coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निर्माणाधीन त्रिशूली पुलमा फेरि दुर्घटना

एक मजदुरको मुत्यु, दुईजना बेपत्ता

त्रिशूली नदीमा मोटरेबल पुल बनाउने क्रममा भत्किएको संरचना मर्मत गर्दा एक मजदुरको मृत्यु भएको छ। दुईजना नदीमा खसेर बेपत्ता भएका छन्। चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्किएको थियो। भत्केको पुलको संरचना मर्मत गर्ने क्रममा आइतबार फलामे ट्रससँगै नदीमा खसेका भारतीय नागरिक विजय यादवको मृत्यु भएको हो। ४३ वर्षीय यादवसँगै भारतीय नागरिक सुजित माझी र श्यामबाबु पाठक पनि नदीमा खसेका थिए। माझी र पाठक आइतबार बेलुकासम्म बेपत्ता छन्।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले फलामको संरचना एक्कासि भत्किँदा यादवको मृत्यु भएको र दुईजना बेपत्ता भएको जानकारी दिए। ‘भत्किएको पुलको फलामको लठ्ठा एक्कासि नदीमा खस्दा साइटमा कार्यरत मजदुर हताहत भएका हुन्,’ उनले भने, ‘दुर्घटनामा परेर एकको ज्यान भएको छ, दुईजना बेपत्ता छन्।’ उनले बेपत्ता भएका मजदुरको गोताखोर प्रयोग गरी खोजीकार्य जारी रहेको बताए।  

अधिकारीका अनुसार मृत्यु हुने र बेपत्ता हुनेहरू भारतको बेतिया जिल्लाका हुन्। दुर्घटनामा परेर आठ कामदार घाइते भएका छन्। घाइतेहरूको चितवनमा उपचार भइरहेको छ। भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिव खनालले भत्किएको पुलको संरचना मर्मतसम्भारका क्रममा पुलको फलामे संरचना भत्किँदा गम्भीर दुर्घटना भएको बताए। ‘पुलको फलामे संरचना एक्कासि खस्दा मजदुर खसेर त्रिशूली नदीमा परेका रहेछन्,’ उनले आइतबार नागरिकसँग भने, ‘सावधानी अपनाउँदाअपनाउँदै गम्भीर प्रकृतिको दुर्घटना भयो।’  

यो पुल बनाउने जिम्मा इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रूपमा लिएका थिए। वाग्मती र गण्डकी प्रदेशलाई जोड्नेगरी पुल निर्माण हुँदै आएको थियो। पुल भत्किनुको कारण अझै खुलेको छैन। तर पुल निर्माणमा ठेकेदारको लापर्बाहीका कारण पटकपटक दुर्घटना भएको सडक कार्यालयका एक अधिकारीले बताए। ‘एकाधपटक दुर्घटना हुनुमा अन्य धेरै कारण हुन्छन्,’ ती अधिकारीले भने, ‘तर पटकपटक दुर्घटना हुनु भनेको लापर्बाहीकै कारण हो।’

गत चैत २४ मा यो मोटरेबल पुलको ढलान गरेको संरचना भत्किएको थियो। निर्माणाधीन पुलको लम्बाइ २ सय मिटर हो। १० मिटर चौडाइ रहेको पुलमा चारवटा स्पान छन्। चितवन खण्डमा २ वटा ४० मिटर लामो स्पान भत्केको खनालले बताए। खनालका अनुसार पुलमा तीनवटा पक्की स्पान र एउटा स्टिल स्पान राख्ने तयारी थियो। चितवन खण्डमा दुईवटा र तनहुँ खण्डमा एउटा पक्की स्पान राख्नेगरी पुल डिजाइन भएको थियो। ८० मिटर लामो स्टिल स्पान भने बीचमा राख्ने तयारी थियो। अहिले चितवन खण्डका स्पान भत्केका छन्। गत चैत २४ गते पुलको दुई वटा स्पान भत्किँदा ८० मिटर खण्ड पूर्ण रूपमा क्षति भएको थियो।

२०७१ कात्तिकमा निर्माण थालिएको पुलको लागत १६ करोड ५३ लाख रूपैयाँ थियो। यो पुल निर्माणका लागि ठेक्का २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताअनुसार यो पुलको निर्माण कार्य २०७४ कात्तिक २० गतेभित्रै सम्पन्न गरिसक्नुपर्ने थियो। भूकम्प र नाकाबन्दीलगायत बहानाबाजी देखाएर ठेकेदार कम्पनीले दुईपटकसम्म म्याद थप गरे पनि पुल निर्माण सम्पन्न गरेको थिएन। दुईपटक सम्म थप गरिएको म्याद पनि गत पुसमा सकिएको थियो। आयोजनाले कोभिड १९ को कारण देखाउँदै चालु आवभित्रै काम सम्पन्न गर्नुपर्ने समय थप गरिदिएको थियो। 

प्रकाशित: १३ वैशाख २०७८ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App