२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

दुई वर्षमा ५२ जना पर्यटकले कास्कीमा ज्यान गुमाए

घुम्न आएका पर्यटकले यतै ज्यान फाल्छन्

आर्थिक वर्ष २०८०/८१ मा कास्कीमा मात्र ३१ जना विदेशी पर्यटकले ज्यान गुमाए। त्यो संख्या आर्थिक वर्ष २०८१/८२ मा २१ जना थियो। दुईवर्ष अवधिमा ५२ जना पर्यटकले कास्कीमा मात्र ज्यान फालेका छन। 

त्यसैगरि आर्थिक वर्ष २०८०/८१ मा १२ जना विदेशी पर्यटकलाई घाइते अवस्थामा विभिन्न ठाउँबाट उद्धार गरियो। त्यो संख्या आर्थिक वर्ष २०८१/८२ मा ४७ पुगेको थियो। चालु आर्थिक वर्षको अहिलेसम्म ३ जना पर्यटकलाई प्रहरीले उद्धार गरिसकेको छ।

घुमघामका लागि आएका पर्यटक विभिन्न घटनामा पर्दा कहिले ज्यानै फाल्ने गरेका छन। कतिपय घाइते हुने गरेका छन्। अझ कतिपय पर्यटक त हराएको हरायै हुने अवस्था पनि रहेको छ। कास्की प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा मर्दी आधारशिविरबाट हराएका एकजना पोल्याण्डका पर्यटक अझैसम्म भेटिएका छैनन। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा मर्दी हिमालको जंगलमा एकजना विदेशी पर्यटकको कंकाल फेला परेको थियो। आर्थिक वर्ष २०८१/८२ मा हराएका ५ जना विदेशीलाई पछि प्रहरीले फेला पारेको थियो। 

त्यसबाहेक अनैतिक गतिविधिमा पनि पर्यटकहरु फस्ने गरेका छन । आर्थिक वर्ष २०८१/८२ मा मात्र ११ जना विदेशी पर्यटकलाई अरु पर्यटकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको पनि प्रहरीले बताएको छ। कास्की प्रहरीका अनुसार ओभरस्टे बसेका पर्यटकको संख्या पनि उत्तिकै छ। आर्थिक वर्ष २०८०/८१ मा १३ जना विदेशी पर्यटकको नेपालमा ओभरस्टे थियो। त्यो संख्या आर्थिक वर्ष २०८१/८२ मा ३ थियो।  

कास्कीका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेत भन्छन, ‘पर्यटकको भेषमा भित्रिएका सबै विदेशी ठिक हुन्छन भन्न मिल्दैन। उनीहरु नराम्रा काममा पनि लाग्ने गरेका छन। कतिपय त अपराधिक गतिविधिमा पनि संलग्न हुन्छन।’ कास्कीमा मात्र मानवीय क्षति हुने गरि विदेशी पर्यटकले ज्यान गुमाउनु नराम्रो सन्देश रहेको डिएसपी बस्नेतले बताए।  

‘कतिपय विदेशी पाहुनाकै कारणले मानवीय क्षति हुनेसम्मका घटना घट्ने गरेका छन। केही हाम्रा समस्याले पनि उनीहरु अप्ठेरोमा पर्न गरेका छन,’ बस्नेतले भने। पदयात्रामा संकेत चिन्ह नहुनु, गाइड बिना पदयात्रामा जान नपाउने नियमलाई अटेर गर्नु, पदयात्रामा जाँदा अपनाउनुपर्ने सुरक्षाका न्यूनतम उपाय परिचालन नगर्दा पर्यटकले ज्यानै गुमाउनुपरेको उनले बताए।  

‘पौडी खेल्न जाँदा समेत सुरक्षाको विधि अपनाएको पाइएन। त्यस्त एक्लै पदयात्रामा जाँदा जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि एक्लै हिड्ने गर्दा समस्यामा पर्ने गरेका छन,’ उनले भने, ‘पर्यटकीय गन्तव्यमा घटेका मानवीय क्षति हुने गरि भएका यस्ता घटनाले गन्तव्यबारे नकारात्मक सन्देश प्रवाह हुन्छ।’

पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा ‘पर्यटनको गन्तव्य, सुरक्षाः हाम्रो प्रतिवद्धता’ विषयक छलफलमा डिएसपी बस्नेतले भने, ‘भविश्यमा हामीले पर्यटकलाई सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हो भने पर्यटनमा त्यसले नराम्रो सन्देश प्रवाह गराउँछ। त्यसको असर पाहुना आगमनमा समेत पर्छ।’  

पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले पनि पर्यटन क्षेत्रमा नयाँनयाँ चूनौती थपिँदै गएको बताए। उनका अनुसार नेपालको पर्यटन सुरक्षाको अवस्था उत्तिसारो सन्तोषजनक छैन। किनकी हरेक वर्ष नयाँनयाँ घटनाक्रमले पर्यटनमाथि सुरक्षाको चूनौति थपिदिएको छ। ‘प्रविधिदेखि प्राकृतिक प्रकोपसम्मले पनि पर्यटन क्षेत्रमाथि सुरक्षा चूनौति थपिएको छ,’ सापकोटाले भने, ‘सहरभित्रै पनि सुरक्षा चूनौती छ । अन्यत्र त हुने नै भयो। सुरक्षाबिना पर्यटन सम्भव छैन। तर, त्यसैमा हेलचेक्रयाँइ छ।’

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपि भट्टराई पर्यटकले पनि पर्यटन क्षेत्रमाथि सुरक्षाको चूनौति डरलाग्दो रहेको बताउँछन। भट्टराईका अनुसार पर्यटक र पर्यटन व्यावसायी दुवैतिरबाट सुरक्षाप्रति वेवास्ता हुने गरेको छ। 

‘गन्तव्य सुरक्षित नभए पर्यटन नै चल्दैन। पर्यटनमा सुरक्षाको अवस्था सबैभन्दा महत्वपूर्ण मानिन्छ। तर, नेपालमा हरेक वर्ष पर्यटकले ज्यानै गुमाउने गरि घटना हुने गरेका छन,’ उनले भने, ‘मानवीय क्षति हुने गरि वर्षेनी यस्ता घटना हुँदा यसले गन्तव्यबारे नराम्रो सन्देश प्रवाह गराउँछ।’

सुरक्षाका सवालमा विदेशी पर्यटकले समेत हेलचेक्रयाँइ गर्ने गरेको उनले बताए। ‘पर्यटक आफैले पनि बेवास्ता गर्छन। एक्लै पदयात्रामा जानु हुँदैन भन्ने नियम छ। तर, पर्यटकले त्यो प्रावधानलाई बेवास्ता गर्छन। कतिपय पर्यटन व्यावसायीले पनि त्यही नियमलाई नदेखे झै गर्छन,’ उनले भने, ‘सुरक्षाको अवस्था नभए पर्यटन चल्दैन भन्ने हामीले बुझ्नुपर्छ।’ कुनैपनि घटना हुनुभन्दा पहिल्यै सचेत हुन सक्ने हो भने पर्यटकले ज्यान गुमाउन नपर्ने उनको भनाई छ।

‘यतिबेला मध्य वर्षा चलिरहेको छ। यो बेला पदयात्रामा पठाउन हुन्छ वा हुँदैन भनेर पनि हामीले ख्याल गर्ने गरेका छैनौ। घटना हुनुभन्दा पहिले नै सचेत हुने हो भने क्षति कम हुन्छ,’ उनले भने, ‘वर्षाको यो बेला पदयात्रामा जाने पर्यटकका लागि फरक एडभाईजरी जारी गर्न सकिन्छ। मौसमी जानकारी पनि दिन सकिन्छ। सबै प्रोटोकल बिर्सेर क्षणिक फाइदा हेरेर व्यावसाय गर्नु हुँदैन।’ पर्यटकले भोग्नुपरेको यस्तो क्षति व्यक्तिगत भन्दा पनि समग्र पर्यटन उद्योगका लागि हुने उनल बताए।  

प्रकाशित: २८ श्रावण २०८२ १८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App