल्टर लिएर बस्ने घटना मधेसका लागि अनौठो होइन। ०६३ पछि मधेसमा आतंक मच्चाएको अपहरणका घटनामा सेल्टर पारि पुष्टि हुँदै आएको छ। अपहरणकारी लुक्ने सुरक्षित स्थान र अपहरितलाई लुकाउने सुरक्षित स्थान पारिका गाउँ बन्दै आएको छ। चैत २७ मा सिरहाको बरियारपट्टी–५ जिझौल गाउँका युवक सोमनाथ यादवलाई अपहरण गरी पारिकै गाउँमा राखियो। पारि नै हत्या गर्यो। र, यादव अपहरण तथा हत्यामा संलग्नहरूमध्ये सातजना सीमावर्ती भारतीय सहरबाटै पक्राउ परेका छन्। जसले सीमा वारि अपराध गरेर पारि सेल्टर लिने घटनालाई पुष्टि गर्छ। यस प्रकृतिका घटना यसअघि पनि हुँदै आएको छ।  

हत्या, अपहरण, बलात्कार, लागुऔषध कारोबारलगायत जघन्य अपराध गर्ने अभियुक्त नेपालका सुरक्षाकर्मीको आँखा छल्दै सीमावर्ती भारतीय क्षेत्रमा लुक्दै आएका छन्। प्रहरी अधिकारीका अनुसार खुला सीमाका कारण यताका गाउँमा अपराध गरेर अपराधीलाई भारतका विभिन्न क्षेत्रमा उम्किन सजिलो भएको छ। ‘आपराधिक घटनालगत्तै प्रहरी घटनास्थल पुग्दा पनि अपराधी सीमा काटिसकेको हुन्छ,’ सिरहाका एसपी पाण्डे भन्छन्, ‘सीमा पार गरेपछि भारतीय प्रहरीको अनुमतिबेगर खोजबिन गर्न नपाइने भएकाले उसलाई लुक्न सजिलो हुन्छ। उता अपराधी निर्धक्क घुमफिर गरे पनि पक्राउ गर्न मिल्दैन।’ यही कानुनी जटिलता बुझेर नेपालमा अपराध गरेको व्यक्तिले भारतमा ‘सेल्टर’ लिने गरेको उनको बुझाइ छ।  

नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाबीचको नातासम्बन्ध कतिपय अपराधीका लागि सुरक्षित आश्रयस्थल बन्दै गएको प्रहरी अधिकारीको भनाइ छ। ‘मधेसी गाउँ–सहरका अधिकांश मानिसको नातासम्बन्ध भारत, बिहारसँग जोडिएको छ। नातासम्बन्धको यही आवरणमा अपराधीलाई लुक्न सजिलो भएको छ,’ एसपी पाण्डेले भने।  

भारतको सुपौल जिल्लाका प्रहरी प्रमुख एसपी मनोज कुमार भन्छन्, ‘सोमनाथ अपहरण तथा हत्या प्रकरण अनुसन्धानले नेपाल तथा भारतका प्रहरीबीचको सकारात्मक समन्वयलाई पुष्टि गरेको छ। नेपाल तथा भारत दुबैतिर गम्भीर अपराधका घटना घटाएर वारिपारि लुकाछिपीको खेल खेल्दै आएका अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सफल भएका छौं।’ उनले यो नेपाल र भारत दुवैतिरका प्रहरीको सकारात्मक प्रयासले सम्भव भएको उनले बताए।  

सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्ने अपराधीले कहाँ, कसरी लुक्ने भन्नेबारे पहिल्यै योजना बनाइसक्ने पाइएको प्रहरी अधिकारीको विचार छ। ‘आपराधिक घटना भएको केही बेरमै अपराधी पारि भाग्ने गरेका छन्,’ एसपी पाण्डेले भने, ‘पारिका अपराधीको हकमा पनि यही अवस्था छ।’ भारतमा अपराध गरेर सीमावर्ती नेपाली गाउँमा अपराधी लुक्ने गरेको घटनाबाट भारतीय प्रहरी आजित हुने गरेको छ। उसले नेपालमा आश्रय लिइरहेका अपराधी समात्न सहयोग गरिदिन कानुनी रूपमै नेपाल प्रहरीलाई आग्रह गर्ने गरेको छ। सीमाक्षेत्रका नेपालका जिल्लामा समकक्षी भारती प्रहरीसँग सुदृढ सम्बन्ध बनाइए अपराधी समात्न गाह्रो नहुने एसपी पाण्डेको धारणा छ। ‘हामीले पनि उता (नेपाल)का अपराधी पक्राउ गर्न यहाँ सहयोग गर्छौं,’ उनले भने, ‘भारतीय प्रहरीले पनि उता लुकेका यताका अपराधी पक्रन मद्दत गर्छन्।’

