८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो।

कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए। उनका अनुसार आज राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो। 'औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ', वादेले भने।

नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत उल्लेख गरिएको छ। साथै सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइनेछ। जिल्ला प्रशासन कार्यालयले पनि आइतबारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो।

कारोना सङ्क्रमणको दोस्रो लहर नगरमा हाल जिल्लामा रहेका कूल कोरोना सङ्क्रमितमध्ये बनेपामा ३५ दशमलव ४ प्रतिशत अर्थात् ६९७ मा सङ्क्रमण भएको छ। नगरमा हालसम्म १० को मृत्यु भएको छ। पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोकमा दैनिक डेढ सयभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन्। जिल्लामा पछिल्लो २४ घण्टामा १७८, अघिल्लो दिन १९८ तथा शुक्रबार १५१ मा कोरोना सङ्क्रमण पुष्टि भयो। दैनिक ३० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्याङ्कले देखाएको छ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसीसीएमसी०का अनुसार हाल कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता जिल्लामा एक हजार ९८९ सक्रिय सङ्क्रमित रहेका छन्। सङ्क्रमितमध्ये धुलिखेलमा ४१४, पनौतीमा ३९९, पाँचखालमा १२४, नमोबुद्धमा ८१, मण्डनदेउपुरमा ११० तथा रोशी गाउँपालिकामा ३५, चौँरीदेउरालीमा २६, तेमालमा ३०, भुम्लुमा ३०, खानीखोलामा २२, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा १६ सक्रिय सङ्क्रमित रहेका छन्। कूल सङ्क्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८९१ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन्।  हालसम्म जिल्लाका ८५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। रासस

प्रकाशित: ४ जेष्ठ २०७८ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App