६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मुस्ताङमा ३९ सय र मनाङमा ३५ सय मिटरसम्म उक्लियो कोरोना

हिमाली जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ । अहिले लोमान्थाङको छोसेरसम्म कोरोना संक्रमण उक्लेको छ । फाइल तस्बिरः नागरिक

गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ, जहाँको जनसंख्या निकै नै कम छ । जनघनत्व मात्र कम होईन की एउटा बस्तीबाट अर्काे बस्तीमा पुग्न पनि एकदिनसम्म लाग्छ । निकै नै पातलो हिडडुल र जिल्ला प्रवेशको मुख्य नाका पनि एउटा–एउटा मात्र छन् । मुस्ताङ प्रवेशमा म्याग्दी हुँदै जानुपर्छ भने मनाङका लागि लम्जुङको नाका प्रयोग गर्नुपर्छ ।  

दुवै हिमाली जिल्ला पर्यटकीय क्षेत्र हुन् । तर, अहिले कोरोना त्रासले पर्यटकको आउजाउ पनि उत्तिसारो थिएन । निकै नै कम आउजाउ हुने भएपनि दुवै हिमाली जिल्लाका उच्च भेगसम्म कोरोनाको दोश्रो लहर उक्लेको छ । मनाङमा समुन्द्री सतहदेखि ३५ सय मिटर र मुस्ताङमा ३९ सय मिटर उचाईसम्म संक्रमण उक्लेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् ।  

समुन्द्री सतहदेखि ३५ सय मिटर उचाईमा पर्छ मनाङको खाङसार । अन्नपूर्ण फेरो पदमार्गमा पर्ने खाङसारसम्म अहिले कोरोना भाइरस संक्रमण उक्लेको छ । घुम्न गएका विदेशी पर्यटक सहित स्थानीयबासि संक्रमित भएका छन् । अहिलेसम्म मनाङमा कोरोना संक्रमणले कसैको ज्यान नगएपनि संक्रमण भने उकालो लाग्ने क्रममा रहेको छ ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यका अनुसार अहिले मनाङमा ५२ जना सक्रिय संक्रमित छन् । ती मध्ये दुईजना विदेशी पर्यटक पनि छन् । चारवटा स्थानीय तह रहेको मनाङमा यतिबेला नार्फु र नासोँ गाउँपालिकामा मात्र संक्रमित छैनन । अरु दुईवटा स्थानीय तह चामे र मनाङ ङिस्याङ गाउँपालिकामा मात्र संक्रमित छन् ।

‘अन्यत्र संक्रमण बढिरहँदा यहाँ वेपरवाह आउजाउ भयो । धेरथोर पर्यटक पनि भित्रिए । जिल्लाबासीकै काठमाडौं र पोखरासम्मको ओहोरदोहोर पनि निकै भयो,’ आचार्यले भने, ‘वैशाखको पहिलोसातादेखि आउजाउ रोक्न सकेको भए यो अवस्था आउने थिएन ।’ मनाङमा अहिले निषेधाज्ञा नभएपनि प्रवेशको मुल नाका लमजुङमा निषेधाज्ञा भएपछि मनाङको आउजाउ रोकिएको उनले बताए ।  

आचार्यका अनुसार मनाङका धेरै बासिन्दाको दोहोरो बसाई छ । मनाङ र काठमाडौंमा बसाई हुँदा आउजाउ नियमित हुँदा संक्रमण भित्रिन सहयोग पुगेको उनले बताए । ‘मनाङ–काठमाडौं दोहोरो बसाई छ । आउजाउ पनि निरन्तर भयो । बल्ल अहिले मनाङ उक्लिन पाएका छैनन,’ आचार्यले भने, ‘पर्यटकीय गतिविधि नियमित चल्नु र आउजाउ नियमित भईरहँदा जिल्लाको उच्च भेगसम्म संक्रमण उक्लेको हो ।’  

संक्रमण बढेको भन्दै अरुतिर निषेधाज्ञा लागिरहँदा मनाङमा भने पर्यटकीय गतिविधि चलिरहेका थिए । त्यही क्रममा भित्रिएका दुईजना विदेशी पर्यटक पनि संक्रमित भएका छन् । नेदरल्याण्डका एकजना पुरुष र जर्मनकी एकजना महिला संक्रमित भएको उनले बताए । नेदरल्याण्डका ती पुरुष माथिल्लो मनाङमा आइसोलेसनमा छन् भने जर्मनी महिला भने सम्पर्कमा छैनिन् । जिल्लाका संक्रमितमध्ये ३९ जना होम आइसोलेसनमा छन् भने बाँकी संस्थागत आइसोलेसनमा बसेको आचार्यले बताए ।

