खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाल टेलीकमको टावर विस्तार गरिएको छ। दुरदराजमा बसोबास गर्ने सेवाग्राहीलाई सञ्चारको पहुँचमा पुर्याउने लक्ष्यका साथ बराहपोखरी गाउँपालिका–३ साउनेचौंरको गोकुलथुम्कामा नेपाल टेलीकमको टावर बिस्तार गरिएको हो। ठेकेदारको ढिलासुस्तीका बावजुद बुधबारदेखि टेलीकमको टावर सञ्चालनमा आएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए।
टावर सञ्चालनमा आएपछि बराहपोखरीको केन्द्र रहेको बाघखोर भञ्ज्याङ, सुन्तले, फाक्टाङ, मौवाबोटे, पौवासेरा लगायतका ठाउँमा फोन सम्पर्क नहुने समस्या हल भएको छ। यसअघि टावर अभावमा सो क्षेत्रमा बेलामा फोन सम्पर्क नहुने समस्या थियो। सहजै फोन सम्पर्क हुन थालेपछि सेवाग्राही हर्षित भएका छन् । ठेकेदारको ढिलासुस्तीका कारण सो टावर ढिलागरी सञ्चालनमा आएको हो।
गाउँपालिका अध्यक्ष बञ्जराले बिहिबार सूचना जारी गर्दै टावर जडानका लागि पहल गर्ने कांग्रेसका जिल्ला सदस्य भुवन श्रेष्ठ लगायतका नेता तथा जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्। समयमा टावर जडान कार्य सम्पन्न नभएका कारण भोल्टेज बढि हुँदा व्याट्री ओभर चार्ज भएर आंशिक क्षति भएकाले बेलुका र रातको समयमा अझै पनि नेटवर्क जाने–आउने समस्या कायम रहेको छ । सो समस्या हल गर्नका लागि गाउँपालिका प्रतिवद्ध रहेको सूचनामा उल्लेख छ।
प्रकाशित: २ जेष्ठ २०७८ ०४:४९ आइतबार