coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बदला लिन छोरी अपहरणको नाटक

रातिको करिब १०ः३० बजे प्रहरीचौकी मेल्सामको फोनमा घण्टी बज्छ । हतास स्वरमा महिला बोल्छिन्, ‘सर, मेरी छोरीलाई गाउँकै केटाहरुले अपहरण गरे, तुरुन्त खोजतलास गरी दोषीलाई कारबाही गर्नुपर्‍यो ।’ शान्त र सुरक्षित रहेको गाउँबाट एकाएक बालिका हराउँदा प्रहरी चनाखो बन्यो र अपहरण गरेको आरोपित रामे बुढा र लाल सारलाई प्रहरीले सोधपुछ गर्‍यो । बाआमा बालिकालाई खोजेको जस्तो नाटक गरिरहे । भोलिपल्ट दिउँसोसम्म यो नक्कली अपहरण हो भन्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरिसकेको थियो ।

जसको यर्थाथ थाहा पाउन प्रहरीले धम्कीपूर्ण शैली अपनायो र भन्यो, ‘तुरुन्त छोरी सम्पर्कमा ल्याउने भए ल्याउनू नत्र अपहरणको झुटा आरोप लगाएको भन्दै मुद्दा चलाउँछौं ।’ आत्तिएका आफन्तले केहीबेरमै अपहरणमा परेकी भनिएकी बालिकालाई भेटाएको प्रहरीलाई जानकारी गराए । करिब आधा घण्टामा उनीहरुले छोरी सार्वजनिक गरेका थिए ।

यो घटना हुम्लास्थित चंखेली गाउँपालिका–६, चरी गाउँको हो । राजबहादुर शाही र उनकी श्रीमती अस्मिताले गाउँका केटाहरुसँग बदला लिन ९ वर्षीया छोरी अस्मिता अपहरणमा परेको नाटक गरेका थिए । बिहीबार राति घरमा राति सुतिरहेको अवस्थामा गाउँकै दुईजना केटा आएर छोरी ९ वर्षीया अस्मितालाई अपहरण गरेको परिवारले दाबी गर्दै प्रहरीमा हारगुहार गरेको थियो ।

गाउँकै रामे बुढा र लाल सारलाई उनीहरुले छोरी अपहरण गरेको झुठ्ठा आरोप लगाएका थिए । प्रहरीको अनुसन्धानपछि उक्त अपहरण साँच्चिकै नभइ पुरानो व्यक्तिगत रिसिइबी साध्न गरिएको नाटक भएको खुलेको हो । आफू अनाहकमा जेल बसेको बदला राजबहादुर लिन चाहान्थ्ये । अपहरणको आरोप लागेका युवाले आफूलाई फसाउन अपहरणको आरोप लगाएको प्रहरीसँग बताएका थिए । ‘अपहरणको जानकारी आएपछि जिल्ला र स्थानीय प्रहरी खटिएको थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले भने, ‘आरोप लागेकाहरुसँग बयान लिँदा नक्कली अपहरण भएको शंका लागेको थियो ।’ 

यस विषयमा प्रारम्भिक छानबिनमै व्यक्तिगत रिसिइबी साध्न अपहरणको नाटक गरेको खुलेको उनको भनाइ छ । अस्मिताका बुवा राजबहादुर केही वर्ष पहिला ज्यान मार्ने उद्योगको मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका थिए । पछि उनले अदालतबाट सफाइ पाए । आफू अनाहकमा जेलजीवन बिताएको रिस साध्न उनले छोरीको सहारामा अपहरणको नाटक बुनेको प्रहरीले जनाएको छ । अपरहणमा परेकी भनिएकी अस्मितालाई घरपरिवारले आफन्तको घरमा लुकाएर राखेका थिए । 

ओरोपित केटाहरुले भने आफूहरु राजबहादुरको घरसम्म गएको र उनी घरमा नभएपछि फर्किएको बताएका छन् । ‘हामी उनको (राजबहादुर) घरसम्म पुगेका थियौं,’ आरोपित केटाहरुले प्रहरीसमक्ष भनेका छन्, ‘तर राजबहादुर नदेखेपछि हातपात त परको कुरा केही नबोली फर्केका हौं । यो हामीलाई फसाउने झठ्ठा आरोप हो ।’

शनिबार दुवै पक्षको छलफल भएको थियो । अबदेखि यस्ता गल्ती नगर्न र गाउँमा आपसी सद्भाव तथा मेलमिलाप गरेर बस्ने सहमति भएको प्रहरी निरीक्षक भण्डारीले बताए । राजबहादुर गाउँमा स्याउ किसानी हुन ।

रमिताको झुटा तर्क

राति दुई छोरी, एक छोरा र म सँगै सुतेका थियौं । पहिला मलाई हातपात गर्न खोजे । मैले प्रतिकार गरे । पछि उनीहरुले छोरीलाई अपहरण गरेर लिए । अस्मिताका बुवा (राजबहादुर) गाउँमा बिजुलीको काम गर्न जानू भएको थियो । काममा ढिलो हुँदा उहाँ राति घर आउनु भएन । त्यही मौका छोपी युवाहरु घरमा आए । पहिला मलाई हातपात गर्न खोजे । मैले प्रतिकार गरेपछि लछाडपछाड पार्दै छोरीलाई अपहरण गरेर लिए । घरमा रहेको कुकुर र म पछ्याउँदै गएका थियौं । पछि अपहरणमा सहभागी एकजनाको खुट्टा कुकुरले टोक्यो र उनीहरु भागे । 

भाग्दा उनीहरुले छोरीलाई खोलामा बेहोस अवस्थामा छाडिदिएका रहेछन् । अस्मिताको नाकमा चोट लागेको छ भने शरीरमा लगाएका कपडा च्यातिएका थिए । उक्त खोला नजिकै गाउँ छैन घना जंगल मात्र छ । बेहोस हुँदा छोरी घर तथा गाउँमा जान सकिनन् । अस्मितालाई खोज्न प्रहरीसमेत परिचालन भएको थियो । अपहरण गर्न ८/१० जनाको समूहमा केटाहरु आएका थिए । 

(अपहरणमा परेकी भनिएकी अस्मिताकी आमाले शुक्रबार नागरिककर्मी गणेश विशुसँग गरेको कुराकानीको केही अंश)

प्रकाशित: २४ जेष्ठ २०७८ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App