२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वाह! सलाम छ यी युवालाई, जसले जुटाइदिए ५५० थान अक्सिजन सिलिन्डर

कोरोना महामारीको दोस्रो लहरले देशमा उच्च जोखिम बढाएसँगै अक्सिजन ग्याँस सिलिन्डरको हाहाकार चौतर्फी भइरहेको छ। अक्सिजन ग्याँस सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यान समेत गुमाउनुपरेको अवस्थामा देशकै युवाहरूहरूले निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण गर्न सफल भएका छन्।

यी युवाहरूको समूहले ग्याँस जुटाएका मात्र छैनन्। यिनीहरूले चीनबाट ग्याँस आयात गराएर आवश्यक परेको स्थानमा सिलिन्डर आफ्नै पहलमा ठाउँठाउँमा पुर्‍याएर राज्यप्रतिको दायित्व समेत पूरा गरेका छन्।

काठमाडौंका सुजन गुरुङ र रिजेसराज कर्निकारले केही दिनअघि मात्र समाजिक सञ्जाल प्रयोग गरी केही साथीहरूको स्वयं सेवक समूह बनाएर वीर अस्पतालको नयाँ भवनलाई कोरोना अवार्ड बनाउन बेड मिलाउने, स्लाइनपानीको स्ट्यान्ट व्यवस्थान, सरसफाइ लगायतका काममा सघाएर कोरोना महामारी नियन्त्रमा सहयोगी हात बनेका थिए। सोही हातले बुधबार चीनबाट ५ सय ५० थान अक्सिजन सिलिन्डर मगाउन सफल भएका छन् ।  

बुधबार ग्याँस सिलिन्डर काठमाडौं पुग्नसाथ सुजन, सिजेस र विधानलाई खुशीको सीमा नै थिएन । आफू नेपाली नागरिक भएको र राज्यलाई आवश्यक परेको समयमा आफूले केही सहयोग गर्न पाएकोमा गर्व महसुस भएको सुदन गुरुङले सुनाए । निःस्वार्थ भावनाले रातदिन कोरोना नियन्त्रणमा खटिरहेका यी युवाहरू बुधबार ग्याँस काठमाडौं आउनसाथ सोही दिन सुदूर पश्चिममा २ सय ७० थान, कर्णालीमा सय थान र एपिएफलाई (सशस्त्र प्रहरी) सय थान वितरण समेत गरिसकेका छन् । बाँकी रहेको सिलिन्डर आवश्यक पर्ने स्थानमा वितरण गरिने तयारीमा रहेको स्वयंसेवक विधान श्रेष्ठले बताए। गर्न चाहना भए कुनै पनि काम असम्भव नभएको उनले गर्वसाथ सुनाए । यी युवाहरुले राज्यलाई आवश्यक पर्दा निस्वार्थ भावनाले सेवा गर्ने लक्ष्यसहित हामी नेपाल भन्ने संस्थाको नामकरण गरी संस्थागत भएका छन् ।

युवाहरू यस्तो प्रशंसनीय कार्यले सधैं सरकारले केही गरेन भनेर हात बाँधेर बस्नेहरूलाई राज्यको नागरिकको हैसियतले आफूले पनि योगदान गर्नुपर्ने सन्देश दिएको छ। युवाहरूको सानो प्रयासलाई सार्थक बनाउन शंकर गु्रपले समेत साथ दिएको सुदन बताउँछन्। ‘देशमा कोरोना महामारी बढ्दै छ । जनता ग्याँस सिलिन्डर नपाएर मर्नुपर्ने अवस्था आएपछि हामी युवाहरू मिलेर देशका व्यापारी घरनासँग सहयोग माग्यौं । किनभने हामीसँग सहयोग गर्ने आँट छ। तर, पैसा छैन,’ सुदनले नागरिकसँग अनुभव सुनाए, ‘तर हामीलाई आफ्ना नागरिकलाई जसरी पनि सहयोग गर्नु छ । हामीलाई शंकर ग्रुप र इनफिनि हाेल्डिङले ग्याँस किन्न आर्थिक सहयोग गर्ने निश्चित भएपछि हामी ढुवानीका लागि सरकारसँग सहयोग माग्यौं ।’ उनले थपे, ‘मेरै नेतृत्वमा केही युवा साथी मिलेर हामी प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेटेर लिखित निवेदन लिएर ढुवानी गराइदिन सहयोग माग्यौ र प्रधानमन्त्रीज्यूले तुरुन्त नेपाल वायुसेवालाई निर्देशन दिनुभयो । यसका साथै लाग्ने कर पनि फ्रि गराइदिनुभयो। यसरी हामीले महामारीमा अक्सिजन ग्याँसको सिलिन्डर जुटायौं। हामी नेपाली नागरिक भएको कर्तव्य निर्वा गर्नह पाउँदा गर्व लागेको छ ।’

कीर्तिपुरका विधान श्रेष्ठ पेसाले मेकानिकल इन्जिनियर हुन् । हाल अफिस पनि बिदा लिएर आफू कोरोना महामारी नियन्त्रणमा केही योगदान गर्न पाउँदा निकै हर्षित भएको सुनाए । ‘हामी दुईचार जनाका साथीहरूको सहयोगमा सुरु गरेको स्वयंसेवा आज हामीसँग २ सय ५० भन्दा बढी युवा साथीहरू राज्यको सेवामा जुटेर स्वयंसेवा गरिरहनुभएको छ,’२४ वर्षीय विधानले नागरिकसँग अनुभव सुनाए ‘परिवारलाई कन्भिस गराएर हामी देशको सेवामा जुटका हौं। सबैको आमाबुवाले आफ्नो सन्तानको चिन्ता लिनु स्वभाविक नै हो। तर, आज हाम्रा अभिभावकहरू हाम्रो कामको प्रसंसा गर्दा निकै खुशी लाग्छ ।’

२५ वर्षीय रिजेसराज कर्निकारले आफ्ना आमाबुवालाई राम्ररी समझाइबुझाइ गरेर उनले आफू सुरक्षित रहेर सबै काम गरिरहेको देखाइदिएपछि उनले परिवारको पनि सहयोग पाउँदा निकै खुशी लागेको अनुभव सुनए। ‘हामी रातदिन कोरोना महामारी घटाउन कस्तो र के सहयोग गर्न सकिनेबारे कार्यमै खटिरहेका छौं,’ रिजेसले भने ‘कुन ठाउँमा कस्तो सहयोगको आवश्यक छ ती सबैको तथ्यांक समेत हामीले संकलन गरी तथ्यपरक र आवश्यक परेको सामग्री आवश्यक परेकै ठाउँमा व्यवस्थापन गर्ने काममा जुटेका छौं ।’ उनले थपे, ‘समागन पठाएपछि त्यसको प्रयोग भएनभएको समेत हामीले अनुमगन र मूल्यांकन पनि स्थानीय युवा स्वयंसेवकहरूबाटै गराउने गरेका छौं । अब हामी घर बसेर होइन स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाएर देशको सेवामा खटिनुपर्ने दिन आएको छ ।’

प्रकाशित: ७ जेष्ठ २०७८ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App