‘होम आइसोलेसनमा बसेपनि उनीहरु स्वास्थ्यकर्मीको निगरानीमै छन,’ उनले भने । जिल्लाभित्रका विभिन्न सरकारी तथा निजी कार्यालयमा कार्यरत कर्मचारीको आउजाउले पनि संक्रमण भिœयाएको उनले बताए । गाउँ भित्रिएका संक्रमित वेपरवाह हिडडुल गर्दा पनि संक्रमण बढ्दो रहेको उनले बताए । कन्ट्याक्ट ट्रेसिङमै नपरेका सर्वसाधारण पनि बिरामी भएको उनले सुनाए । केही बिरामीलाई थप उपचारका लागि हेलिकप्टरबाट पोखरासम्म पठाएको पनि आचार्यले जानकारी दिए ।  

अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि कोरोनाको दोश्रो लहरको संक्रमण मनाङमा भन्दा पनि माथि उक्लेको छ । मुस्ताङ लोमान्थाङको छोसेरसम्म संक्रमण उक्लिसकेको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । संक्रमित फेला परेको छोसेरको यो गाउँ झन्डै ३९०० मिटर उचाईमा पर्ने उनले बताए । मुस्ताङमा अहिलेसम्म चारजना संक्रमितको कोरोनाबाटै ज्यान गएको छ । वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाका एक, घरपझोङका २ र थासाङ गाउँपालिकाका एकजनाको मृत्यु भएको भण्डारीले बताए ।  

अहिले पनि मुस्ताङमा १३५ जना सक्रिय संक्रमित रहेको उनले बताए । ‘जति उच्च भेगमा संक्रमण फैलिन्छ, उत्ति नै हामीलाई व्यवस्थापनमा अप्ठेरो हुन्छ,’ उनले भने । उनका अनुसार दोश्रो लहरपछि मात्र १९ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । केही हेलिकप्टर त केही गाडीमा पोखरा ल्याइएको थियो । भण्डारीका अनुुसार संस्थागत आइसोलेसनमा १३ र होम आइसोलेसनमा १०९ जना संक्रमित छन् ।  

‘मुस्ताङ सहित पोखरा र काठमाडौंमा घर हुनेको केहीदिन अघिसम्म पनि निकै नै आउजाउ भयो । त्यसले गर्दा संक्रमण भित्रिन सहयोग पुगेको हो,’ उनले भने, ‘त्यसबाहेक उपल्लो भेगसम्म उक्लिनुमा सडक र पुलपुलेसा निर्माणका कामदारको आउजाउ पनि कारक हो ।’ उच्चभेगसम्म संक्रमण फैलिँदा व्यवस्थापनमा चुनौती थपिएको उनले सुनाए । ‘न अक्सिजनको सहज पहुँच छ । न गाडी नै चल्छन, भनेको बेला पोखरासम्म आउजाउ गर्न पनि सकिन्न,’ उनले भने, ‘उच्च भेगसम्म सहज पहुँच नै छैन । हिमाली जिल्ला भएकोले सबैतिर अप्ठेरो छ ।’

गोरखाको उपल्लो भेगमा परीक्षण नै भएको छैन 

अर्काे जिल्ला गोरखाको तिब्बतसँग जोडिएको उपल्लो भेगमा भने अहिलेसम्म कोही संक्रमित पुष्टि भएका छैनन् । गोरखाको धार्चे गाउँपालिकाको २५०० मिटर उचाईसम्म संक्रमित फेला परेका छन् । तिब्बतसँग जोडिएको एकमात्र चुमनुब्रि गाउँपालिकामा भने अहिलेसम्म संक्रमित फेला परेका छैनन् । चुमनुब्री ३ हजार मिटर भन्दा माथि छ ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार अहिलेसम्म गाउँपालिकाका कसैको पनि पीसीआर परीक्षण गरिएको छैन । तर, गाउँमा रुघाखोकीका केही बिरामी भएपनि उनीहरुको परीक्षण नगरेकोले कोरोना नै भन्ने यकिन नभएको उनले बताए ।

प्रकाशित: ६ जेष्ठ २०७८ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App