८ वैशाख २०८१ शनिबार
समाज

धौलागिरी क्षेत्रबाट सेनाले बटुल्यो पाँच हजार किलो फोहर

धौलागिरी हिमालबाट संकलन गरिएको फोहोर धवलागिरी गाउँपालिका–७ ताकममा हस्तान्तरण गरिदैं । तस्विर सौजन्य: गोपाल आचार्य

संसारको सातौं अग्लो धौलागिरी हिमालको आरोहणका क्रममा आरोहीले गरेको फोहरको डंगुर नेपाली सेनाको एक टोलीले संकलन गरेको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित ८ हजार १६७ मिटर अग्लो हिमालको विभिन्न क्याम्पका साथै पैदलमामार्गमा थुप्रिएको फोहर नेपाली सेनाले सुरु गरेको ‘सफा हिमाल अभियान’ का क्रममा संकलन गरिएको हो ।

अभियान अन्तर्गत ५ हजार २० किलो फोहर मध्ये कुहिनेखालको ३ सय किलो गाउँपालिका र नकुहिने ४ हजार ७२० किलो फोहर ‘रिसाइकल’ गरी व्यवस्थापन गर्ने अवनी भेन्चर्सलाई बुझाइएको नेपाली सेनाले जनाएको छ । सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले फोहर हस्तान्तरण गरेका थिए ।  

विश्वभरका पर्वतरोहीको आर्कषण मानिएको धौलागिरीमा फोहोरको थुप्रो व्यवस्थापनमा समस्या भइरहेको अवस्थामा नेपाली सेनाको एक टोली हिमालतर्फ प्रस्थान गरेको थियो । हिमालबाट संकलन गरिएको फोहर प्रभु हेलिकप्टरबाट धवलागिरी गाउँपालिका–७ ताकममा ल्याएर गाउँपालिकालाई बुझाइएको स्थानीय युवा गोपाल आचार्यले बताए । 

सफा हिमाल अभियान अन्तर्गत विभिन्न ६ वटा हिमालहरुको सफाई कार्यक्रम जेठ १० गतेसम्म रहेकोमा फोहरको उपलब्धता तथा कार्यप्रगतिलाई मनन गरेर धौलागिरी तथा आमादब्लम हिमालको सफाई जेठ ३ गते सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ ।  

फोहोर संकलन अभियानका क्रममा धौलागिरी बेसक्याम्पदेखि दुईसय मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्ट सहितका दुईवटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी इटाली बेस क्याम्पतर्फ ९ एनएसीआर कलसाइनको हेलिकप्टरको अवशेषसमेत फेला परेको थियो । सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टिको हेलिकप्टर हिमाली भेगमा भेटिएको भएपनि मृतकको पहिचान हुन सकेको थिएन् । दुईवटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाका लागि ताकम प्रहरी चौकीमार्फत जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाइएको छ ।  

यता आरोहणमा जाने पर्यटकलाई समेत फोहोर नगर्न र फोहोर संकलन गरी ल्याउन स्थानीयले अनुरोध गर्ने गरेपनि आरोहण पुरा भएपछि अक्सिजन सिलिन्डर सहित आवश्यक सामान समेत फर्किने बेलामा छोडेर आउने गरेको स्थानीय पर्यटन ब्यवसायीको भनाई छ । 

प्रकाशित: ८ जेष्ठ २०७८ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App