७ वैशाख २०८१ शुक्रबार
समाज

गण्डकी प्रदेशमा ५८ सय सिलिण्डर, खपत दैनिक ८ सय ५० मात्र

प्रदेशमा दिनमा झन्डै १५ सय सिलिण्डर मात्र उत्पादन क्षमता

कोरोनाको दोश्रो लहरसँगै ठुला र सुविधासम्पन्न शहरका अस्पतालमा अक्सिजन र शैयाको हाहाकार छ । ती शहरका अस्पतालमा सबैभन्दा अभाव अक्सिजन सिलिण्डरको देखिएको छ । सबैतिर सिलिण्डर अभाव भईरहँदा गण्डकी प्रदेशले भने प्रदेशमा हाल प्रयोगमा ल्याउनसक्ने अवस्थाका सिलिण्डरको तथ्यांक निकालेको छ ।  

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सोमबारसम्म गण्डकीप्रदेशमा सबैगरि ५८०१ वटा सिलिण्डर रहेका छन् । ती सिलिण्डर प्रदेशका जिल्लामा आवश्यक अनुसार प्रयोगमा ल्याउन सकिने निर्देशनालयले बताएको छ । स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार हाल दिनमा प्रदेशभित्र दैनिक ८५० सिलिण्डर मात्र अक्सिजन खपत भईरहेको छ ।

‘अक्सिजन सिलिण्डरको खपत दैनिक रुपमा तलमाथि हुनसक्छ । तर, अहिलेको अवस्थमा अभाव छैन,’ शर्माले भने, ‘अहिलेको अवस्थामा माग अनुसार अक्सिजन आपूर्ति गर्न कुनै अप्ठेरो छैन ।’ हालका लागि खपत कम र प्रयाप्त सिलिण्डर रहेपनि अक्सिजन उत्पादन क्षमता भने तत्काल बढाउन सकिने अवस्था छैन । अक्सिजन उत्पादन प्लान्ट तत्काल थप्न नसकिने हुँदा महामारी बढ्दै गएमा माग अनुसार पु¥याउन चुनौती थपिने शर्माको भनाई छ ।  

शर्माका अनुसार अहिले प्रदेशमा सबैगरि दिनमा १४८९ सिलिण्डर मात्र अक्सिजन उत्पादन गर्न सकिन्छ । प्रदेशका विभिन्न निजी तथा सरकारी अस्पतालका आफ्नै प्लान्ट र पोखरामा सञ्चालित दुईवटा अक्सिजन प्लान्टको क्षमता अनुसार अहिले दिनमा १४८९ सिलिण्डर रहेपनि यो भन्दा बढी माग भएमा पु¥याउन कठिन हुने शर्माले बताए ।  

‘हालका लागि सन्तुलित अवस्थामा काम चलेको छ । तर, माग बढ्दै गएमा उत्पादन क्षमता कमजोर हुने देखिन्छ । तत्काललाई सिलिण्डर अभावको गर्जाे टरेको छ,’ उनले भने । उनका अनुसार जिल्लाका सरकारी अस्पतालमध्ये हिमाली जिल्ला मनाङ र तनहुँका जिल्ला अस्प्तालमा मात्र प्लान्ट स्थापना भएको छैन । लम्जुङ, नवलपुर र गोरखाका अस्पतालमा भने प्लान्ट स्थापना भईसकेको तर उत्पादन सुरु भएको छैन । 

मुस्ताङ, पर्वत, स्याङजा, बागलुङ र म्याग्दीमा भने प्लान्ट स्थापना गरेर उत्पादन भईरहेको छ । त्यसबाहेक कास्कीका ठुला निजी अस्पतालमा पनि आफ्नै प्लान्टबाट उत्पादन भईरहेको छ । प्रदेशको सबैभन्दा ठुलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने अहिलेसम्म आफ्नै अक्सिजन प्लान्ट छैन । जिल्लाका अस्पतालमध्ये मुस्ताङले दिनमा १५, पर्वतले ३०, स्याङजाले १०, बागलुङले ३० र म्याग्दीले १८ सिलिण्डर मात्र उत्पादन दिन सक्छन् ।  

