१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

रौतहटमा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ। कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको चन्द्रपुरमा उपचार भइरहेको छ । महिलाको शरीरमा विभिन्न ठाएँमा घाउचोट लागेको र करिब तीन सय टाँका लागेको छ । महिलाको स्थिति अहिले पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।  

रौतहटको माधव नारायण नगरपालिका ५ मिठुअवा गाउँकी ६५ वर्षीया श्रीपतीदेवीलाई छिमेकी सन्दीप महरासहितले महिलामाथि आक्रमण गरेको हो । आक्रमणबाट महिलाको टाउको, हात, कान र शरीरका अन्य भागमा चोट लागेको छ । आक्रमणबाट महिलाको टाउको र अनुहार पूरै सुन्निएका छन् भने आँखा सुन्निएर बन्द भएका छन्।

गम्भीर घाइते भएकी महिलाको श्रीमानुको दश वर्ष पहिले मृत्यु भइसकेको छ भने सशस्त्र द्वन्द्वको समयमा छोराको पनि मृत्यु भएको थियो। छोराको मृत्यु भएपछि सन्दीपको परिवारले महिलामाथि बोक्सीको आरोप लगाउँदै आएको थियो।

गम्भीर घाइते महिलाको उपचार चन्द्रपुरस्थित सिभिल अस्पतालमा भइरहेको छ । विपन्न परिवारकी महिलाको उपचारमा आर्थिक समस्या भइरहेको छ । अहिले स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रमुख डा. हरिशंकर मण्डलले जानकारी गराएका छन् तर महिलाको स्वास्थ्य अझ खराब भएमा बाहिर लैजानुपर्ने अवस्था रहेको छ ।

घटनाका मुख्य आरोपी सन्दीप महरा फरार रहेको र आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि भरत श्रेष्ठले ज्यान मार्ने उद्योग गरेको भनी जाहेरी परेको र आरोपित महराको खोजी भइरहेको जानकारी गराएका छन्।  

प्रकाशित: १ असार २०७८ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App