अहिले समय बदलिएको छ। मान्छेका चेतना सबैभन्दा विकसित अवस्थामा चलिरहेका छन्। लगभग एक सय वर्षअघिको त्यो सामाजिक इतिहासलाई अहिले चेतनाको नयाँ ढंगबाट हेरिनु हुन्न। अनि मात्र यस उपन्यासले देखाउन खोजेको समय, समाज, सत्ता र शक्ति देखिन्छ। अझ निकै सकसले भरिएको र निस्सासिँदै बल्लतल्ल उम्किएको त्यो करिया हो, हाम्रो पुस्ता। अनि हामी करिया समयका जीवित पुस्ता हौँ। त्यही करिया विषयलाई गवाह बनाएर कृष्ण अविरलले पेस गरेका छन्, ‘करिया’ उपन्यास।
‘१९८१ साल मङ्सिर १४ गते शुक्रबारका दिन श्री ३ प्रधानमन्त्री चन्द्रशमशेरले टुँडिखेलको खरीको बोटबाट करियाप्रथा उन्मूलन भएको घोषणा गरेका थिए। त्यसको चार महिनापछि अर्थात् १९८२ वैशाख १ गते करिया उन्मूलन ऐन जारी गरी कसैले पनि करिया राख्न नपाउने गराए। जतिखेर देशभरको जनसङ्ख्या ५५ लाख, ७३ हजार सात सय ८८ थियो। करिया मालिक १५ हजार सात सय १९ जना र करिया ५१ हजार पाँच सय १९ जना थिए। करिया अमलेख गरेबापत तोकिएको रकम करिया मालिकलाई भुक्तानी दिन चन्द्रशमशेरले पशुपतिनाथ मन्दिरको गुठीबाट ३६ लाख ७० हजार रूपैयाँ निकालेका थिए। तर, ‘पायोनियर’ पत्रिकाले १९ अगस्ट १९२६ को अंकमा ५१ हजार सात सय ८२ रूपैयाँ मात्रै खर्च भएको छापिदियो।’ इतिहासका यिनै तथ्यगत कुराहरूको जगमा बसेर लेखिएको यस उपन्यासमा १९७० देखि १९८० सम्मको पाटो समेटिएको छ।
तिहारमा कौडा खेलेका बेलामा बिजुलीकोटका सुबेदार गुणेकाजीले जखनीटारका मुखिया साधुरामसँग ‘दाउ हारेँ भने रोज्जा कमारी दिन्छु’ भनेर वाचा गर्छन्। नभन्दै दाउ पनि हार्छन्। गुणेकाजीले १३ देखि ४५ वर्षसम्मका कमारीहरू देखाउँछन्। ‘हँ... नाबालख छौँडाछौँडी भयेकी यो कमारी रोजेर मैले गल्ती त गरिनँ ?’ मुखिया साधुरामको मन भित्रैदेखि ‘अनायासै’ निचोरिएर आएदेखि उपन्यास सुरु भएको छ।
उपन्यासमा ३७ वटा उपशीर्षकमा कथा संरचित छ। उपन्यासमा छोरी चमेलीसँगको वियोग र छोरो कैलेसँगको विछोडले विक्षिप्त बनेकी छ जमुनी। सबै व्यक्तिको जिन्दगीको यात्रा सोचेजस्तो सरल रेखामै हुन्छ भन्ने हुँदैनरहेछ। उसलाई आँखामा छाएको अन्धकारले आशाका बाटा ठम्याउनै मुस्किल बनाइदिएको छ। कहिले विगतमा भोगेका कहरका, कहिले अनिश्चित वर्तमानका कुरा कल्पेर जमुनीको दिमागले उसैसँग अप्रिय खेल खेलिरहन्छ। पाठकलाई पनि लाग्छ, ‘जमुनीको दिमागमा बालकृष्ण सम र पुष्करशमशेरका बाजे डम्बरशमशेरको ज्ञानेश्वर दरबारको नाटक हलमा जस्तै गरी छिनछिनमै दृश्य र संवाद परिवर्तन भइरहेका छन्।’
