१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारी वर्षाले म्याग्दीमा वितण्डा मच्चायो, ६० घर विस्थापित

म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी बजार । तस्बिर : नागरिक

अविरल वर्षासँगै म्याग्दीका विभिन्न  स्थानमा करिब ६० भन्दा बढी घरधुरी विस्थापित भएका छन् । तीन दिन देखि भइरहेको भारी वर्षाले जिल्लाभर वितण्डा मच्चाएको छ । बुधबार बिहानसम्म प्राप्त जानकारी अनुसार जिल्लाभरको जनजिवन अस्तव्यस्त भएको छ । बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाा भित्रका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुगेको भने दुई जनालाई सामान्य चोट लागे पनि मानवीय क्षति भएको छैन् । म्याग्दी र कालिगण्डकी नदी सहित जिल्लाभरको खहरेखोला र सहायक नदीहरुको कटान, पहिरो तथा सडक विस्तारको क्रममा जोखिम क्षेत्रमा असर  गरेको छ । बेनीबजारको क्याम्पसचोक, अस्पताल चोक, मंगलाघाट आसपासका क्षेत्रमा माथिल्लो क्षेत्रबाट खसेको भलबाढीले क्षति गरेको छ ।  

बेनी नगरपालिका–४ तातोपानी मसारका १८ र राक्सेमा ५ घरधुरी घरपरिवार, धवलागिरी गाउँपालिका–२ खोरियाका १३ घर, उत्तरी म्याग्दीको अन्नपूण–५ घोस्केखोरमा ७ स्वात गाउँमा ३ र पाउद्वारमा २ घरमा क्षति पुगेको शिखका वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिए । घोस्केघोरका रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टीकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घरमा क्षति पुगेर विस्थापित भएको जनाइएको छ । पहिरोले पशुचौपायाको गोठ समेत पुरिदिएको छ भने सयौं रोपनी खेतीयोग्य जमिनमा असर गरेको छ । यता पहिरोका कारण बेनी–२ बगरफाँटमा ९ र वडा नं ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएको स्थानीयले जनाएको छ । बेनपा४ डाँडाखेतमा लोकेन्द्र खत्री, खेमराज पौडेल र सानु किसानका परिवार विस्थापित भएको वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिए । मङ्गला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर भत्किएको छ ।  

घर भत्किएपछि दर्जीका १६ जनाको परिवारलाई आफन्तकोमा सारिएको नेत्रराज सुवेदीले जानकारी दिए । यसैगरी सदरमुकाम बेनीको क्याम्पसचोकमा आएको बाढी पसेर कालीपुलमा रहेको देवेन्द्र पौडेलको ग्यारेज डुबाएको छ । बर्षासँगै जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्क हिलाम्मे बनाएको छ । निरन्तरको बाढीपहिरोले जिल्ला सदरमुकाम बेनीलाई जोड्ने अधिकांस ग्रामिण सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुङ्गा, बेनी–बागलुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध छ भने बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा, गलेश्वर–मौवाफाँट–चिमखोला–कुइनेमङ्गले, पोखरेबगर–घार–शिख–चित्रेलगायत सबै ग्रामीण बस्ती जोड्ने सडकमा यातायात ठप्प भएको छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले खतराको तह नाघेको छ ।  

प्रकाशित: २ असार २०७८ ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App