पोखरामा संचालित मातृशिशु अस्पतालले दिनमा १०, फेवासिटीले ३०, मणिपालले ४०, गण्डकी मेडिकल कलेजले २२ र फिस्टेल अस्पतालले ३० सिलिण्डर मात्र उत्पादन दिन सक्ने शर्माले जानकारी दिए । पोखरा अक्सिजन प्लान्टले प्रतिघण्टा ३० सिलिन्डरको दरले २४ सै घण्टा संचालन गर्दा दिनमा ७२० र कालिगण्डकी अक्सिजनले प्रतिघण्टा २० वटाका दरले दिनमा ४८० सिलिण्डर मात्र भर्न सक्छन् । प्रदेशमा सबैभन्दा बढी २५ सय सिलिण्डर कालिगण्डकी अक्सिजनसँग छन् । त्यस्तै पोखरा अक्सिजनसँग १५ सय सिलिण्डर छन् । झन्डै ६ सय सिलिण्डर अहिले अस्पताल बाहिर प्रयोगमा रहेको भएपनि आवश्यक पर्दा अस्पतालमा उपयोग गर्न सकिने गरि ल्याउन मिल्ने पनि शर्माले बताए ।  

निर्देशनालयका अनुसार अहिले सबैभन्दा बढी अक्सिजन पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी)मा खपत भईरहेको छ । जिएमसीमा अहिले दिनमा झण्डै २४० सिलिण्डर अक्सिजन खपत भईरहेको छ । त्यसपछि क्षेत्रीय सहितका अस्पतालमा दिनमा २१५ हाराहारीमा सिलिण्डर खपत भईरहेको छ । बागलुङको धौलागिरी अञ्चल अस्पतालमा दिनमा एकसय हाराहारीमा खपत भईरहेको छ । ‘पोखरा बाहिरका अस्पताल मध्ये सबैभन्दा बढी बागलुङको धौलागिरी अञ्चल अस्पतालमा खपत भईरहेको छ । हाम्रो अहिलेको प्राथमिकता बागलुङलाई छ,’ शर्माले भने ।

शर्माले तत्कालका लागि अक्सिजनको अभाव नभएपनि अवस्था यो भन्दा थप बिग्रदै गएमा अक्सिजन भर्न नसकेर अभाव हुनसक्ने डर रहेको बताए । ‘सायद अब सिलिण्डर अभाव नहोला, बाहिरबाट पनि सिलिण्डर आईरहेका छन ् तर, तत्काल प्लान्ट राख्ने र उत्पादन थालिहाल्ने अवस्था छैन,’ उनले भने, ‘प्लान्ट थप्न सहज छैन । यो तत्कालको काम पनि होईन ।’

पोखराका प्लान्टले प्रदेशका लागि मात्र नभई बाहिरका लागि पनि अक्सिजन भरेर पठाउँछन् । हालको अवस्थामा पोखरालाई सहज हुँदासम्म बाहिर पठाउन उत्तिसारो अप्ठेरो छैन । तर, प्रदेशभित्रै माग बढेमा भने क्षमता अनुसार उत्पादन गर्दा पनि पु¥याउन सकिने अवस्था नरहेको प्लान्टका संचालक बताउँछन् । पोखरा अक्सिजनका अध्यक्ष डा. प्रदीप घिमिरे भन्छन, ‘केहीदिन अघि ६ वटा ट्रकमा अक्सिजनका भरि सिलिण्डर काठमाडौं पठायौं । अवस्था सहज भएमा त खासै अप्ठेरो छैन । तर, योभन्दा अप्ठेरो अवस्था आएमा सिलिण्डर भन्दा प्लान्टको उत्पादन अपुग हुने सम्भावना छ ।’ बाहिरबाट पनि अक्सिजन लिन आउने भएपछि पु¥याउन हम्मेहम्मे हुने उनले बताए ।

जिएमसीकी मेडिकल सुपरिन्टेन्डेन्ट डा टुमाया घलेले पनि अक्सिजनको सिलिण्डर अभाव भन्दा पनि कहिलेकाँही भर्नका लागि पालो कुनुपर्ने अवस्था रहेको बताईन । पोखराका दुुइवटा प्लान्टले क्षमता अनुसार उत्पादन गरेको भएपनि कहिलेकाँही पालो कुनुपर्ने अवस्था रहँदा जोखिम बढ्न थालेको उनले बताईन । ‘कहिलेकाँही प्लान्टले बाहिरका लागि पनि अक्सिजन भरिदिनुपर्छ । केहीदिन अघि सयौं सिलिण्डरमा अक्सिजन भरेर राजधानी पठाउँदा यहाँ पालो पाउन समय लाग्यो,’ घलेले भनिन, ‘सबैतिर अभाव हुँदै जाँदा यहाँका दुइवटा प्लान्टलाई दवाव पर्छ ।’ तत्काल क्ष्मता बढाउन सक्ने अवस्था नहुँदा अब सिलिण्डर अभाव भन्दा पनि माग अनुसार उत्पादन गर्न नसक्ने पो हुन की भन्ने त्रास रहेको उनले सुनाईन ।

प्रकाशित: ३ जेष्ठ २०७८ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App