१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा दुई सय ६७ जना विस्थापित

तस्विरः नागरिक

लगातारको वर्षाले बस्ती जोखिममा परेपछि कर्णालीका दुई सय ६७ जना सर्वसाधारण विस्थापित भएका छन् । जुम्लाका एक सय १७ र दैलेखका एक सय ५० जना विस्थापित भएका हुन् ।

दैलेखको आठवीस–४, तिलेपाटाका एक सय ५० घरधुरीका स्थानीय विस्थापित भएका छन् । अविरल वर्षाका कारण गाउँमा पहिरो खस्न सक्ने सम्भावना भएकाले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । तिलेपाटाका ३७ घर विस्थापित भएर आफन्तको घरमा बसेका छन् । ‘पहिरो खस्न सक्ने सम्भावना देखिएपछि मानवीय र अन्य क्षति नहोस् भनेर सुरक्षित स्थानमा सारिएको छ,’ उनले भने, ‘उहाँहरुलाई केही समयपछि घरमा राख्छौं ।’ केही दिन अघि कर्णालीमा नदी छेउमा अवस्थित रामाघाट बजारका बासिन्दा पनि विस्थापित भएका थिए । ‘लगातार पानी पर्दा कर्णाली नदीमा पानीको सतह बढेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारेका थियौं,’ डिएसपी श्रेष्ठले भने, ‘नदीमा पानीको सतह घटेपछि उहाँहरु पुनः घर फर्किनु भएको छ ।’ यहाँका करिब ४०÷४५ घरपरिवार विस्थापित भएका थिए ।

यता जुम्लास्थित हिमा गाउँपालिका–६ खरिढुंगाको सिंगो एउटा गाउँ विस्थापित भएको छ । यहाँ १६ घरका एक सय १७ जना नागरिक विस्थापित भएका छन् । भिरालो जमिनका कारण घर माथि र तलबाट पहिरो झर्न सक्ने देखिएपछि उनीहरु विस्थापित भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक युवनकुमार चौधरीले जनाए । उनका अनुसार कुनैकुनै ठाउँमा सानासाना पहिरा झर्न थालेका छन् । थप अवस्था बुझ्न प्रहरी उक्त गाउँमा गएको छ । ‘पहिरोले केही व्यक्तिहरुको घर बगाएको छ,’ उनले भने, ‘पहिरोले घर बगाएपछि उनीहरु पनि विस्थापित भएका छन् ।’ वर्षा नरोकिए विस्थापितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । भिरालो जमिन हुँदा कर्णालीका कयौं बस्ती पहिरोको जोखिममा छन् । सरकारले बस्ती विकास गर्न नसक्दा पनि मानिस असुरक्षित स्थानमा बासस्थान बनाउने गरेका छन् । जसले गर्दा वर्षायाममा उनीहरु जोखिममा पर्ने गरेका छन् ।  

राजमार्ग जोखिमपूर्ण यात्रा

लगातारको वर्षाले कर्णालीका दुई महŒवपूर्ण कर्णाली र राप्ती राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँठाउँमा पहिरोसँगै सडक हिलाम्मे हुँदा यी दुई राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण भएको हो ।

कर्णाली र राप्ती राजमार्गका कयौं ठाउँमा पहिरो खसेको छ भने कालोपत्रे उत्रिएको ठाउँमा हिलाम्मे भएको छ । कोभिड–१९ (कोरोना भाइरस) न्यूनीकरणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि अत्यावश्यक काममा निस्केका यात्रु र बिरामी लिएर ओहोरदोहोर गर्ने एम्बुलेन्सले जोखिमपूर्ण यात्रा भएको गुनासो गरेका छन् । बाटो जोखिमपूर्ण हुँदा यात्रा लामो र झन्झटिलो हुने गरेको छ । अन्य सहायक सडकहरु पनि जिर्ण बनेका छन् । सडकमा पहिरो खसपछि प्रहरी र स्थानीयले पहिरो पन्छाउने काम गरिरहेका छन् । केही दिनदेखि कर्णालीमा लगातार वर्षा भइरहेको छ ।

प्रकाशित: ५ असार २०७८ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App