२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटको वनमा बढ्यो तस्करी र चोरी सिकारी

कोरोना संक्रमणले जिल्लाभर निषेधाज्ञा लागू रहेको समयमा रौतहटमा वन तस्कर र चोरी शिकार गर्नेहरुलाई सुनौलो अवसर भएको छ।

जिल्लाको वनमा काठ तस्करी र चोरी शिकारी व्यापक मात्रामा बढेको गुनासो सबैतिरबाट आएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले गत वैशाख २१ देखि सुरु गरेको निषेधाज्ञा जेठ १३ सम्म पुर्याएको छ।

यस बीचमा सर्वसाधारणलाई घरबाट निस्कन प्रतिबन्ध लागेको तर वन तस्करहरु र चोरी शिकार गर्नेहरुले वनबाट निकै फाइदा लिएको स्थानीयले बताए।

निषेधाज्ञाको मौका छोपी काठ तस्करहरुले रौतहटको चन्द्रपुर, गुजरा, वृन्दावन नगरपालिका क्षेत्रमा पर्ने वनमा व्यापक तस्करी गरेका छन्। अहिले राजनैतिक अवस्था पनि तरल रहेको समय भएकोले दिउँसै र राति पनि काठ तस्करी गरेका छन्। मानिसहरु कम हिँड्ने बाटो भएर रातारात काठ ओसारिएको गुजराका स्थानीयबासीको भनाइ छ।

यसैगरी चोरी शिकारी गर्नेहरुले रौतहटको चन्द्रपुर नगरपालिकास्थित लमाहा, पहाडी फेदी, गुजराको मैढास्थित वन, वृन्दावनको वन क्षेत्रबाट नीलगाई, बँदेल, हरिण, मृग तथा दुम्सीलगायतका विभिन्न वन्यजन्तु र वनकुखुरा, लुइँचे, कालिजसहितका विभिन्न वनचरोको शिकार गर्ने गररेका छन्।

शिकारीहरु दिनभरि जंगलमै बिताउने गरेको र कतिपय शिकारी समूह बनाएर राति पनि वनक्षेत्रमा जाने गरेको स्थानीयको भनाइ छ।जिल्लाको वनमा काठ तस्करी तथा वन्यजन्तुको चोरी शिकारी बढेको व्यापक गुनासो आएपछि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले केही सक्रियता बढाएको छ। वन कर्मचारीकै मिलोमतोमा तस्करी र चोरी शिकारी बढेको आरोप स्थानीयको रहेको छ।

प्रकाशित: ११ जेष्ठ २०७८ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App