६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पैदल यात्रीलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक एक महिनापछि पक्राउ

गएको बैशाख २० गते राती कोशी राजमार्गको धरान ८ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको थियो। ठक्कर लगत्तै मोटरसाइकल चालक फरार भएका थिए।  

अस्थायी प्रहरी चौकीको अघि नै भएको उक्त दुर्घटना सिसिटिभीमा कैद भएपनि मोटरसाइकल नम्बर प्रष्ट देखिएको थिएन। ठक्कर दिने मोटरसाइकल चालक फरार भएपछि प्रहरीको निक्कै आलोचना भएको थियो। अन्ततः झण्डै एक महिनाको मेहनत पछि प्रहरीले उक्त घटनाको मुख्य आरोपीलाई पक्राउ गर्न सफल भएको छ।  

ईलाका प्रहरी कार्यालय धरानका अनुसार मृतक पैदल यात्री सहलमान राई थिए। उनी मजदुरी गरेर डेरा फर्कदै गर्दा राती करिब साढे ८ बजे मोटरसाइकलले ठक्कर दिएको थियो। उनको उपचारको क्रममा अस्पतालमा निधन भएको थियो। उक्त घटनापछि फरार मोटरसाइकल चालक धरान १५ पुष्पलाल मार्गमा डेरा गरी बस्ने २४ बर्षीय मिङ्मा शेर्पालाई मंगलबार पक्राउ गरिएको धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। उनका अनुसार शेर्पाले चलाउने गरेको मे ७ प ५९९१ नम्बरको मोटरसाइकल पनि धरानबाट नै नियन्त्रणमा लिइएको छ।  

दुर्घटना लगत्तै घटनास्थलमा पुगेका स्थानीले मोटरसाइकल नम्बर टिपे पनि कुन लटको हो भन्ने नखुल्दा खोजी गर्न समय लागेको धरान प्रहरीको भनाइ छ। ‘हामीले ५९९१ नम्बरको मोटरसाइकल यातायात कार्यालय कोशीमा सबै लटको खोजी गर्यौं, यहाँ भेटिएन। अरुतिर पनि समन्वय गर्यौं,’प्रहरी निरीक्षक ओलीले भने,‘यो मेचीमा दर्ता भएपनि धरानमा नै भेटियो ।’ 

प्रकाशित: १९ जेष्ठ २०७८ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App