उपन्यासमा बद्रिमानकहाँ पुकुली, मेघे, मैती, वसन्ती, दिले आदि करियाका रूपमा रहँदा भोग्नुपरेका कहर कहिसक्नुका छैनन्। उपन्यासमा भीमेले भोग्नुपरेको यातना छ। उसकी आमाको मृत्युको दिनको घटना र गहभरि आँसु पार्दै सुनाएका अन्य कहरहरू छन्। दिलेको माइला मालिक धर्मध्वजले एउटा आँखा फुटाइदिएको छ। सबैभन्दा बूढी कमारी रत्नीको लोग्ने अनाहकमा जेठा मालिक हस्तमानका हातबाट मारिएको छ। अनि उपन्यासमा भीमेकी पत्नी पुकुलीको सात महिने बच्चो तुहिँदाको व्यथा पनि छ। कमाराकमारीले आ–आफूले पाएका दुःख र भोगेका यातनाका कुरा पालैपालो गुणेकाजीलाई सुनाउँदा साँच्चै, एक प्रकारको कचहरीको बयानजस्तै लाग्छ। उपन्यासमा पहिचान हराइसकेको नेपाली इतिहासको क्रन्दन र क्रूद्ध आवाज छन्। उपन्यासकार कृष्ण अविरलले पात्रहरूलाई पीडामा हिरिक हिरिक पारेर बाध्यताको रन्कोमा टोक्सेल, हलेसी, इलामदेखि बराहक्षेत्र, विराटनगर, गौरीगञ्ज, झापा बजार, गरामनी, सिलगढी हुँदै नागरी चिया कमान, आसाम आदि स्थानसम्म पात्रलाई फनफनी घुमाएका छन् घट्टको जाँतो जसरी।
पाठकले पनि करिया अनुभूति बोकेर हिँड्छन् उपन्यासभरि नै। जमुनीको अनिश्चित भविष्य र विचलित भइरहेको मनबाट आँखा हिमनदीझैँ बनिरहेका हुन सक्छन्। अपराधी भमरो फक्रँदो कोपिलाको पवित्र रसमा पल्किरहेँझैँ लोके चमेलीको कलिलो यौवनको रस चुसिरहन्छ। लोकेले धर्मपुत्री चमेलीमाथि गरेको अनपेक्षित र अकल्पनीय व्यवहारको वर्णन जमुनीलाई मात्र होइन, पाठकलाई पनि हरिस अड्याउन हलोमा ठोकिएको पाटीजस्तै भएर घाँटीभित्रै अड्किन्छ। उपन्यास नारी र यौवनको अबोधकालमै टिपिएका फूलहरू, झारिएका कोपिला जीवनको क्रूर र निर्मम पाटाहरूमा केन्द्रित छ। जुन घटना पाठकको मनमा खमारमा गाडेको मियोजस्तै हुन्छन्।
मानव जातिको इतिहास भन्नु नै वर्ग सङ्घर्षको इतिहास हुनाले वर्ग सङ्घर्ष र सामाजिक जीवनका घात–प्रतिघातसँग उपन्यासको नजिकको साइनो हुन्छ। यस करियामा त्यही वर्ग सङ्घर्ष र सामाजिक जीवनको कथा छ। गुमाने माझी, करिया परिवारमा जन्मिई हुर्किएको पुरुष पात्र हो। निरन्तर सङ्घर्ष गर्ने करिया वर्गको ऊ प्रतिनिधि पनि हो। तत्कालीन व्यवस्थाप्रति उसको असन्तुष्टि रहेको देखिन्छ। जातीय छुवाछुत र भेदभावका विरुद्ध लड्ने योद्धाका रूपमा समेत देखिएको छ। उसले मालिकका घरबाट करिया भगाउन मणिरत्नलाई सहयोग गरेर साहसी कार्य गरेको देखिन्छ।
सन्दर्भपात्र र वर्तमान समयमा सामान्य ज्ञानको प्रश्न भएर रहेको कथानकको भूमि यथार्थ भए पनि केही काल्पनिक नै हुन्। पढ्दै जाँदा यस्तो लाग्छ, अविरलको यो उपन्यास करिया मोचनको ऐतिहासिक रेखाङ्कन पनि हो। अर्थात् करिया प्रथाका तथ्यलाई काल्पनिकताको आरनमा राखेर खलाँतीले फुकिएको छ।
इतिहास विगतमा भएका घटनाको सत्यतथ्य विवरण हो। उपन्यास जीवन र जगत्को कलात्मक प्रस्तुतीकरण। इतिहासले प्रायः सत्ताकेन्द्रित राजनीतिक विषयको जानकारी गराउँछ भने उपन्यास सत्ताभन्दा बाहिर समाजसम्म पुगेको हुन्छ। करिया पनि सत्ताभित्रदेखि बाहिरको समाजसम्म पुगेको छ। ऐतिहासिक उपन्यासमा जेजे हुनु पर्छ त्यही छ ‘करिया’ मा। ऐतिहासिक उपन्यासमा विगतमा भएका घटनाको कलात्मक प्रस्तुतीकरण गरिएको हुन्छ। त्यस्ता उपन्यासमा घटना मात्र ऐतिहासिक मात्र भएर हुँदैन। पात्र र परिवेश पनि इतिहाससम्मत हुनुपर्छ।
