१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना कहर: तरकारीका लागि माछा मार्न गएका दम्पत्तीको मृत्यु

कोरोना महामारीले आक्रान्त बनाएको बेला दिनहँु कमाएर खाने इटहरी तरहराका एक दम्पती तरकारीको जोहो गर्न माछा मार्न जाँदा शुक्रबार राति करेन्ट लागेर मृत्यु भएको छ।  

महामारीले गर्दा घोषित निषेधाज्ञाले गर्दा काम गर्न नपाएपछि पैसा अभावमा माछा मार्न जाँदा श्रीमान(श्रीमतीकै करेन्ट लागेर मृत्यु भएको हो। इटहरी १९ र २० मा पर्ने खार्साला खोलामा माछा मार्न गएको बेला उदयपुरको रौता गाउँपालिका वडा नं. ३ घर भइ अहिले इटहरी वडा नं. २० तरहराको चौतारी चोकमा कोठाभाडामा बस्दै आएका २५ वर्षीय हेमशेर राई र २२ वर्षीया शर्मिला राई शनिबार बिहान मृत फेला परेका हुन्।  

‘घटनाको प्रकृति हेर्दा राति घरबाट श्रीमान श्रीमती नै माछा मार्न घरमा पाँच वर्षकी छोरीलाई सुताएर गएकी देखिन्छ,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले भने, ‘हातमा करेन्टको निलडाम देखिन्छ।’ छोरी शुक्रबार मध्यरातमा रुँदा छरछिमेकीले थाहा पाएपनि घरमा हेमशेर र शर्मिलालाई नदेखेपछि खोजी गरेनन्। छोरीलाई फकाएर सुताउन सहयोग गरे। शनिबार बिहान भने खोजी गर्दा मृत भेटिएका हुन्।  

हेमशेर र शर्मिला स्थानीय रोयल फर्निचर उद्योगमा काम गर्दै आए पनि पछिल्लो समय कोरोना महामारीले गर्दा काम ठप्प थियो। निषेधाज्ञाले गर्दा दिनहुँ कमाएर खाने वर्ग गम्भीर समस्यामा छन्।

मृतक राई दम्पतीलाईं तीन दिनअघि मात्र वडा नं. २० ले २० केजी चामल दिएको थियो। वडा अध्यक्ष मणिराम श्रेष्ठका अनुसार मृतक राईको परिवारमा निकै समस्या परेको स्थानीयले सुनाएपछि राहत प्रदान गरिएको हो।राई दम्पती आफू बस्ने घरभन्दा २० मिटर टाढा माछा मार्न गएका थिए।

प्रकाशित: २९ जेष्ठ २०७८ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App