२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

उद्योगीलाई सुटुक्क खोप, स्थानीयले थाहा पाएपछि स्वास्थ्यकर्मी र उद्योगीको भागाभाग

प्रदेश १ को सरकारले विराटनगरका उद्योगी व्यवसायीलाई सुटुक्क कोरोना विरुद्धको दोस्रो डोज खोप दिएको छ। विराटनगरस्थित सिटी सिनेमा हलमा शुक्रबार विराटनगरका उद्योगी व्यवसायीलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले  कोरोना विरुद्धको दोस्रो डोज खोप दिने व्यवस्था गरेको हो।  

प्रदेश १ का विपक्षी दलहरूले प्रदेश सरकारले पहुँचका आधारमा सुकुक्क आसेपासे र ठूला उद्योगी व्यवसायीलाई खोप दिएको आरोप लगाइरहेका बेला शुक्रबार विराटनगरस्थित सिटी सिनेमा हलमा खोप लगाउने गरेको पुष्टि भएको हो। सिटी सिनेमा हलमा उद्योगी व्यवसायीको भीड देखेर प्रवेश गरेका स्थानीयले सरकारले सुटुक्क उद्योगी व्यवसायीलाई खोप दिइरहेको देखेपछि होहल्ला गरेका थिए।  

खोप लगाएको हल्ला फैलिएपछि  विराटनगरका स्थानीय पनि खोप लगाउन सिनेमा हलको प्राङ्गणमा पुगेका थिए। खोपको माग गर्दै स्थानीय पुगेपछि खोप लगाउन भेला भएका उद्योगी व्यवसायी र स्वास्थ्यकर्मीको भागागभाग भएको थियो। स्थानीयले कोभिड खोप लगाउन अवरोध गरेपछि प्रहरीले सुरक्षा दिएर खोप दिन पुगेका स्वास्थकर्मी, खोप बोकेको गाडी र उद्योगी व्यवसायीलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको थियो। उद्योगीलाई सुटुक्क खोप लगाएको स्थानीयले सूचना दिएपछि आफूहरूले खोप लगाउन अवरोध गरेको ताजिम अन्सारीले बताए। उनले भने ‘प्रदेश सरकारले पहुँच वालालाई मात्रै खोप दिन थालेपछि हामीले अबरोध गरेका हौं।’  

मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले सिनेमा हलभित्र  होहल्ला भएपछि मात्रै प्रहरीलाई खोप लगाइएकोबारे जानकारी भएको बताए। ‘हामीलाई पनि खोपका बारेमा जानकारी थिएन’ खड्काले भने‘ सूचना आएपछि प्रहरी टोली मद्दतका लागि पुगेको हो।’

विपक्षी दल नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले केही दिन पहिले पत्रकार सम्मेलन गरी  प्रदेश सरकारले पहुँचका आधारमा कोरोना विरुद्धको खेप लगाएर खोपको दुरुपयोग गरिरहेको बताएका थिए।

शुक्रबार विराटनगरका उद्योगी व्यवसायीलाई सुटुक्क खोप लगाएको स्थानीयले रंगेहात पक्राउ गरेपछि प्रदेश सरकारको जनताप्रतिको व्यवहार उदांगिएको कार्कीले बताए। कार्कीका अनुसार प्रदेश सरकारले तीन ठाउँमा कोरोना विरुद्धको खोप आफ्नो पार्टीका नेताहरू, आफू निकटका वकिलहरू र विराटनगरका उद्योगी व्यापारीहरूलाई दिने व्यवस्था गरेको थियो। प्रदेश सरकारले चुनावका लागि उद्योगी व्यवसायी रिझाउन सुटुक्क खोप बाँडिरहेको सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ।

प्रकाशित: १४ जेष्ठ २०७८ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App