उपन्यासमा राणाहरूको सत्तारोहण, सत्ताच्युत, उत्थान र पतन, तत्कालीन समाज, संस्कृति र सङ्गठन आदिको विघटन पनि छ। श्री ३ को शक्ति, भीमशमशेरको हैकम, गौँथलीको आरोहअवरोह, दयानिधि र मणिरत्नको विजय–पराजय, गुमानेको पलायन अनि निर्वासन, होमनाथ, अर्जुन, जिम्वाल शङ्करमान र श्री ३ रणोद्दीपको हत्या, रमानाथमाथि सावित्रीको षड्यन्त्र र दाउपेच, भोजराज काफ्ले र सुब्बा कृष्णलाल अधिकारीको झिनाझपटी पनि छन्।
प्रत्येक बिसौनीमा भुइँकुइराले बास बसेको अम्बास, घुर्पाङ, गेलु, जखनीटार, ठोसे खानी आदि देख्छौँ। गाउँमा करिया मोचन चकमकको आगो बुकीफूलको झुल्लामा सल्किएकोभन्दा छिटो फैलिएको पाउँछौँ। तत्कालीन जीवन जगत्का जाज्वल्यमान फलामे यथार्थ र मर्मान्त आत्मप्रताडनालाई शब्दचित्रमा अविरले उतारेका छन्। तर ती कुनै केही सङ्लो, कुनै केही धमिलो छन्।
करिया प्रथामा आधारित उपन्यास भएर नै कथावस्तुमा अतिकति प्रस्तुतिगत रूपान्तरण, थोरै वस्तुस्थापनाको विचलन, शिल्पविन्यासको नवीनता र केही भाषिक काव्यात्मकता करियामा पाइन्छ। भाषिक सरलता, विषयवस्तुको चरम उठान, रोचक शैली र प्रसङ्ग छन्। जसका कारण उपन्यासको कथातत्वको गुरुत्वकार्षणले पाठकलाई तानिरहेको हुन्छ। तर श्री ३ चन्द्रशमशेरको ‘करियाको अमलेख गर्ने बारेमा’ पुस्तक (पृ.८२) मा ‘पायोनियर’ को मिति २९ अगस्ट छ, तर कृष्णले करिया (पृ.३०८) मा १९ अगस्ट उल्लेख गरेका छन्। केही ठाउँमा भने अलिक शीघ्र पाइला पनि चालेका छन्। विस्तारको ठाउँमा अलिक हतार भएकाले कति घटनाहरू त बिजुलीझैँ झिलिकझिलिक आएर जान्छन्।
करियामोचनको श्रेय श्री ३ चन्द्र शमशेरले पाए पनि यो प्रयास गर्ने प्रधानमन्त्री उनी पहिलोचाहिँ होइनन्। वि.सं. १९५८ मा देव शमशेरले प्रधानमन्त्री भएलगत्तै यो घोषणा गर्दा कास्की लमजुङका करियाधनीले ठूलै विद्रोह गरे। त्यसलाई समेत निहुँ बनाई चन्द्र शमशेरसहितका भाइहरूले देव शमशेरमाथि असक्षमको बात लगाएर धनकुटा लघारे। त्यसअघि वि.सं. १८९६ मा काजी रणजङ्ग पाण्डे र चौतारिया पुष्कर शाहको संयुक्त मुख्तियारीकालमा पनि करियामोचनको प्रयास गरेको इतिहास यसै उपन्यासमा छ।
इतिहास एउटा दर्शन हो, जहाँबाट धेरै सिक्न सकिन्छ। तर त्यो इतिहासले सिकायो नमिठो पाठ र हामीले पनि त्यही सिक्यौँ। साँच्चै कृष्णजी, ‘हाम्रो समाजमा करियाप्रथाको अवशेष अझै बाँकी छ। अमेरिकीहरूले उहिले अफ्रिकी देशबाट सिक्रीले बाँधेर दासदासी ल्याउँथे, अहिले डिभीको लोभ देखाएर संसारभरिबाट लगिरहेछन्। लैजाने तरिका मात्र फेरिएको हो। नेपाल प्रहरी, सेनाका उच्च अधिकारीका घरमा अहिले पनि सरकारी वेतन खाने करिया छन्। करिया खानेमा मन्त्री, न्यायाधीश, उच्च सरकारी अधिकारी पनि अछुता छैनन्। शोषणको शैलीमा मात्र फेरिएको छ।’
प्रकाशित: १५ जेष्ठ २०७८ ०४:५५ शनिबार