२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा पहिरोबाट बच्न जाल्पाको पहल

पहिरोबारे सचेतना कार्यशालामा सहभागीहरु । तस्बिरः महेश्वर

वर्षायाम सुरु भएसँगै बाढी पहिरोको बिपतजन्य घट्नाको खतराबाट बच्न उदयपुरमा पहिरोसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । बाल अधिकार र बिपतसम्बन्धी क्रियासिल संस्था जाल्पा एकीकृत विकास समाज (जिड्स) उदयपुरले जिल्लामै पहिलो पटक सदरमुकाममा ‘पहिरो सम्बन्धी जिल्लास्तरीय गोष्ठी’ आयोजना गरेको हो ।  

आगलागी, नदी कटान, बाढी, भुकम्पलगायत बिभिन्न प्राकृतिक बिपत्ती र दैवी प्रकोपबाट बच्ने उपायबारे धेरै कार्यक्रम हुँदै आए पनि पहिरोसम्बन्धी सचेतना कार्यक्रम भने यो नै पहिलो भएको आयोजक जिड्सले जनाएको छ । जिड्सले पहिरो सामना किताव परियोजना (कोप) कार्यक्रम अन्तर्गत आयोजित कार्यशालामा समथर र तराई भूभागमा बाढी तथा नदी कटानको प्रकोप हुने गरेको तर, पहाडी भेगमा भने वर्षेनी पहिरोले स्थानीयलाई दुःख दिनुका सथौ जनधनको क्षति हुने गरेको जिड्सका अध्यक्ष पुष्पराज पोखरेलले बताए । पहाडी भुभागमा वर्षेनी पहिरोले गर्ने जनधनको क्षति रोक्न स्थानीयलाई सचेतनामुलक कार्यक्रम गरेको पोखरेलले बताए ।  

उदयपुरको झण्डै ७० प्रतिशत भूभाग पहाडी भेगमा रहेकाले पहिरोको जोखिम धेरै हुने गरेको छ । त्यसैले पहिरोबारे स्थानीयलाई सचेत गराउन पहाडी भेगका स्थानीयलाई सहभागी गराएर कार्यक्रम आयोजना गरिएको पोखरेलले बताएका छन् । भित्रि मधेसमा पर्ने सदरमुकामको त्रियुगा नगरपालिकाका १४, १५ र १६ नं. वडा पनि पहाडी भूभाग हुन् भने चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका सीमित वडाबाहेक सबै पहाडी भेगमा छन् ।  

८ स्थानीयतहमध्ये ४ वटा गाउँपालिका लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी सबै पहाडी र उच्च पहाडी बिकट भूभाग रहेकाले वर्षेनी पहिरोको चपेटामा पर्दै आएका छन् ।  कार्यक्रममा वल्र्डभिजनका विपत व्यवस्थापन तथा मानव विकास विज्ञ शेरबहादुर क्षेत्रीले पहिरो पनि बाढी, आगलागी, भूकम्पजस्तै प्राकृतिक प्रकोप भएकाले यसबाट बच्न घट्ना हुनअघि पूर्व तयारी र घट्नापछि पीडितको उद्वार, उपचारजस्ता विषयमा सचेत हुनुपर्ने बताए । उनले तराई र समथर भूभागमा हुने बाढी र नदी कटानभन्दा खतरा पहिरो हुने गरेको बताए ।  

पछिल्लो समय पूर्वाधार विकासका नाममा गाउँगाउँमा खनिएको सडक विस्तारले पहिरो जाने क्रम झन् बढेको उनले बताए । यसबाट बच्न पुर्व तयारी गर्ने तथा पहिरो जाँदा होस् पुर्याउन सके आफू बच्न र बालबालिका तथा परिवारलाई बचाउन सकिने बताए । पहिरोको जोखिमबाट सबभन्दा बढी अपाङ्गता, अशक्त, वृद्धपृद्धा र बालबालिकालाई बचाउन गाह्रो हुने भन्दै उनले तत्काल उठेर हिड्न आवश्यक सामग्रीसहितको ‘झटपट झोला’ जहिल्यै तयारी हालतमा राख्न सुझाए ।  

