३ असार २०८१ सोमबार
image/svg+xml
समाज

उमेर नपुग्दै नागरिकता लिएकै कारण राष्ट्रिय परिचय पत्र पाउन समस्या

खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेकी सुनिता खत्री राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्न दर्ता स्टेशन (शिविर स्थल)मा पुगिन् । तर, राष्ट्रिय परिचय पत्रका लागि फम भर्न खोज्दा सुनिताको नाम पञ्जिकरण विभागको सिस्टममा इन्ट्रि भएन । कारण थियो उनले १६ वर्ष पुरा नहुँदै नागरिकताको प्रमाणपत्र पाउनु । नागरिकतामा उल्लेख अभिलेख अध्ययन गर्दा उनले ९ दिनले १६ वर्ष नपुग्दै नागरिकताको प्रमाणपत्र लिए/दिएको देखियो । 

दिनगन्तीले १६ वर्ष उमेर नपुग्दै नागरिकता लिएकै कारण राष्ट्रिय परिचय पत्रका लागि फम भर्न खोज्दा सिस्टमले ‘रेजेक्ट’ गरेको राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेशनमा खटिएका कर्मचारीको जवाफ छ । २०४७ साल माघ १५ गते जन्म मिति भएका सुनिताको नागरिकता २०६३ साल माघ ६ गते जारी गरिएको उल्लेख छ । यस अनुसार उनको वर्ष र महिनाले १६ वर्ष पुगेको देखिन्छ तर दिनले ९ दिनले १६ वर्ष पुग्न बाँकी देखिन्छ ।  

यस्तै, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका युवराज श्रेष्ठको समेत राष्ट्रिय परिचयपत्रको फर्ममा नाम नै इन्ट्रि भएन । नाम इन्ट्रि नभएपछि उनी रित्तै फर्किए । श्रेष्ठको त १६ वर्ष पुग्नुभन्दा ३ दिन अगावै नागरिकताको प्रमाणपत्र वितरण गरेको देखियो । २०४७ साल माघ ५ गते जन्मिएका श्रेष्ठको नागरिकता जारी मिति २०६३ साल माघ २ गते उल्लेख छ । उनले २०७४ साल माघ १९ गते प्रतिलिपी लिएको देखिएको छ ।  

यस्ता समस्या उनीहरुको मात्र होईन । राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेशनमा उमेर नपुग्दै नागरिकता लिएका तीन/चार जना स्थानीय विवरण दर्ता हुन नसक्दा फर्किएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका विवरण दर्ता अपरेटर अजय राजबंशीले बताए ।

राष्ट्रिय परिचय पत्रका लागि विवरण फर्म भर्नेक्रममा कतिपयको नागरिकतामा जारी मिति, नागरिकता नम्बर नै उल्लेख गर्न छुटेको पाइएको छ । कतिपयको नागरिकतामा लिंग नै परिवर्तन गरिएको, कतिपय थर परिवर्तन भएको पाइएको विवरण दर्ता अपरेटर राजबंशीले बताए । ‘ज–जसले १६ वर्ष उमेर नपुग्दै नागरिकता लिनुभयो उहाँहरुको नाम सर्भरमा रेजेक्ट भयो । त्यसमा हामीले केही गर्न मिल्दैन,’ राजवंशीले भने, ‘नागरिकताको एकातिर दमाई र अर्कातिर दर्जी उल्लेख गरेको पनि पाईयो । नागरिकतामा धेरै खालका समस्या देखियो जसले गर्दा धेरैको राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्न सकिएन । जन्मदर्ताको आधारमा विवरण दर्ता गर्ने व्यवस्था हुँदैछ । त्यसपछि सहज होला ।’ नागरिकताको नेपाली र अंग्रेजी विवरणमा थर फरक उल्लेख भएका एक स्थानीयले भने तत्काल प्रशासन पुगेर त्रुटी सच्याएर पुःन दर्ता स्टेशन पुगेर विवरण दर्ता गराएका छन् ।  

राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्यका साथ खोटाङमा जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेशनबाट गत साउन १ गतेदेखि तथा विभिन्न स्थानीय तहमा स्थापना गरिएको अस्थायी स्टेशनबाट गत माघ १५ गतेदेखि विवरण संकलनको काम भइरहेको छ । तर, नागरिकतामा भएका त्रुटीका कारण कतिपय नागरिकले राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण दर्ता गर्न सकेका छैनन् । नागरिकतामा भएको त्रुटीका कारण नागरिकले पाएको हैरानीको जिम्मेवारी नागरिकता वितरण गर्ने कर्मचारीले लिनुपर्ने कांग्रेस जन्तेढुंगा गाउँपालिका समितिका उपसभापति बाजिन्द्र बिष्ट बताउँछन् । ‘१६ वर्ष नपुग्दै नागरिकता दिएको पाइयो जसका कारण सर्वसाधारणको नाम राष्ट्रिय परिचयपत्रको फर्ममा इन्ट्रि भएन,’ विष्टले भने, ‘किन १६ वर्ष नपुग्दै नागरिकता दिइयो ? यो कर्मचारीको गम्भीर कमजोरी हो । यो समस्याको उपयुक्त समाधान खोज्न जरुरी छ ।’  

खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने १६ वर्ष नपुग्दै नागरिकता वितरण हुँदा राष्ट्रिय परिचय–पत्रको विवरण दर्ताकाक्रममा समस्या निम्तिएको वारेमा जानकारी नआएको बताए । ‘त्यस्तो नहुनु पर्ने हो । कहिलेकहीँ मिस्टेक भएको हुन सक्छ,’ प्रजिअ शर्माले भने, ‘नागरिकता हेर्छौँ, अभिलेख हेर्न पर्ने हुन्छ । कुनै न कुनै निकास निकाल्छौंँ ।’  

राष्ट्रिय परिचय–पत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त र बहुउपयोगी प्रमाणपत्र हो । राष्ट्रिय परिचय पत्रमा व्यक्तीको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नीको नाम, बाजेको नाम लगायतका व्यक्तीगत विवरण देखि औंलाको छाप, आँखाको नानी, परिचय नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर लगायत समावेश गरिन्छ । विवरण दर्तापछि १६ वर्ष उमेर पुगेका र नागरिकताको प्रमाण–पत्र लिएका व्यक्तीलाई राष्ट्रिय परिचय–पत्र वितरण गर्ने नेपाल सरकारको तयारी छ ।

प्रकाशित: १७ वैशाख २०७८ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App