२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

एकै गाउँका तीन बालक, कारभित्र मृत भेटिए

दिनहुँ साथीहरु संग घर बाहिर निस्कने ७ बर्षिय किरण परियार साँझ परे टुप्लुक्क घर फिर्ता हुन्थे। १६ बैशाखमा पनि बिहान सात बजे घरबाट निस्केका उनि घर फिर्ता भैहाल्छन् भन्नेमा परिवार ढुक्क थियो। साँझ अबेर सम्म किरण घर फर्केनन्। गाउँकै दुईजना संग ‘खेल्न’ भन्दै निस्केका उनको राती अबेर सम्म अत्तोपत्तो भएन।

‘सधैँ साँझ घर फर्कि हाल्थ्यो,त्यो दिन पनि आईहाल्ला भन्ने लागेको थियो,’ किरणका बुवा कर्णले भने ‘तर राती सम्म आएन।’ परिवारले राती उनको खोजी गर्यो , तर कतै फेला परेनन्। १७ गते कर्णले प्रहरीलाई जानकारी गराए। प्रहरीले खोजतलास गर्‍यो। अन्तत: दुईदिन पछि शनिबार किरण गाउँकै अन्य दुई बालकसंगै मृत भेटिए, त्यो पनि रोकि राखेको कार भित्र। 

‘१६ गते राती अबेर सम्म खोज्दा पनि भेटाउन सकेनौँ, अनि १७ गते प्रहरीलाई जानकारी गरायौँ,’ कर्णले भने ‘प्रहरीले १८ गते छोराको लाश भेटियो भनेर खबर गरे।’ कर्ण घटनास्थलमा पुग्दा कारभित्र किरण संगै अन्य दुई बालकको शव देखे। ‘कसले मार्यो होला ? ’कर्णले भने ‘सात बर्षको बच्चाले के अपराध गरेको थियो होला र?’  

तुलसीपुर स्याउलीबजारमा पार्किङ गरेर राखेको भारतीय नम्बर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र  तुलसीपुर ६ बरुवागाउँका किरण सहित उनिसंगै घरबाट निस्केका ७ बर्षिय सुवर्ण परियार र ९ बर्षिय सन्दीप परियार मृत भेटिएका हुन्। प्रहरीका अनुसार यो कार तीन महिना देखि पार्किङ गरेर राखिएको थियो।

‘परिवारले बालकहरु हराएको भनेर हामीलाई जानकारी गराएपछि हामीहरुले खोजी सुरु गर्यौँ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिसपी शिववहादुर सिंहले भने ‘शनिवार रोकिराखेको कारभित्र तीनै जनाको शव भेटियो।’ उनका अनुसार अहिले सम्म घटनाका बारेमा तथ्य केहि फेला पर्न सकेको छैन। ‘यो घटना जटिल घटना हो,’ डिएसपी सिंहले भने ‘हामीहरुले अनुसन्धान अगाडी बढाएका छौँ, अहिले सम्म मृत्युको कारण थाहा हुन सकेको छैन ।’ प्रहरीका अनुसार उक्त कार तुलसीपुर निवासी यादव प्रसाद गैरेको हो । प्रहरीले कार धनी र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। 

प्रकाशित: १९ वैशाख २०७८ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App