पहिरोको जोखिम क्षेत्रमा बसोबास गर्नेले सामान्य लुगाफाटा, कम्तीमा २/३ छाक पुग्ने खाजा खाना, मोवाईल, अत्यावश्यक व्यक्तिगत कागजात (नागरिक्ता, प्रमाणपत्रलगायत) तयारी हालतमा राख्न झटपट झोला चाहिने क्षेत्रीको भनाई थियो । विज्ञ क्षेत्रीले पहिरोको दीर्घकालीन रोकथाम गर्न जमिन बलियो हुनुपर्ने भन्दै त्यसका लागि जंगल नमास्न र रुखविरुवा प्रसस्त रोप्नुपर्ने खाँचो पनि औंल्याए ।

त्रियुगा र कटारी नगरपालिका तथा लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिका गरी ६ वटा स्थानीयतहका बिभिन्न वडामा बिपत व्यवस्थापनसम्बन्धी कार्यमा क्रियासिल अगुवाहरुका साथै बिपतक्षेत्रमा काम गर्ने नेपाल रेडक्रस सोसाईटी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसमेतको कार्यक्रममा सहभागिता थियो । सहभागी रौतामाई ५ का कमल राईले रौतामाई गाउँपालिकाका ८ वटै वडा पहाड पर्ने भएकाले वर्षेनी पहिरो जाँदा धेरै क्षति बेहोर्नुपरेको बताए । उनले त्यसबाट बँच्ने उपायबारे धेरै कुरा कार्यक्रमबाट सिक्न पाएकोमा खुसी जनाए । खासगरी गाउँघरमा सडक खन्दा डोजरको प्रयोगले धर्ती थर्किएर पहिरो जाने गरेको भन्दै राईले पहिरोबारे जनजनसम्म चेतना फैलाउनुपर्ने खाँचो रहेको बताए ।  

अर्का सहभागी उदयपुरगढीका देव गिरीले पहिरोले वर्षेनी जनधनको क्षति गर्दै आएको पहाडी भेगमा यसबाट बच्ने उपायबारे जिल्लामै पहिलो पटक सचेत गराएकोमा संस्थालाई धन्यबाद दिए । स्थानीयतहसँग मिलेर दीर्घकालीन पहिरो रोकथामको प्रयास थाल्न पनि गिरीले संस्थालाई आग्रह गरे । अन्य बिभिन्न सहभागीले वर्षायाम सुरु भईसकेकाले पहिरोको चपेटा पनि सुरु हुने संभावित घट्नाबाट बच्न र बचाउन संस्थाले अन्य ठाउँमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाए । पहिरो पीडितलाई परिवार, समाज, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीलगायत सरोकारवालाले गर्नुपर्ने सहयोगबारे पनि कार्यक्रममा सिकाइएको थियो ।  

कार्यक्रममा सहभागीहरुलाई पहिरो के हो, किन र कसरी जान्छ, यसको रोकथाम र बच्ने उपाय, घाईते भए उद्वार र उपचारको उपायबारे विज्ञ क्षेत्रीले जानकारी गराएका थिए । पहिरोको बिभिन्न चरण तथा त्यसको न्यूनिकरणका लागि सहभागीहरुलाई समूह बिभाजन गरेर आआफ्नो स्थानका आधारमा सुझाव लिएको थियो । पाँच चरणमा लिएको सुझावलाई संकलन गरेर निस्केको निश्कर्षलाई आयोजकले ६ महिनाभित्रै कार्यान्वयनमा ल्याउन आवश्यक बजेटको व्यवस्था गर्दै टोली परिचालन गर्न तयारी थाल्ने जिड्सका कार्यक्रम संयोजक अजयकुमार साहले बताए । संयोजक साहका अनुसार सहभागीको राय अनुसार ६ वटा स्थानीयतहमध्ये कुनै दुई ठाउँमा पहिरो रोकथामका लागि भौतिक कार्यक्रम नै सञ्चालन गर्नेगरी संस्थाले बजेट व्यवस्थापन गर्ने योजना रहेको छ ।

प्रकाशित: १२ वैशाख २०७८ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App