१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किनकि ममी–बाबाहरु बाँच्नुपर्छ

बरखी बारेको १३ औं दिनमा आफ्नो फुपुसँग नगरपालिकामा आएका अनुष प्रजापति नगरप्रमूखलाई सहयोग रकम हस्तान्तरण गर्दे । कोभिडका कारण पिता गुमाएका उनले घरमा भएको ३० हजार १ सय रुपैयाँले अक्सिजन प्लान्ट बनाउने नगरपालिकाको अभियानमा थोरै भएपनि सहयोग पुग्ने अपेक्षा राखे

  ‘कोभिडबाट मैले बाबालाई जोगाउन नसकेपनि अरु बाबाहरु बाँचून् भनेर सहयोग गर्न आएको हुँ,’ अक्सिजन प्लान्टको लागि सहयोग रकम दिन भक्तपुर नगरपालिकामा आइपुगेका भक्तपुर–९ तौलाछेंका अनुष प्रजापतिले भने, ‘उपचारको अभावमा आफन्त गुमाउनुको पीडा निकै कष्टकर हुन्छ।’  

अनुषको बुबाको हालै कोभिड संक्रमणका कारण निधन भएको हो। भक्तपुरस्थित नगरपालिकको आइसोलेसन केन्द्रमा सुरुमा उपचार गराएको र  थप उपचारको लागि धुलिखेल अस्पताल लगेपनि बाबालाई जोगाउन नसकेको उनले बताए। बरखी बारेको १३ औं दिनमा आफ्नो फुपुसँग नगरपालिकामा आएका उनले घरमा भएको ३० हजार १ सय रुपैयाँले अक्सिजन प्लान्ट बनाउने नगरपालिकाको अभियानमा थोरै भएपनि सहयोग पुग्ने अपेक्षा राखे।  

उनकै जस्तै पीडा बोकेर आएकी थिइन्, भक्तपुर दरबारक्षेत्रकी  रिना श्रेष्ठ। कोभिडका कारण आमा गंगालक्ष्मी बैद्यलाई गुमाएकी उनले अरु आमाहरुको जीवन जोगियोस् भनेर  १ लाख ११ हजार १ सय ११ सहयोग गरेको जनाइन्। ‘हामीले आफ्नो ममीलाई जोगाउन सकेनौ,’ रिनाले  भनिन्, ‘अरु ममीहरुले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर सहयोग गर्न आयौं।’  

अनुष र रिनाजस्तै थुपै्र नगरवासी यतिबेला भक्तपुर नगरपालिकमा सहयोग रकम दिन लाइनबद्द छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटले बनाउन लागेको अक्सिजन  प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्नका लागि नगरपालिकाले गरेको  आह्वानलाई  पूरा गर्न नगरबासी कटिवद्द देखिएका हुन्।  

सहयोग रकम दिन नगरमा रहेका सहकारी, विद्यालय, विभिन्न संघसंस्थासँगै इन्जिनियर, चिकित्सक, गुठीयार, किसान, मजदुर र अन्य पेशाकर्मी पनि लागिपरेका छन्। ‘चिकित्सक नभएमा बिरामी तुरुन्तै मर्दैन तर अक्सिजन नभएमा तुरुन्तै मर्छ,’ भक्तपुर डाक्टर सोसाइटीका अध्यक्ष डा. पुण्यराम खर्बुजाले भने, ‘त्यसैले हामीले जीवन जोगाउने नगरपालिकको अभियानमा थोरै भएपनि सहयोग गर्न आएका छौं।’  

 

नगरपालिकको अभियानमा बृद्धभत्ता लिने जेष्ठ नागरिकदेखि पेन्सन लिने कर्मचारीसमेत अगाडि आएका छन्। साना नानीहरुले खुत्रुके फुटाएर पनि सहयोग गर्न आएको भेटियो । त्यसैले सहयोग आह्वान भएको तीन  साताको अवधिमा  ६ करोड  रुपैयाँको हाराहारीमा सहयोग उठेको नगरपालिकाले जनाएको छ।  

‘उठेको रकम अक्सिजन प्लान्ट र निर्माणाधीन ख्वप अस्पतालमा अत्यावश्यक  स्वास्थ्य उपकरण किन्ने कार्यमा खर्च हुनेछ,’ भक्तपुर नगरपालिकाका प्रशासन प्रमुख दामोदर सुवालले भने, ‘नगरबासीले देखाएको उत्साहले हामीलाई थप आशाबादी बनाएको छ।’ नगरपालिकाले अक्सिजन प्लान्टको लागि चाहिने सामाग्री पनि ल्याइसकेको छ ।  

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरबासीले करमात्र हैन परेको बेलामा स्वेच्छिक सहयोग पनि गर्न सक्छन् भन्ने देखाएको र यसले आफुहरुलाई थप जिम्मेबार बनाएको बताए। ‘राज्यले हामीलाई बेवास्ता गरेको समयमा नगरबासीले हेरेका छन्,’ उनले भने, ‘यति बेला नगरबासीको यो सद्भाव नै हामीहरुको लागि सवैभन्दा ठूलो सहयोग बन्न पुगेको छ।’ 

प्रकाशित: १ असार २०७८ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App