२८ वैशाख २०८३ सोमबार
image/svg+xml
समाज

बौद्धिक सम्पत्ति जोगाउन अदालततिर

काठमाडौं- अन्य कम्पनीले नक्कली र कमसल सामान बिक्री गर्न थालेपछि आफ्नो बौद्धिक सम्पत्ति संरक्षण र सुरक्षाका लागि अदालत जाने क्रम बढेको छ। कम्पनी मात्र नभई व्यक्तिहरू पनि आफ्नो सिर्जना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि अदालत जाने गरेका छन्। बौद्धिक सम्पत्ति संरक्षण र सुरक्षा गर्नुपर्ने चेतना नेपाली कम्पनी र व्यक्तिमा बढ्दै गएकाले पनि अदालत जाने प्रवृत्तिमा बढोत्तरी आएको हो।

पुनरावेदन अदालत मातहत रहेको वाणिज्य इजलाशको तथ्यांकअनुसार केही वर्ष बैद्धिक सम्पत्ति संरक्षण र सुरक्षासम्बन्धी मुद्दा शून्य थियो। अहिले भने मुद्दा संख्या दोहोरो अंकमा पुगेको छ। जनचेतना नपुुग्दा 'प्याटेन्ट राइट' (आविष्कारमाथिको अधिकार) मा नेपाल कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय भनाइ रहे पनि पछिल्ला दुई वर्षमा दर्ता भएका मुद्दाले बौद्धिक सम्पत्ति संरक्षण गर्नुपर्ने चेतना विस्तार भएको देखाएको पुनरावेदनका रजिस्ट्रार नृपध्वज निरौलाले बताए।प्रतिलिपि र प्याटेन्ट अधिकार दाबी गर्दै वाणिज्य इजलाशमा २०६३ देखि २०७० असारसम्म २२ वटा मुद्दा दर्ता भएको छ। अदालतमा हाल पनि १९ थान मुद्दा विचाराधीन छन्। यसअघि तीन मुद्दाको फैसला पुनरावेदनले गरिसकेको छ। 
रजनी गन्धा पान मसलाको विवादमा पुनरावेदनले फैसला गर्दै स्वदेशकै बौद्धिक सम्पत्ति संरक्षण गर्न आवश्यक रहेको निर्णय सुनाएको थियो। पुनरावेदनले नेपाली कम्पनीले कानुनी प्रक्रियाबाट दर्ता गरेको ट्रेडमार्कमा नेपालभित्र विदेशी कम्पनीले दाबी गर्न नपाउने फैसला गरेको थियो। पुनरावेदनको फैसलाले नेपाली उत्पादनले संरक्षण र प्रतिस्पर्धा गर्ने मौका पाउने रजिस्ट्रार निरौलाले बताए।
नेपाली कम्पनी स्वस्तिक फ्रेगनेन्सले 'रजनी गन्धा' नामक ब्रान्डमा पान मसला उत्पादन तथा बिक्री गर्दै आएकोमा भारतको गुहावटीमा दर्ता भएको धर्मपाल–सत्यपाल लिमिटेडको नेपाली प्रतिनिधि विश्वनाथ एन्ड सन्सले सो ट्रेडमार्क खारेज गरी पाऊँ भनी पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो। 
सम्पत्ति संरक्षण, दुरुपयोग र अनाधिकृत प्रयोगका विषयलाई लिएर कारबाहीको माग गर्दै विभिन्न कम्पनी तथा व्यक्ति अदालत आउने गरेको रजिस्ट्रार निरौलाले बताए। यसरी पुनरावेदन आउनेमा सूर्य नेपाल, विशाल केमिकल्स, श्रीकृष्ण प्रोडक्स, जानकी प्रोडक्स, बाम्बिनो एग्रो, क्याडवरी आइल्याड र केही व्यक्ति छन्। आफ्नो सम्पत्तिमा आफ्नै अधिकार हुने दाबी गर्दै पान मसला गुड्खा, स्वस्तिक फुटवेयर, औषधि कम्पनीलगायत पनि अदालत पुगेका छन्। 
उनीहरूले आफ्नो नाममा रहेका वस्तु अनाधिकृत रूपमा चोरी गरिएको दाबी गरेका छन्। पुनरावेदनमा यस्तो माग गर्दै असार महिनामा मात्र छवटा मुद्दा दायर भएको थियो। अघिल्लो आर्थिक वर्षमा दर्ता भएर जिम्मेवारी सरेको र हाल दर्ता भएको गरी अहिले २२ वटा मुद्दा रहेको वाणिज्यको तथ्यांकमा उल्लेख छ। पुनरावेदनका अनुसार सातवटा मुद्दा व्यक्तिगत सम्पत्ति चोरी गरी अनधिकृत रूपमा प्रयोग गरिएकोसम्बन्धी छन्। १२ वटा भने टे्रडमार्कसम्बन्धीका छन्। 
अन्तर्राष्ट्रिय बजारमा प्याटेन्ट अधिकारलाई उद्योगीको आम्दानी बढाउने स्रोतका रूपमा लिइन्छ। नयाँ प्रक्रिया र वस्तु आविष्कारमा आफ्नो अधिकार स्थापित गर्न प्याटेन्टको महत्व रहे पनि नेपालमा यससम्बन्धी स्पष्ट कानुन र यसको सबै सम्पत्तिको अधिकार नियमन गर्ने छुट्टै निकाय नभएकाले यहाँ अपेक्षित सफलता मिलेको छैन। 
उद्योग विभागको तथ्यांकअनुसार नेपालमा गत वर्ष असार मसान्तसम्म ७३ वटामा प्याटेन्ट अधिकार दर्ता भएका थिए। तीमध्ये ३७ स्वदेशी र ३६ विदेशी छन्। 
कम्पनीले आफ्नो नाममा प्याटेन्ट अधिकार दर्ता गरेपछि उक्त वस्तु वा प्रक्रिया सामान्यतया २० वर्षसम्म आफैंले मात्र प्रयोग गर्न पाउँछ। अन्य कम्पनीले आविष्कारकको अनुमतिमा रोयल्टी बुझाएर प्रयोग गर्न सक्ने व्यवस्था छ। विश्व बौद्धिक संगठन (वाइपो) का अनुसार विदेशी कम्पनीले नेपालमा कुनै वस्तुको प्याटेन्ट अधिकार दर्ता गरेपछि अन्य मुलुकका कम्पनीले उक्त वस्तु उत्पादन गर्न पाउँदैनन्। त्यस्तै नेपाली व्यवसायीले प्याटेन्ट अधिकार दर्ता गरेको वस्तु विदेशी कम्पनीले उत्पादन गरेर नेपालमा बिक्री गर्न नपाउने व्यवस्था ऐनमा छ।

प्रकाशित: १६ माघ २०७० २१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App