रामकुमारको नेपाल–भारत अपराध शृंखला

नाम रामकुमार यादव उर्फ आरके। उमेर ४१ वर्ष। सिरहाको धनगढीमाई नगरपालिका ५ गोठटोल घर भई हाल भारतको सुपौल जिल्ला बस्दै आएका उनीमाथि भारत तथा नेपालमा गरी १७ वटा अपराधका मुद्दा दर्ता छन्। तीमध्ये सिरहा जिल्ला प्रहरी कार्यालयमा मात्र १३ वटा अपराध मुद्दा दर्ता रहेको एसपी पाण्डेले बताए।

०७७ पुष ७ गते सुखिपुर नगरपालिका ७ मा प्रहरीलाई लक्षित गरी विस्फोट गराएको घटनामा उनीमाथि विस्फोटक पदार्थ तथा संगठित अपराधमा मुद्दा दर्ता छ। ०७५ साउन ६ गते राजकुमार यादवको जाहेरीमा उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ। ०७५माघ ९ गते प्रहरी साहायक निरीक्षक वीरबहादुर कार्कीको जाहेरीमा उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता छ। ०७७ चैत १ मा मालपोत कार्यालय लहानमा गराइएको बम विस्फोटको आरोपमा उनीमाथि विस्फोटक पदार्थ, ज्यानमार्ने उद्योग, हतियार तथा खरखजाना र संगठित अपराध मुद्दा दर्ता छ।  

रामकुमारमाथि सिरहामा मात्र नभई भारतको फुलपरास थाना, लौकाही थाना, खुटौना थानामा गरी चार मुद्दा दर्ता रहेको सुपौलका एसपी मनोज कुमारले बताए। अपराध गरेर उम्कन सिपालु रामकुमार पक्राउ पकरण रोचक छ।

सोमनाथको अपहरणपछि हत्या गरी उनी सुपौल जिल्लाबाट भारतको गुडगाउँ भागेका थिए। गुडगाउँ स्थित एक उद्योगमा कामदारको रूपमा कार्यरत रहेका उनलाई सुपौल प्रहरीको विशेष टोलीले पक्राउ गरेको एसपी मनोज कुमारले बताए। उनीमाथि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी भएको थियो।

सिरहा प्रहरी प्रमुख एसपी हीरा पाण्डेका अनुसार सोमनाथ हत्यासहित अन्य १३ वटा अपराध मुद्दाका फरार प्रतिवादी रहेका रामकुमार भारतमा बसेर एकपछि अर्को अपराध घटाउँदै आएका थिए। प्रहरीलाई छल्दै अपराध गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरी मुख्यालयको सहयोगमा इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्न गलायौं एसपी पाण्डेले भने, ‘नोटिस जारी भएपछि भारतीय प्रहरीले उनको खोजी तीव्र पार्यो। र, भारतको गुडगाउँबाट पक्राउ गर्न सफल भयो। ‘उनलाई अहिले मधुवनी जिल्ला प्रहरीको हिरासतमा राखेर कारबाही चलाइएको छ। मधुवनी जिल्लामा उनीमाथि मुद्दा दर्ता रहेकोले हामीलाई बुझाइएन,’ एसपी पाण्डेले भने।

सेल्टर दिएवापत ५० हजार

वारिबाट अपहरित व्यक्तिलाई सुरक्षित सेल्टर दिएवापत पारिका गाउँका व्यक्तिले ५० हजार लिने गरेको खुलेको छ। बरियारपट्टीबाट अपहरित सोमनाथलाई दश दिनसम्म भारतको सुपौल जिल्ला अन्तर्गत निर्मलीका उमेश यादवको घरमा राखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उमेशले अपहरित यादवलाई सेल्टर दिए वापत ५० हजार लिएको प्रहरीसमक्ष बयान गरेका छन्।

प्रकाशित: ६ असार २०७८ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App