काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) ट्राफिक प्रहरीले फेला पारी धनीलाई हस्तान्तरण गरेको छ।
आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले चोरीबाट फेला पारिएका ३३ मोटरसाइकल र १८ स्कुटर सम्बन्धित धनीलाई जिम्मा लगाएका हुन्।
उपत्यकाको विभिन्न स्थान गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु लगायत क्षेत्रबाट वास्तविक तथा नक्कली दुवै प्रकारका नम्बर प्लेट राखिएका सवारी साधन बरामद गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
यससहित चालु आर्थिक वर्षमा मात्रै साउनयता ९१ चोरी भएका सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको छ। साथै चोरीका ९ सवारी साधनसहित संलग्न १९ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालय पठाइएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा ४१७ ओटा र २०८१/८२ मा ५०३ ओटा दुई–पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले धनीलाई बुझाइसकेको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले सवारी चोरी रोकथामका लागि सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न अनुरोध गरेका छन्। एकान्त स्थानमा पार्किङ नगर्न पनि उनले आग्रह गरे।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्नसकिने तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिनुपर्ने प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित: ४ मंसिर २०८२ १४:२० बिहीबार





