म्याग्दीमा कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेनी नगरपालिका- २ खबरामा रहेको जिल्ला कारागारबाट यही भदौ २५ गते बिहान ताला तोडफोड गरेर ७६ कैदीबन्दी भागेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले आज बिहानसम्म ५२ कैदीबन्दीलाई नियन्त्रणमा लिएको बताए। नियन्त्रणमा लिएका कैदीबन्दीलाई कारागार प्रशासनको जिम्मा लगाइएको उनले बताए।
फरार भएका २४ कैदीबन्दीको खोजीमा प्रहरी टाेली परिचालन भएको छ। काठमाडौंबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाइएको छ। कारागारमा भएका ८८ जनामध्ये महिला ब्लकमा रहेको छ, पुरुष ब्लकका छ बिरामी र हिंड्न नसक्नेबाहेक सबै ताला तोडेर भागेका थिए।
प्रकाशित: ३० भाद्र २०८२ १२:२८ सोमबार





