७ वैशाख २०८१ शुक्रबार
समाज

ठूला सहरबाट बिरामी आउँदा पोखराका अस्पतालमा चाप

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्ष । तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणको दोश्रो लहरले सबैतिर घेरिसकेको छ । राजधानी काठमाडौंसहित वुटबल, भैरहवा, दाङ, नेपालगञ्जका अस्पतालमा कोरोना बिरामीका लागि शैया र अक्सिजन तथा भेन्टिलेटर अभाव छ । अस्पतालमा उपकरण र अक्सिजन अभाव भएका ती ठाउँका बिरामी अहिले उपचार खोज्दै धमाधम पोखरा आउन थालेपछि यहाँका अस्पतालमा चाप बढ्दो छ ।

हेलिकप्टर तथा एम्बुलेन्समा अहिले टाढाबाट समेत पोखराका अस्पतालमा बिरामी आउन थालेको अस्पतालले बताएका छन् । अस्पतालमा जटिल प्रकृतिका बिरामी थपिन थालेपछि उपचारमा पनि दवाव परेको अस्पतालले बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा शरदचन्द्र बराल भन्छन, बिरामीको चाप बढिरहेको छ । धान्न सक्ने अवस्था देखिन्न । अहिलेसम्म बिरामीलाई कुनै अभाव हुन दिएका छैनौ ।’ उनका अनुसार हेलिकप्टर र एम्बुलेन्समा बिरामीहरु वुटवल, भैरहवा, दाङ लगायतका सहरबाट पोखरा आईरहेका छन् ।  

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड वार्डमा ५० शैया भएपनि अहिले ४१ जना बिरामी राखिएको छ । अरु बेड बिरामी राख्नका लागि उपयुक्त छैनन । त्यसैले खालि छन् । त्यसबाहेक मेडिकल वार्डमा पनि अबदेखि कोरोनाका बिरामी राख्ने तयारी छ । मेडिकल वार्डमा ४० शैया थपेर कोरोनाका बिरामी राख्ने तयारी भएको बरालले बताए । ‘बिरामी मात्र राखेर भएन । अक्सिजनको आवश्यकता पर्ने भएकोले मेडिकल वार्ड सोमबारदेखि मात्र बिरामी राख्नका लागि योग्य बन्नेछ,’ उनले भने, ‘अरु सहरका बिरामी पनि थपिन थालेपछि व्यवस्थापन पेचिलो बन्दै गएको छ ।’  

त्यसबाहेक प्रसुतीवार्डको नयाँ भवन पनि कोरोनाका बिरामी राख्नेगरि तयारी भईरहेको उनले बताए । प्रसुती वार्डको नयाँ भवन २ सय शैयाको छ । ‘अक्सिजनको जोहो गर्नुपर्ने भएकोले पनि यो बेला बढी दवाव हो । किनकी शैयामा बिरामी राखेर मात्र भएन । हाइफ्लो अक्सिजन दिनुपर्ने हुन्छ,’ बरालले भने, ‘बिरामी थपिएको थपियै गर्दा बढी दवाव छ ।’ उनका अनुसार अहिले बाहिरी सहरबाट आएका बिरामीको अवस्था निकै नै जटिल छ । भैरहवा, वुटबल, दाङ र काठमाडौंबाट समेत बिरामी आउन थालेपछि चाप परेको उनले बताए । टाढाबाट आएका ती बिरामी निकै नै गम्भिर अवस्थाका हुने गरेको बरालले बताए । ‘साधन र अस्पताल खोज्दै भौतारिइरहेका ती बिरामी केही उपाय नपाएपछि बल्ल पोखरा आउने हुन् । पोखरासम्म आइपुग्दा अवस्था नाजुक भईसकेको हुन्छ,’ बरालले भने, ‘हामीले बचाउने प्रयास गर्छाै । तर, अवस्था निकै नै जटिल हुन्छ ।’ उनका अनुसार बिरामी थपिँदै गएपछि अहिले क्षेत्रीय अस्पतालमा मात्र दिनमा झन्डै एकसय सिलिन्डर अक्सिजन खपत भईरहेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशलनायका निर्देशक डा बिनोदबिन्दु शर्माका अनुसार लेखनाथस्थित संक्रामक रोग अस्पतालमा ५१ र क्षेत्रीय अस्पतालमा ४१ जनाको उपचार भईरहेको छ । ती बाहेक निजी अस्पतालमा पनि बिरामीको उपचार भईरहेको छ । ‘वुटवल, भैरहजा, दाङ र राजधानीबाट समेत बिरामी थपिन थालेपछि त हामीलाई निकै नै दवाव छ । अहिले दिनहुँ ८÷१० जनाको दरले बिरामी अन्यत्रबाट पोखरा आएका छन्,’ शर्माले भने, ‘सबैतिरका बिरामीलाई उपचार गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ ।’ 

