२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोटरी क्लवको ‘अक्सिजन बैंक’

कोभिडका विरामीको औषधी नै अक्सिजन हो । अक्सिजनकै अभावमा विरामीले अस्पतालमै ज्यान गुमाउँदै आएका छन् । अक्सिजनकै अभावमा ज्यानै गुमाउने परिस्थितिको अन्त्य गर्न रोटरी क्लवले अक्सिजन बैंक स्थापना गरेको छ । स्थापित बैंकले अक्सिजनको आवश्यकता परेको विरामीको शैयासम्म सिलिण्डर पुर्याउने लक्ष्यसहित काम शुरु गरेको छ । अक्सिजन बैंक कोभिडको समयसम्म मात्रै रहने छ ।  

पोखरामा रहेका ७ वटा रोटरी क्लवले अक्सिजन बैंक शुरु गरेका हुन् । क्लवकै ‘रोटरी जीवनका आशा’ कार्यक्रम छ । त्यही कार्यक्रम अन्तर्गत अक्सिजन बैंक शुरु गरिएको कार्यक्रम संयोजक एवं सूचना अधिकृत अर्जुन खनालले बताए । ‘कोभिडको समयसम्म बजारमा रहेको खाली सिलिण्डर संकलन गरेर अक्सिजन विरामीको बेडसम्म पुर्याउँछौं,’ खनालले भने । पोखरामा रहेका स्टील फेब्रिकेट्स(मेटल उद्योग) तथा गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनको सहकार्यमा अक्सिजन बैंक स्थापना गरिएको प्रष्टयाए ।

मेटल उद्योग र गण्डकी अटो मेकानिकल वर्कसप पोखरामा झण्डै २ सयको हाराहारीमा छन् । उनीहरुसँग झण्डै २ हजार सिलिण्डर रहेको तथ्यांक छ । ‘स्टील फेब्रिकेट्स तथा अटो मेकानिकलसँग २ हजार जतिको हाराहारीमा सिलिण्डर छन् ,’ उनले भने, ‘दैनिक कलेक्सन गरिरहेका छौं । कलेक्सन गरिएको सिलिण्डरलाई अक्सिजन भरेर राखिन्छ । विरामीको बेडसम्म रोटरी क्लबले पुर्याउँछ ।’ सिलिण्डरको लागि स्टील फेब्रिकेट्स तथा अटो मेकानिकलसँग सम्झौता समेत गरिएको छ । सिलिण्डर हराएमा रोटरी क्लबले बजार मूल्य अनुसार सिलिण्डरको पैसा व्यहोर्ने सम्झौता गरिएको बताए ।  

‘निजी संस्थाले सरकारलाई सिलिण्डर उपलब्ध गराए हराउँछ कि भनेर दिन डराएका छन् । प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी स्वीकृति लिएर काम गरेका हौं,’ उनले भने, ‘रोटरी क्लब नै ग्यारेन्टी बसेर सिलिण्डर हराएमा कम्पनीले पैसा दिने गरी सम्झौता गरिएको छ ।’ उनका अनुसार एउटा सिलिण्डरको बजारको मूल्य १० देखि १५ हजार रुपैयाँ पर्छ ।  अक्सिजन बैंकको लागि एक हजार सिलिण्डर संकलन गरेर कोभिडका विरामीको उपचारमा प्रयोग गरिने छ ।  

विरामीलाई उपलब्ध गराईएको अक्सिजनको पैसा भने विरामीले व्यहोर्नुपर्छ । अक्सिजन प्रयोग गर्दा अस्पतालले लिने भन्दा कम शुल्क पर्ने दावी उनको थियो । उनका अनुसार ढुवानी खर्च नलाग्दा विरामीलाई सस्तो शुल्कमै अक्सिजन बेडमै उपलब्ध हुने छ । रोटरी क्लबले मणिपाल शिक्षण अस्पतालसँग १ सय बेडमा कोभिड सेन्टर स्थापनाको लागि सहकार्य गरिएको उनले सुनाए । अस्पतालले उपलब्ध गराउने बेड तथा उपचारमा समेत सहुलियत हुने उनले जिकिर गरे । ‘अति विपन्न तथा गरीब असहायलाई निशुल्क बेड उपलब्ध गराउने निर्णय रोटरीले गरेको छ,’ उनले भने ।  

क्लवले पोखराका दुई अक्सिजन कम्पनीसँग सिलिण्डर भर्न सम्झौताको तयारी छ । ‘जुन कम्पनीले कम शुल्कमा सिलिण्डर भर्छ उसैसँग सम्झौता हुन्छ,’ उनको भनाई थियो । कोभिडका विरामीले अस्पतालमा अक्सिजन पाउन नसकिरहेको अवस्थामा पोखराका ७ रोटरी क्लबले भने अक्सिजन उपलब्ध गराउने मध्यस्थकर्ताको भूमिकाले विरामीलाई सहज हुने विश्वास गरिएको छ । रोटरी क्लव अफ पोखरा, रोटरी क्लव अफ लेकसाइड, रोटरी क्लव अफ न्यूरोड, रोटरी क्लव अफ अन्नपूर्ण, रोटरी क्लव अफ फिस्टेल, रोटरी क्लव अफ मिट टाउन र रोटरी क्लव अफ पोखरा लेखनाथ उक्त अभियानमा जुटेका हुन् । 

प्रकाशित: २७ वैशाख २०७८ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App