निर्देशक शर्माले अहिले मणिपाल शिक्षण अस्पालको क्षमता बढाएर १सय ४, गण्डकी मेडिकल कलेजको १ सय २३ पु¥याएको पनि बताए । यहाँका चरक मेमोरियल, गण्डकी मेडिकल, मणिपाल कलेजमा पनि बिरामी थपिने क्रम रहेको ती अस्पतालले बताएका छन् । दाङ, वुटवल, भैरहवाबाट समेत बिरामी आएपछि यहाँ चिकित्सकको व्यस्तता पनि बढेको छ । ती सहरमा अक्सिजन, भेन्टिलेटर र शैया समेत अभाव छ । कतै उपचार नपाएपछि बल्ल पोखरा आउने र यहाँ पनि दैनिक सयौंको संख्यामा बिरामी बढिरहेकोले पनि उपचारमा सकस भएको शर्माले बताए । शर्माले होम आइसोलेसनमा बसेका बिरामीलाई सहयोग हुने गरि घरमै पुगेर उपचार गर्नेगरि प्रक्रिया अघि बढाएको पनि बताए ।  

बाहिरबाट पोखरा उपचारका लागि आउन चाहेका बिरामीको सोधपुछ पनि निकै नै बढिरहेको छ । पोखराका पर्यटन व्यवसायी ओमप्रकाश पाण्डेले मात्र वुटवल, भैरहवा लगायतका क्षेत्रका बिरामीका आफन्तले पोखराका अस्पतालमा उपचारको प्रक्रिया र अवस्थाबारे सोधखोज गरिरहेको बताए । ‘वुटवल, भैरहवा, दाङ लगायतका सहरका ८–१० जनाले दिनहुँ हेलिकप्टर र अस्पतालमा शैयाबारे सोधपुछ गर्नै फोन गरिरहेका छन,’ पाण्डेले भने, ‘ती मध्ये कतिपय पोखरा आएका पनि छन् । कतिपय खर्चिलो आउजाउ भन्दै आउन पनि सकेका छैनन ।’ अक्सिजन, भेन्टिलेटर र अस्पतालमा शैया अभाव भएकोले ती क्षेत्रका बिरामीले पोखरा आउन चाहेको उनले बताए ।  

टाढाबाट पनि बिरामी पोखरा आउन थालेपछि यहाँ हेलिकप्टरको उडान पनि थपिएको छ । पोखरा विमानस्थलका अनुसार पछिल्लो पाँचदिनमा मात्र पोखराबाट २४ वटा हवाई उद्धारका उडान भएका छन् । ती मध्ये सातवटा हिमाली क्षेत्रका उद्धार उडान हुन् । दुईवटा कोरोनाका संक्रमितको उद्धार उडान भएको विमानस्थलले बताएको छ । १५ वटा भने मेडिकल रेस्क्यूको नाममा उडान भएको विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीले बताए । ‘मेडिकल रेस्क्यू भनिएपनि कस्ता बिरामीको उद्धार भएको भन्ने खुलेको छैन । कतिपय कोरोनाकै बिरामी पनि हुनसक्छन,’ उनले भने । सबै हेलिकप्टरले कोरोनाका संक्रमितको उद्धार उडान गर्न भने पाउँदैनन् । तर मेडिकल रेस्क्यू भने जुनसुकै कम्पनिले पनि गर्न पाउँछन् ।’ अहिले सिम्रिक हेलिकप्टरले मात्र कोरोनाका बिरामीको उद्धार उडान गर्न अनुमति पाएको छ ।

प्रकाशित: २६ वैशाख २०७८ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App